संसदीय समितिमा छलफल,अनुदाननै कायम गर्न निर्देशन


नेपालगन्ज । पश्चिमकाे सबै ठूलो शीत भण्डार भेरी शीत भण्डार ऋणको भारी बाेकिरहेकाे छ । निर्माण शुरु गर्दा नै सहकारी बाेर्ड मार्फत लागेकाे ऋणले थिचिदै गए पछि अहिलेकाे ब्यवस्थापन त्यसबाट मुक्ति खाेजिरहेकाे अध्यक्ष बलराम भट्टराई बताउँछन् ।

त्यसैले अनुदानका नाममा प्राप्त भएको रकमलाई ऋण बनाउने सहकारी बाेर्डकाे निर्णय खारेज गराउन लागिएको भट्टराईकाे तर्क छ । ‘ खासमा सहकारी बाेर्डले कृषि मन्त्रालय मार्फत प्राप्त गरेकाे शीत भण्डारकाे रकम ऋण नभई अनुदान रहेछ । तर हामीबाट ऋण असुल्ने काम भएको छ । याे राेकिनुपर्छ ।’- भट्टराईले भने ।

अध्यक्ष  भट्टराईले ऋणलाई अनुदानमा रुपान्तरण गर्न पहल गरिरहेकाे बताएका छन्  । त्यसैक्रममा संसदकाे कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलबार  बसेको बैठकले भेरी  शीत भण्डारले विभिन्न समयमा अनुदानमा प्राप्त गरेको रकम सहकारी बोर्डले ऋणमा रूपान्तरण गरेको विषयलाई लिएर निर्णय गरेको सांसद सुर्य ढकालले जानकारी दिएका छन् ।  मन्त्रालयले अनुदानको रुपमा दिएको रकम अनुदानै कायम गर्न भूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्रालय सहकारी बोर्ड अर्थमन्त्रालयलाई अनुदान कायम गर्न निर्देशन दिने निर्णय गरेकाे उनकाे भनाइ छ ।

उक्त निर्णयकाे शीत भण्डारले स्वागत गरेकाे छ । उनले  कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद सूर्यप्रसाद ढकाललाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेका छन् । लामो समयदेखि समस्या झेल्दै आएको  भेरी शीत  भण्डार सहकारी संस्थाले अब एउटा नयाँ बाटो समात्ने उनकाे भनाइ छ ।  सहकारीमा आबद्ध सम्पूर्ण शेर सदस्यहरूको समस्या अब निराकरणको बाटोमा जानेछ र सबैलाई ठूलो राहतको अनुभूति हुने जनाइएको छ ।

चार हजार मेट्रीक टन क्षमताकाे शीत भण्डारलाई तत्कालीन अवस्थामा रु ४ कराेड ८१ लाख ऋण लागेकाे छ । त्यसकाे ब्याज जाेडेर दाेब्बर भएको छ ।  याे शीत भण्डारमा बाँके,बर्दिया सहित कर्णालीका कृषकले समेत राहत महसुस गरेका छन् । याे सिजनमा पचास हजार कार्टुन स्याउ स्टाेर गरिएको थियोे ।

प्रकाशित मितिः     ५ चैत्र २०८१, बुधबार ०७:०५  |