
नेपालगन्ज । पूर्वमन्त्री एवम् महासचिव मोहम्मद इश्तियाक राईलाई ‘कुखुरा तस्करी’ काे आरोप लगाउँदै सामाजिक संजालमा ‘शेयर’ भएका समाचारप्रती जनता समाजवादी पार्टीले खण्डन गरेकाे छ ।
राईकाे सचिवालयकाे तर्फबाट नेता राजेन्द्र बिश्वकर्माले सार्वजनिक गर्नुभएको बिज्ञप्तिमा राईको मान, प्रतिष्ठामाथि आँच पुर्याउने कुत्सित मनसायले कथित समाचारका नाममा डिजिटल प्लेटफर्महरू मार्फत भ्रम छर्ने गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘एक वर्षअघि एउटा अनलाइन मिडियाले आफै कपोलकल्पित ढंगले रचेर सम्प्रेषण गरेको मनगढन्ते सामग्रीलाई अहिले केही मिडियाले सनसनीपूर्ण रूपमा साभार गर्नु र विरोधि तत्वहरुले सामाजिक सञ्जाल मार्फत मनगढन्ते सामग्रीलाई व्यापक बनाउन उद्धत देखिनुलाई सामान्य ठहऱ्याउन सकिदैन । यस्तो दुष्प्रचार हुनुमा नियोजित षडयन्त्र रहेको प्रष्ट बुझिन्छ ।’-बिज्ञप्तिमा उल्लेख छ ।
तस्करी र अवैध आयात जस्ता क्रियाकलापहरूलाई निस्तेज पार्न पूर्वमन्त्री राई सदैव सक्रिय रहँदै आएको तथा प्रहरी-प्रशासन र भन्सार लगायतका सरकारी निकायहरूलाई तस्करी नियन्त्रणका लागि सदैव आवश्यक सहयोग र सचेत गराउँदै आएको बताइएको छ ।
आर्थिक मन्दी र बैंकको चर्को ब्याजको मार खेपिरहँदा नेपाली पोल्ट्री व्यवसायीहरूलाई कसरी उकास्न सकिन्छ भनेर राईले वहाँहरूको हितमा आफूलाई उभ्याउँदै आएको बिज्ञप्तिमा उल्लेख छ ।

संधै नेपाली कुखुरा उत्पादक, किसान र व्यवसायीहरूको पक्षमा रहँदै आउनुभएका पूर्वमन्त्री राईलाई मनगढन्तेरूपमा तस्करीको आरोप लगाउने कार्य निन्दनीय र भर्त्सनायोग्य भएको जनाइएको छ ।
‘यस्ता कपोलकल्पित र भ्रामक सामग्रीले आम जनतालाई गलत सन्देश मात्र दिँदैन, पत्रकारिता जगतकै विश्वसनीयता माथि पनि गम्भीर संकट निम्त्याउँछ ।’ बिज्ञप्तिमा उल्लेख छ,-‘ त्यसैले अहिले नेपालको पत्रकारिताप्रति जनविश्वास गुम्दै गइरहेका बेला जिम्मेवार भइ सत्य तथ्य समाचार सम्प्रेषण गरी विश्वास आर्जन गर्नेतर्फ लाग्न सम्बन्धित संचारमाध्यमलाई सचेत गराउन चाहन्छौं ।
त्यस्तै भ्रामक सामग्रीहरूलाई अमूक व्यक्ति/दलका लागि ‘राजनीतिक लाभ’को साधन बनाउन बदनियत राखेर सामाजिक सञ्जालमा नियोजितरूपमा अफवाह फैलाइरहेकाहरूलाई पनि हामी प्रचलित कानून अनुसार जवाफ दिने प्रष्ट पार्न चाहन्छौं ।’