
नेपालगन्ज । कर्णाली विकास बैंक समस्याग्रस्त घाेषणा भई नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेकाे तीन महिना पुग्याे । नेपाल राष्ट्र बैंकले व्यवस्थापन सम्हालेपछि निक्षेपकर्ताकाे निक्षेप भुक्तानी पहिलाे प्राथमिकतामा राखेर उसले काम गरिरहेकाे छ ।
बैंकमा समस्या उत्पन्न भए पछि निक्षेपकर्ताले झेल्नु परेका दुख भनिसाध्य छैन । त्यसैले उनीहरु बैंककाे स्थिति थाहा हुँदाहुँदै पनि ‘गेट’मा आउँछन् र पालाे पर्खिन्छन् । जेनतेन कमाई गरेर जम्मा गरेकाे पैसा बैंकमा फसेपछि कतिका छाेराछाेरी बिदेश जान राेकिएका छन् भने कतिले औसधि उपचार गर्न पाएका छैनन् ।
यता ब्यवस्थापन सम्हालिरहेका राष्ट्र बैंकका अधिकारीका आफ्नै समस्या छन् । उनीहरु पैसाकाे जाेहाे गर्दै निक्षेप फिर्ता गरिरहेकाले धैर्य गर्न आग्रह गरिरहेका छन् । दिन बिराउँदै उनीहरुले सुचना निकाल्छन् र धैर्य गर्न अनुराेध गर्छन् । पछिल्लो सुचना हेर्नुस्
राष्ट्र बैंकका अधिकारीकाे भनाइ छ,-‘संस्थामा तरलता व्यवस्थापन भएपछि निक्षेप भुक्तानीको कार्य पुनः सुचारु गरिने व्यहोरा अनुरोध गर्दै यसबाट निक्षेपकर्ताहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं ।’ ऋण असुली केन्द्रीत गर्दै उक्त ब्यवस्थापन समुहले पाँच/दस हजारसम्म निक्षेप फिर्ता गरिरहेकाे छ ।
यता बैंक समस्याग्रस्त भएको तीन महिना लाग्दा समेत बैंक ‘डुबाउने’ कार्यमा संलग्न पक्राउ परेका छैनन् । प्रहरी सहित राष्ट्र बैंकका अधिकारीहरु अनुसन्धानमै जुटेका छन् ।
पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) र पूर्ववित्त विभाग प्रमुखको मिलेमतोमा करिब १ अर्ब २६ करोड रुपैयाँ बराबर अपचलन भएको तथ्य खुलेको बिबरणहरु सार्वजनिक भएका थिए ।

बैक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले कर्णाली विकास बैंकको अन्य बैकमा रहेको खातामा रहेको रकम तथा बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निकाल्दा करिब १ अर्ब २६ करोड अपचलन भएको प्रारम्भिक अनुमान गरिएको हो ।
बैक अध्यक्ष डा. मिश्रको संयोजकत्वमा ५ पुसमा पाँच सदस्यीय विशेष छानबिन समिति गठन भएको थियो । समितिले प्रारम्भिक प्रतिवेदन तयार पारी ८ पुसमा आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला प्रहरी कार्यालय बाँके र नेपाल राष्ट्र बैंकको वित्तीय सुपरीवेक्षण विभागलाई प्रतिवेदन बुझाएको थियो ।
डा. मिश्र छानबिन प्रतिवेदनमा बैंकको करिब १ अर्ब २६ करोड अपचलनमा बैंकका पूर्वकार्यकारी अध्यक्ष तथा सीईओ , पूर्वसीईओ , पूर्ववित्त विभाग प्रमुख, तथा हालका सीईओ किटान गरिएको छ । बैंक ठगीकाे याे भयावह अवस्था पछि नेपाल राष्ट्र बैंकले गत पुस दस गते समस्याग्रस्त घाेषणा गरि व्यवस्थापन आफै सम्हालेकाे थियाे । त्यसयता प्रहरी सहित राष्ट्र बैंकका अधिकारीहरु अनुसन्धानमा जुटेका छन् तर तीन महिना पुग्न लाग्दा समेत अभियुक्त पक्राउ परेका छैनन् । बैंक ठगीमा संलग्नहरु ‘फरार’ छन् ।
एकातिर बैंक ठग्ने समातिएका छैनन् भने अर्कोतिर निक्षेपकर्ताकाे समस्या हल भएको छैन । ठूला निक्षेपकर्ताका पीडा ठूलै हाेलान् ! तर सार्वजनिकरुप बाेल्न सकेका छैनन् । स-साना निक्षेपकर्ताका पीडा भने सडकमा पाेखिएका छन् । निक्षेप फिर्ता नपाउँदा उनीहरुले भाेग्नुपरेका पीडा भनिसाध्य छैन ।
कसैकाे उपचार हुन सकेकाे छैनन् । छाेराछाेरीको बिहे राेकिएका छन् । व्यापार राेकिएको छ । बैंककाे गेटमा ताला झुण्डीएको छ । यता राष्ट्र बैंक निक्षेपकर्तालाई धैर्य हुन अपील गरिरहेकाे छ । त्याे अपीलले समस्याग्रस्त निक्षेपकर्ताकाे समस्या हल हुन सकेकाे छैन ।