दस बर्षपछि शुरु भयाे नाैवस्ता औद्योगिक क्षेत्रकाे काम (भिडियो सहित)


नेपालगन्ज । सर्वपक्षिय सहमती जुटेसँगै नौवस्ता औद्योगिक क्षेत्रको काम अगाडि बढ्ने भएको छ । वस्ती र औद्योगिक क्षेत्रको क्षेत्र छुट्‌याउन सडक बनाउने कार्य अगाडी बढेपछि नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्यको ढोका खुलेको छ ।

बाँकेको बैजनाथ स्थित नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्ने भएको छ । लामो समयदेखि मानव वस्ती र औद्योगिक क्षेत्र विचको विवादका कारण अगाडी बढ्न नसकेको निर्माण कार्य आइतबार बैजनाथ गाउँपालिकाले आयोजना गरेको बैठकबाट सर्वपक्षिय  सहमती जुटेसँगै सोमबारबाट सडक निर्माणको कार्य अगाडी बढेको हो ।

सहमती जुटेकाले वस्ती र औद्योगिक क्षेत्र बीचको सिमाना छुट्याउन आजबाट सडकको ट्रयाक खोल्नेकार्य अगाडी बढेकाले भोलिदेखि नै औद्योगिक क्षेत्रको सिमानामा तारबारको कार्य अगाडी बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओली बताउँछन् । उनले तत्काल पुरानो डिपिआरको कार्यलाई संधोधन गरेर पूर्वाधार निर्माणको कार्यलाई तत्काल अगाडी बढाउने बताए ।

नौवस्ता औद्योगिक क्षेत्रको  वस्ती र औद्योगिक क्षेत्रको सहमतीपछि सडक खोल्न ट्रयाक ओपनको कार्य शुरू भएपछि स्थानीय निकै खुशी भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी बताउछन् ।

उनले यस क्षेत्रका स्थानीयले चुनौतीलाई अवसरका रूपमा लिनु पर्ने भन्दै नौवस्ता औद्योगिक क्षेत्र सञ्चालनमा आए यसै क्षेत्रका हजारौ स्थानीयले रोजगारको अवसर पाउने बताए ।

नेपाल सरकारले एक प्रदेश एक औद्योगिक क्षेत्र बनाउन घोषणा गरे अनुसार बाँकेको नौवस्ता औद्योगिक क्षेत्र घोषणा भएको थियो । २०७७ सालमा औद्योगिक क्षेत्रको शिलन्यास भएपनि २०२८ सालदेखि वसोवास गर्दै आएका वस्ती व्यवस्थापन हुन नसक्दा विवाद बढ्दै गएकाले औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्न सकेको थिएन ।

लामो समयको प्रयास पछि सर्वपक्षीय सहमती जुटेर सडक ट्रयाक खोल्ने कार्य भएसँगै नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडी बढ्नेमा बाँके वासीले आशा जगाएका छन् ।

प्रकाशित मितिः     १० चैत्र २०८१, सोमबार २०:१३  |