नियोजित नभएकाे भन्दै राप्रपाले ‘क्षमा’माग्याे


 

बाँके । चैत १५ गते काठमाडौंमा भएको राजतन्त्र समर्थककाे प्रदर्शनमा पक्राउ परेका नेता कार्यकर्ता रिहाईकाे माग गर्दै राप्रपाले शनिबार साँझ नेपालगन्जमा राँके जुलुस निकाल्याे । त्यसक्रममा राप्रपाका कार्यकर्ता र सुरक्षाकर्मीबीच चाेक-चाेकमा घम्साघम्सी पनि भयाे ।

राप्रपाले राँके जुलुस सके लगतै वीपीचाेकस्थित वीपी काेइरालाकाे शालिकमा अभद्र व्यवहार गरिएको बिषयले देशै तताएको छ ।

नेपाली काँग्रेस सहित नेकपा एमाले मात्रै होइन स्वतन्त्र व्यक्तिहरुले समेत वीपीकाे शालिकलाई राप्रपाले नियाेजितरुपमा ‘कालाे कपडा’ले छाेपेर अभद्र व्यवहार देखाएको आरोप लगाउँदै बिराेध जनाएका छन् । एमाले महासचिव शंकर पाेखरेलले लेखेका छन्,-

”राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो राप्रपा’ भन्नेहरुले नेपालगंजमा विपिको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफै बुझ्नुहोस राजावादीहरु के चाहन्छन् ? आन्दोलनका संयोजक धवल सम्सेरको गृहनगरीवाट दिएको सन्देस हो कांग्रेस भित्रका संवैधानिक राजसंस्थाका हिमायतिहरुलाई ।
त्यसैले ‘नेपालमा लोकतन्त्र र राजसंस्था संगै जान सक्दछ’ भन्नेहरुले बुझ्नु पर्दछ पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनुहुन्थ्यो । किनकी विपिको समयमा विपि भन्दा वढि नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।’

ठिक यसै गरि नेपाली काँग्रेस बाँकेका सचिव सुदांशुराज काेइरालाले ‘घटना’का बिषयमा आपत्ती जनाउँदै लेखेका छन्,-

‘आज नेपालगन्जमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री दुरदर्शी नेता महामानव वीपी कोइरालाको शलिकमा अभद्र क्रियाकलाप गरिएको छ । इतिहासको अध्ययन नभएका केहि अराजक समुहले गरेको यस हर्कतले हाम्रो आस्था र बिचार माथि प्रहारको भएको रुपमा हामीले लिएका छाैं । यो सम्पुर्ण गतिविधि प्रहरीको बाक्लो उपस्थित  मै भएको हुँदा प्रहरी प्रशासन समेत चुकेको देखिन्छ तसर्थ समाजमा यस्ता अराजक गतिविधि गर्ने व्यक्तिको पहिचान गरि कानुनको दायरामा ल्याउन जोड्दार माग गर्दछु ।’

जननिर्वाचित प्रथम प्रधानमन्त्रीकाे शालिक माथि गरिएको भनिएको घटना निन्दनीय छ । तर आरोप लगाए जस्तो राप्रपाका कार्यकर्ताले ‘त्याे घटना’घटाएकी घटाएनन् ? यथार्थ बाहिर आउनुपर्छ ।

उक्त घटनाका बिषयमा आरोपित भएको दल राप्रपाले घटना नियाेजित नभए बताएको छ । राप्रपा नेपालगन्जका अध्यक्ष हुकुम केसीले बिज्ञप्ति जारी गरि लेखेका छन्,-

‘मिति २०८१/१२/२३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिको आव्हानमा वि.पी चौकमा भएको रांके जुलुस कार्यक्रममा निर्वाचित पुर्व-प्रधानमन्त्री स्व.वि.पी कोइरालाको सालिकमा कपडाले मुख छोपिएको तस्वीर भाइरल भएकोले उक्त तस्वीर हेर्दा नगर कार्य समितिको ध्यानाकर्षण भएको छ । हामीले हाम्रो नेताहरुको रिहाईको मागको लागी मात्र गरिएको राँके जुलुसमा प्रहरीद्धारा गरिएको हस्तक्षेपमा भबितब्य रुपमा कहाँकसरी उक्त घटना भएको हो। हाम्रो मनसाय कुनैपनि राजनितीक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पुर्व-प्रधानमन्त्री वि.पी कोइराला हामी सबैका जनप्रिय नेता प्रति हाम्रो सधै सम्मान र विश्वास रहेको छ र रही रहने छ। उक्त भवितव्य घटनाबाट कुनैपनि राजनितिक दल र व्यक्तिको आस्था प्रति ठेस पुगेकोमा हामी लगायत नगर कार्य समिति क्षमा प्रार्थी छौ ।’

प्रकाशित मितिः     २३ चैत्र २०८१, आईतवार १०:३२  |