
नेपालगन्ज । नेपालगन्जसँग जोडिएको भारतकाे रुपैडिहादेखि गोण्डासम्मका लागि छोटी लाइन (सानो) रेल सञ्चालन हुँदै आएको थियो । गोण्डा यस्तो रेलवे स्टेशन हो जसले सिंगो भारतलाई जोडेको छ ।
भारत सरकारले रुपैडिहा-गोण्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडिलाईन) सेवा सञ्चालन गर्न निर्णय गरिसकेको छ । उसले मर्मत र बिस्तारको काम धमाधम भइरहेकाे छ । बिस्तार भइरहेकाे रेलवे स्टेशनदेखि झन्डै तीनकिलाेमिटर दक्षिण नेपालगन्ज- रुपैडीया एकीकृत भंसार जाँचचाैकी संचालनमा छ ।
लामाे याेजना पछि निर्माण भएको जाँचचाैकीसम्म उक्त रेलसेवा बिस्तार गरेर सुख्खा बन्दरगाह बनाउन माग गर्दै यहाँका प्रतिष्ठित उद्योगी व्यवसायीले माग गरेका छन् । नेपालगन्जबाट तेस्रो देशसंग आयात निर्यातकाे सिधा पहुँच बिस्तार गर्न सुख्खा बन्दरगाह बनाउन अपरिहार्य रहेकाे उल्लेख गर्दै उनीहरुले यसले पश्चिम नेपालकाे औद्योगिक विकास हुने तर्क छ ।
‘एकीकृत भंसार जाँचचाैकीसम्म रुपैडीयाकाे रेलवे लिक बिस्तार गरेसंगै सुख्खा बन्दरगाह निर्माण गर्न सक्यौं भने पश्चिममा ठूलो औद्योगिक विकास हुन्छ ।’- उद्योगी प्रदीप छाजेडले भने । छाजेड सहित यहाँका उद्योगी व्यवसायीले मन्त्रीहरु समक्ष याे मुद्दा उठाइरहेका छन् तर ठाेस परिणाम निस्किएको छैन ।
उद्योगी पशुपतिदयाल मिश्रले नेपालगन्ज भंसार नाकामा सुख्खा बन्दरगाहा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको बताए । नेपालगन्ज पश्चिमको प्रमुख भंसार नाकाकारुपमा स्थापित भएपनि एकिकृत भंसार जाँचचौकीसंगै सुख्खा बन्दरगाहा निर्माणको आवश्यक रहेकाले त्यसका लागि सरकारको ध्यानाकर्षण गराइएको मिश्रले बताए ।
एकिृकत भंसार जाँचचौकी (आईसिपी) निर्माण भई संचालन भइसकेकाे तर उक्त पूर्वाधारले तेस्रोमुकुलसंग हुने कारोवारलाई बढावा नदिने उनीहरुले बताएका छन् ।
एकिकृत भंसार जाँचचौकीले हालकै भंसार कार्यालयको कामको सहजिकरण र व्यवस्थापन गर्ने भए पनि यसले तेस्रो मुलुकसंग हुने आयात निर्यातलाई खासै फरक नपर्ने उद्योगीले बताए ।
तसर्थ पश्चिम नेपालको प्रमुख भंसार नाका भएका कारण नेपालगन्जमा आईसिपीलाई सुख्खा बन्दरगाहामा परिणत गर्नुपर्ने टड्कारो आवश्यक देखिएको उनीहरुको भनाई छ ।

व्यवसायी कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज नाकाको शुन्दर भविष्यका लागि थालिएको पहलमा सरकार सकारात्मक हुनुपर्नेमा जाेड दिएका छन् । नेपालगन्ज पश्चिमको प्रमुख नाका भएका कारण यस नाका हुँदै हुने बैदेशिक ब्यापारलाई सहज र सरल बनाउन आवश्यक पर्ने सुख्खा बन्दरगाहा सहितका सबै पूर्वाधार निर्माण गर्न लाग्ने उल्लेख गरे ।
नेपालगन्जमा हाल निर्माणाधिन एकिकृत भंसारचौकीलाई सुख्खा बन्दरगाहामा परिणत गर्दा पश्चिमको बैदेशिक ब्यापारमा ठूलो फड्को मार्ने निश्चित छ । आईसिपी निर्माणको शुरुवातदेखि नै उक्त पूर्वाधार सुख्खा बन्दरगाहा हो भन्ने आमनागरिकमा बुझाई रहेको थियो ।
तर हाल उक्त पूर्वाधार आईसिपी मै समेटिने कुराले आम उद्योगी,व्यवसायी र नागरिकलाई निरास बनाउने भएकाले तत्कालै सरकारले सुख्खा बन्दरगाहा बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिइएको छ ।
सुख्खा बन्दरगाहाका लागि आवश्यक सबै पूर्वाधार रहेको र भारत सरकारले नेपालगन्जसंग जोडिने गरी भारततर्फ समेत रेलवे पूर्वाधारमा ठूलो लगानी गरेको छ । बहराईच–नानपारा–नेपालगन्ज रोडको ब्रोडग्रेज लाइन निर्माणका लागि रु ३ अर्व ४२ करोड बजेट बिनियोजन गरेकोछ ।
रेलवे लिंक समेत सहज तरिकाले जोडिने भएकाले हालको आइसिपीलाई सुख्खा बन्दरगाहामा परिणत गर्ने आवाजलाई थप बल पुगेको छ ।
हालको रेलवे लिंक आईसिपीदेखि दुई किलोमिटरको दुरीमा मात्रै रहेकाले नेपाल सरकारले भारतसंग पहल गरी हालको रेलवे लिंक आईसिपीसंग जोडेर सुख्खा बन्दरगाहामा परिणत गर्न जोडदार माग गरिएको छ ।
नेपालगन्जलाई आर्थिक हबकारुपमा परिणत गर्न बिगतदेखि नै उठ्दै आएको आवाजलाई बास्तविकतामा परिणत गर्नका लागि सुख्खा बन्दरगाहा निर्माण अपरिहार्य रहेको बताउँदै सोका लागि आवश्यक पहल गर्न सम्पूर्ण सरोकारवाला पक्ष समक्ष हार्दिक अनुरोध गरेका छन् ।