‘बर्फानी बाबा’मा पुग्याे पिउने पानी,सन्तानेश्वरमा पुग्दै


बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित अति दुर्गम स्थान चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी पुगेकाे छ ।

जिल्लाको अति नै लोकप्रिय तथा अत्यन्त दुर्गम स्थान ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानी पुगेकाे खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्ज प्रमुख प्रकाशजंग शाहले बताउनुभयो । शिवरात्री अघि नै पानी पुगेकाे हाे । ‘लिफ्ट’ काे सहायताबाट पानी पुर्‍याइएको हो ।

कार्यालयका सुचना अधिकारी तथा ईन्जिनियर खगेन्द्र खत्रीका अनुसार, राप्तीसोनारी ४ को कुम्भरमा डिप बोरिङ गाडेर बोरिङमार्फत् करिब साढे सात किलोमिटर टाढा ‘बर्फानी बाबा’ मन्दिरमा पानी पुर्‍याइयाे ।

खत्रीका अनुसार ‘बर्फानी बाबा’ मन्दिर रहेको डाँडामा पानी सङ्कलन गर्नका लागि ३५ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ ।

अति नै दुर्गम स्थान चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’मा हिन्दु धर्मावलम्बी भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।

नेपालका विभिन्न स्थानका साथै भारतसम्मबाट ‘बर्फानी बाबा’ मन्दिर दर्शन गर्न आउने भक्तजनहरूका लागि बस्नका लागि आवास र पिउने पानीको समेत व्यवस्था हुन नसक्दा भक्तजनहरू समस्यामा पर्ने गरेका थिए ।

 

अब भवन निर्माणका साथै खानेपानीको काम पनि सम्पन्न भएपछि भने उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको आर्थिक उपार्जनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । यसै महिना अर्को धार्मिकस्थल सन्तानेश्वरमा पनि पानी पुग्दैछ।

प्रकाशित मितिः     १३ चैत्र २०८१, बिहीबार १५:४०  |