निर्धारित समयभन्दा छ महिना पहिल्यै बन्दैछ भब्य ‘टर्मिनल भवन’ (भिडियो सहित)


बाँके । अन्तर्राष्ट्रिय उडान समेत गर्न मिल्ने गरि शुरु गरिएको नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन निर्माणकार्य अस्सी प्रतिशत सकिएको छ । अन्तिम समयसीमा आगामी पुस मसान्तसम्म रहे पनि निर्माण कम्पनीले असारमै सक्ने गरि अढाई सय श्रमीक खटाएर धमाधम काम गरिरहेकाे हाे ।

‘स्ट्रक्चर निर्माणकार्य लगभग सकियाे । अब फिनिसिङ्को काम भइरहेकाे छ । हामी ताेकिएको समय भन्दा छ महिना अघि नै काम सक्ने तयारीमा छाैं ।’- निर्माणपक्षले अर्थपेजसंगकाे संवादमा भने ।

बाँकेको खजुराबाट राँझामा स्थानान्तरण भएको चार दशकपछि नेपालगन्ज विमानस्थलको पूर्वाधार निर्माणमा ‘कायापलट’ भएको हाे । नेपालगन्ज विमानस्थल बिक्रम संवत् २०३७ सालमा निर्माण गरिएको थियाे । त्योभन्दा पहिले यो विमानस्थल खजुरामा थियो ।

खजुरामा हुँदा तत्कालीन शाही नेपाल वायुसेवा निगमका पाँच जहाजले मात्र उडान भर्दै आएका थिए । तर अहिले नेपालगन्ज विमानस्थल हुँदै काठमाडौं, पोखरासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लामा उडान हुँदै आएको छ ।

यात्रु र जहाजको संख्या बढेसँगै विमानस्थलको पूर्वाधार निर्माणमा समेत ठूलो परिवर्तन आएको हो । पूर्वाधार निर्माणसँगै सरकारले नेपालगन्ज विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान भर्ने गरी योजना बनाएको छ ।

हाल नेपालगन्ज विमानस्थललाई क्षेत्रीयस्तरको बनाउनका लागि नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ लागतमा काम सुरु गरिसकेको छ । नेपालगन्जमा नयाँ टर्मिनल भवन निर्माण कार्य सुरु भइसकेको छ ।

यो विमानस्थलमा ६ दशकपछिको यात्रु मुभमेन्टअनुसारको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम द्रुत गतिमा बढिरहेको छ । नागरिक उडड्यन प्राधिकरणका अनुसार,करिव ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरियालगायत पूर्वाधार निर्माण सुरु भएको हो ।

नयाँ टर्मिनल निर्माण लागि शर्मा एन्ड कम्पनीले ठेक्का सम्झौता गरी काम सुरु गरिसकेको छ । सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएको टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ सम्ममा सकिसक्नुपर्ने सम्झौता छ ।

पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्ज विमानस्थललाई केन्द्र बनाएर पश्चिमी पहाडका जनतालाई सेवा दिने सरकारको उद्देश्य रहेको छ । भविष्यमा नेपालगन्जबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने पनि सरकारको लक्ष्य छ ।

ठेकेदार कम्पनीका प्रतिनिधि सौरभ शर्माले दुई तलासहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडि नै सक्नेगरी काम भइरहेको बताए । उनले भने, ‘तोकिएको समयभन्दा ५/६ महिना अगाडि विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।’
अत्याधुनिक टर्मिनल भवन मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि आवश्यक पूर्वाधारसहितका हुने बताइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले विमानस्थलको स्तरोन्नति जनताको माग भएको बताउँदै यसले पश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने निश्चित भएको बताए ।

भारतसँग हवाई उडान जोड्ने विषयमा सरकारको ध्यानार्कषण गराइएको उनको भनाइ छ । ‘४ दशकभन्दा पुरानो विमानस्थलको ढिलै भए पनि सुधार हुनु सकारात्मक कुरा हो । हामी यसमा खुसी नै छौं । आशा छ, चाँडै अन्तर्राष्ट्रिय उडान हुनेछ,’ उनले भने ।

प्रकाशित मितिः     ३ बैशाख २०८२, बुधबार १८:५५  |