नेपाल र भारतबीच भन्सार प्रक्रियालाई कागजविहीन बनाउने सहमति


काठमाडौं। नेपाल र भारतबीच भन्सार प्रक्रियालाई कागजविहीन बनाउँदै व्यापारमा सहजीकरण गर्ने सहमति भएको छ।

दुई देशका भन्सार अधिकारीको काठमाडौंमा दुई दिनसम्म चलेको वार्तामा लजिस्टिक्स लागत घटाउने तथा अनधिकृत व्यापार नियन्त्रणमा सहकार्य गर्ने सहमति भएको हो।

भारतीय अधिकारीहरु नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत जारी हुने उत्पत्तिको प्रमाणपत्रलाई मान्यता दिन तयार भएका छन्। वार्तामा सहभागी नेपाली अधिकारीहरुका अनुसार नेपाल-भारत सीमा क्षेत्रमा क्वारेन्टाइन सुविधा विस्तार गर्ने सहमति भएको छ।

यस्तै तेस्रो मुलुकबाट भारत हुँदै नेपाल आउने रेलमार्गमा प्रयोग हुँदै आएको इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमलाई सडकमार्ग (ट्रक)मा समेत विस्तार गर्ने र लागत घटाउने सहमति भएको छ।

भैरहवा र चाँदनी दोधारामा निर्माणाधीन एकीकृत जाँचचौकी शीघ्र सञ्चालनमा ल्याउने र विराटनगरमा रेल कार्गो सेवा सञ्चालन गर्ने पनि सहमति भएको वार्तापछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

वार्तामा भएको समझदारी अनुसार दुई देशले आयात-निर्यात सम्बन्धी पूर्वसूचना आदान-प्रदान गर्नेछन्। वार्तामा नेपाली टोलीको नेतृत्व भन्सार विभागका महानिर्देशक महेश भट्टराई र भारतका तर्फबाट राजस्व इन्टेलिजेन्स निर्देशनालयका महानिर्देशक अभय कुमार श्रीवास्तवले गरेका थिए।

प्रकाशित मितिः     २८ चैत्र २०८१, शुक्रबार २०:१५  |