ज्ञानेन्द्र शाहलाई ‘राजा बनाउने’ भन्दै दुर्गा प्रसाईले काठमाडौंमा मच्चाएको बिध्वंस


 

काठमाडौं । राजावादी समूहले दुर्गा प्रसाईंलाई कमान्डर घोषणा गर्दै आयोजना गरेको आन्दोलनमा उनी नै अराजक बन्दा स्थिति तनाबपूर्ण मात्रै होइन, हिंसात्मक बन्न पुग्यो । दुई जनाले ज्यान गुमाउँदा कयौं घरहरुमा क्षति पुर्‍याइएको छ भने गाडीहरुमा आगजनी गरिएको छ ।

जसका कारण काठमाडौंका कोही स्थानमा कर्फ्यू समेत लागेको छ । शुक्रबारको आन्दोलनका नाइके ‘कमान्डर’ प्रसाईंले सुरुमा नै देखाएको अराजकताले दिनभरी काठमाडौंको तीनकुने, नयाँ बानेश्वर, शान्तिनगर, शंखमुल, पुरानो बानेश्वर, गौशला, एयरपोर्ट, कोटेश्वर, जडिबुटी, बालकुमारी क्षेत्र तनावग्रस्त बन्यो ।

सभामा सहभागी प्रसाईंले आफ्नो सवारीलाई निषेधित क्षेत्रमा जबरजस्ती लगेका थिए । उनले आफ्नो गाडीभित्रबाट भिडियो खिच्न लगाएका थिए । जहाँ उनी अपशब्द बोल्लै प्रहरीमाथि नै गाडी कुदाउने हर्कतमा उत्रिए।

प्रहरीले रोक्न खोजे पनि उनी मुख छाड्दै प्रहरीलाई किच्ने गरी गाडी हुँइक्याएर कुदे । सडकमा रहेका प्रदर्शनकारीलाई’आओ.. आओ’ भन्दै हौस्याउँदै उनी बानेश्वरतर्फ कुदेका थिए ।

प्रसाईंले आन्दोलनकारीलाई संयमित बनाउनु पर्नेमा उनी आफैं अराजक बन्दा आजको अवस्था बनेको हो । त्यसोत राजावादीहरुको उपस्थिति र हुनसक्ने सम्भावित घटनाक्रलाई गृह प्रशासनले कमजोर आँकेको देखिएको छ । प्रहरीको जासुस संयन्त्र पनि शुक्रबार कमजोर देखियो ।

तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

तिनकुनेस्थित राजावादीहरुको प्रदर्शनका क्रममा अनलाईनखबरकर्मी दिनेश गौतम घाइते भएका छन् ।

प्रदर्शनकारीहरुले सुरक्षाकर्मीहरुको अश्रुग्याँस प्रहार गरेको बन्दुक खोसेको तस्विर खिच्ने क्रममा रहेका बेला उनलाई प्रदर्शनकारीले हुलहुज्जत गरेका थिए । गौतमका अनुसार, उनलाई धकेलेर मोबाइल समेत खोस्न खोजेका थिए ।

आन्दोलनकारीहरुले तीनकुनेमा मार्बल हाउस रहेको भवन, बिराट बचत तथा ऋण सहकारी संस्थासहितका तीनवटा भवन आगजनी गरे । प्रभु कम्प्लेक्स, श्री राज भवन, कान्तिपुर टेलिभिजनको भवन, अन्नपूर्ण पोष्टको कार्यालयमा आक्रमण हुँदा पनि प्रहरी प्रशासन गम्भीर बन्न सकेको देखिएन ।

आन्दोलनकारीले जडिबुटीमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा तोडफोड गर्नुका साथै करिब डेढ दर्जन गाडीमा राजावादीले तोडफोड गरेका छन् ।

भाटभटेनी कम्प्लेक्स, एकीकृत समाजवादी पार्टीको पार्टी कार्यालयमा तोडफोड गरे । त्यतिमात्रै नभएर तीनकुने क्षेत्रका दर्जनौ घरमा तोडफोड भएको छ । प्रसाईं आफैंले प्रदर्शनकारीले उत्तेजक बनाएपछि आदोलनकारीलाई योजनबद्ध र संगठित रुपमा परिचालन गर्न सक्ने अवस्था बनेन । जसले जतापायो त्यतै, जसको घर देख्यो त्यतै ढुंगामुडा प्रहार गरेपछि दर्जनौ निजी सम्पत्तिमा क्षति पुग्यो ।

गृह मन्त्रालयका सहसचिव छबिलाल रिजालका अनुसार २० वर्षपछि पहिलो पटक आन्दोलनका साथै लुटपाट समेत भएको छ।

राजावादी अराजक समूहले कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट गरेका छन् । जसको सीसीटी फुटेज देख्न सकिन्छ ।

प्रसाईंले अराजक बनाएको बेलगाम आन्दोलन रोक्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गर्यो । दर्जन हाराहारीमा हवाई फायर गर्यो । तै पनि प्रहरीले आफ्ना सवारी साधान समेत जोगाउन सकेन । प्रहरी, सशस्त्र प्रहरीको गाडी समेत ध्वस्त भयो । यतिसम्मकी शसस्त्र प्रहरीका इन्स्पेक्टर माथि आन्दोलनकारीले मरणाशन्न हुने गरि आक्रमण गरे ।

प्रहरी र सशस्त्रप्रहरीका आधादर्जन बढी घाइते भए । त्यसको प्रमुख कारण भनेको गृह मन्त्रालयको निरीहता नै हो । तीनकुनेमा घरमा आगलागी हुँदा करिब डेढ घन्टासम्म निभाउन सुरक्षा निकाय सक्षम भएन ।

आगो निभाउन पुगेको काठमाडौं महानगरपालिकाको दमकल कमजोर सुरक्षा व्यवस्थाका तोडफोडमा पर्‍यो ।प्रहरीको संख्या थोरै हुँदा आन्दोलनकारीले हरेक गल्ली गल्लीमा पसेर निजी सम्पत्तिमा क्षति गरे । गृह मन्त्रालयका सहसचिवले समेत सरकारले अनुमान नगरेको स्थिति सृजना भएको स्वीकारे ।

राजावादी प्रदर्शनकारीले तीनकुनेमा एक घरमा आगो लगाएर एक पत्रकारको जिउँदै हत्यासमेत गरेका छन् । आन्दोलनको भिडियो खिच्न पुगेका पत्रकार सुरेश रजकले भिडियो खिचिरहेको घरमा उनीहरुले आगो लगाइदिँदा उनले ज्यान गुमाएका थिए।

आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यसको नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । उक्त गोली लागेर कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको समेत मृत्यु भएको गृहका सहसचिव रिजालले बताए ।

यो घटनाको सबै जिम्मेवारी आन्दोलनका कमान्डर प्रसाई लगायतले लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ  आन्दोलनमा ३० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मितिः     १४ चैत्र २०८१, शुक्रबार २०:३८  |