‘प्राधिकरणबाट कुलमान बाहिरिएसंगै लोडसेडिङ हट्याे’


 

नेपालगन्ज । नेपाल सिमेन्ट उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ बाहिरिएसँगै उद्योगमा हुँदै आएको लोडसेडिङ हटेको जनाएको छ।

सरकार र विद्युत् प्राधिकरणको नयाँ नेतृत्वबाट औद्योगिक क्षेत्रले निरन्तर २४सै घन्टा आवश्यकताअनुसारको विद्युत् प्राप्त हुने सुनिश्चित गरी उद्योग व्यवसाय प्रवर्द्धनमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धतापछि औद्योगिक क्षेत्रले राहत महसुस गरेको संघको विज्ञप्तिमा उल्लेख छ।

थप विद्युत आयात गरी उद्योग प्रतिष्ठानको लोडसेडिङ कमी गर्ने गराउने र महत्त्वपूर्ण अभिभावकीय जिम्मेवारी पूरा गर्न सफल प्राधिकरण नेतृत्वलाई संघले धन्यवाद दिएको छ।

संघको विज्ञप्तिमा भनिएको छ– ‘नेपालमा औद्योगिक क्षेत्र खासगरी सिमेन्ट उत्पादकलगायतका ठूला उद्योगमा दैनिक २४ सै घण्टा विद्युत आपूर्ति हुन नसक्दा ९/१२ घन्टा वा सोभन्दा बढी समय लोडसेडिङ भएका कारण उत्पादन क्षमताअनुसार सिमेन्ट उत्पादन हुन नसकेको, उत्पादन लागत अत्यधिक वृद्धि भएको, मेसिन उपकरणमा क्षति पुग्न गएका कारण ठूलो नोक्सानी र मर्का परिरहेको तथा सोही कारण औद्योगिक उत्पादन, रोजगारी सिर्जना, राजस्व अभिवृद्धि, निर्यात प्रवर्द्धनसमेतमा गम्भीर रुपमा असर परेको सरोकारवालालाई जानकारी रहे, भएकै विषय हो।’

संघले प्राधिकरण समेतको पहलमा अब भारतबाट रातीको समयपनि थप विद्युत आपूर्ति हुने र औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग पूर्ण रुपमा हटाउन पहल गरेकामा उद्योगी व्यवसायी खुसी भएकाे बताएकाे छ।

प्रकाशित मितिः     १४ चैत्र २०८१, शुक्रबार १३:४६  |