
नेपालगन्ज । नेपाली उपभोक्तालाई भारतीय बजार रुपैडीयासम्म पुग्न दुबै देशका आधा दर्जन सुरक्षा ‘चेकपोस्ट’ पार गर्नुपर्छ । यी चेकपोस्टमा पानी पर्दा हाेस् चाहे टन्टलापुर घाम ! लाईन लाग्नैपर्छ । कति हैरानी व्यहाेर्नुपर्छ । भाेग्नेलाई थाहा छ ।
तर पनि मान्छे रुपैडीया जान छाडेका छैनन् । नाकामा कडाइ गरेपनि भिड उस्तै छ । किनमेल गरेर फर्किनेकाे ताँती थामिनसक्नु छ । घरेलु प्रयोगको नाममा सीमापारी रुपैडिहा बजारबाट हजारौँ रुपियाँको सामान खरिद गरेर राजस्व चुहावट गर्ने कार्य रोक्न केही समययता मुख्य नाका जमुनाहामा अत्यधिक कडाइ गरिएको छ। तर पनि सिमापार किनमेल गर्नेकाे थामिनसक्नु भिड लागेकाे छ ।
सोही कारणले अहिले सीमापारीबाट सय रुपियाँभन्दा बढीको सामान खरिद गरेर ल्याउनेहरूबाट राजस्व असुली गर्न थालिएको छ। मुख्य नाकामा राजस्व असुलीमा कडाइ गरिए पनि नाका वरपरबाट हुँदै आएको तस्करी र अवैध आयात भने रोकिएको छैन।
नेपाल-भारत सीमाक्षेत्रमा सामानकाे चाेरीपैठारी गर्ने ठूलो संजाल सक्रिय छ । बिहानदेखि रातिसम्म सामान ‘सप्लाई’गर्ने गिरोह दुबै देशमा छन् । बालबालिकादेखि बृद्धबृद्धासम्म । फरक शारीरिक क्षमताका मान्छेदेखि महिलासम्मलाई याे समुहले प्रयाेग गर्छ । यसरी ‘क्यारिङ’ गर्ने व्यक्ति र समुहलाई सुरक्षाकर्मीले पहिचान नगर्ने कुरै भएन ! तस्करी नियन्त्रण गर्ने हाे भने उनीहरुकाे पहिचान गरि नियन्त्रणमा लिनुपर्ने र उनीहरुले ल्याएको सामान कस्ले कहाँ बेच्छन् त्यहाँ छापामार्नुपर्ने धेरैकाे सुझाव छ ।
धेरैकाे तर्क छ,साँझ र बिहानकाे कामका लागि रुपैडिहा काेही धाउदैनन् । कहिलेकाही कुनै किनमेलका जाने पनि समस्या होइनन् तर खुलेआम किनमेलका नाममा ‘माल पास’ गर्नेहरुले उताबाट सस्ताेमा सामान ल्याएर स्वदेशी बजारमा अवैधरुपमा बेच्नु नै हाे । त्यस्ता व्यक्तिहरु पहिचान गरि कारवाही गर्नुपर्ने आवाज उठे पनि सुनुवाइ भएको छैन ।
मुख्य नाकामा खटिएको सुरक्षा निकाय र अन्य विभिन्न स्थानमा रहेको प्रहरीले कडाइ गरेर राजस्व छलेर सामान भित्रिन नदिए पनि वरपरका बाटो र मिलेमतोमा हुँदै आएको तस्करी भने निरन्तर जारी छ।
गत केही समयदेखि सशस्त्र प्रहरीले पनि जिल्लाको ६५ किलोमिटरको खुला नाकामा तस्करी र अवैध आयात रोक्न कडा अभियान चलाएको छ तर अवस्था भने उस्तै छ। भन्सार कर्मचारी र प्रहरीले आफ्नो काम गरिरहेको छ भने तस्करहरू पनि आफ्नो काममा निरन्तर लागिरहेका कुरा स्थानीय बासिन्दा बताउँछन्।
मुख्य नाकालगायत ससाना नाकामा समेत प्रहरी सक्रिय रहे पनि त्यहाँबाट भित्रिएको ठुलो परिमाणको अवैध सामान धेरै पटक प्रहरीले नेपालगन्ज, कोहलपुर र खजुराबाटसमेत नियन्त्रणमा लिँदै आएको छ।

प्रहरीले कडा रूपमा निगरानी गरे पनि तस्करी जारी रहनुमा तस्कर नसमातिनु नै प्रमुख कारण रहेको नाका वरिपरिका स्थानीयको भनाइ छ। प्रहरीको फन्दामा नपरेका तस्करले फेरि पनि तस्करी जारी राख्ने गरेकाले यो कहिले पनि नरोकिने दाबी गर्नुभयो।
नेपाल–भारत नाकाको विभिन्न ठाउँमा सुरक्षाकर्मीको राम्रो उपस्थिति हुँदाहुँदै पनि निरन्तर रूपमा अवैध तरिकाले सामान भित्रिनु र सो क्रम सधैँ जारी रहनु चिन्ताको विषय बनेको स्थानीयको भनाइ छ।
नेपालगन्ज भंसार नाका हुँदै आलु,प्याज र चिनी जस्ता घरायासी सामाग्री भित्र लुकाएर पाटपुर्जाहरु तस्करी हुने गरेको पाइएको छ । केही दिन पहिले नेपालगन्ज भंसार नाकामा सशस्त्र प्रहरीले एक जना महिलाको बोरा लछारपछार गर्दै गरेको भिडियो भाइरल भयो । त्यस्तै भिडियो अन्यत्र नाकाबाट पनि सार्वजनिक भएका छन् ।
तरकारी मात्रै ल्याउँदा समेत यसरी लछारपछार गरेको भन्दै सशस्त्र प्रहरी माथि खनिने पनि उल्लेखनीय भए । हुन पनि यति थोरै सामान ल्याउँदा किन दुख दियो होला भन्ने धेरैको मनमा लाग्न सक्छ। तर घटनाको यथार्थ भने भिन्नै छ तरकारीको बहानामा महत्त्वपूर्ण सामाग्री तस्करी हुन थालेपछि त्यसलाई रोक्न सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरिरहेको छ ।
त्यसरी चेकजाँच गर्दा आलु,प्याज र चिनि भित्र मोवाईल लगायत विभिन्न ससाना तर महत्त्वपूर्ण सामाग्री भेटिएको छ । बाहिर आलु र प्याज जस्ता तरकारी ल्याएको भन्दै सुरक्षाकर्मीको आँखा छल्ने तर भित्र पाटपुर्जाको तस्करी गर्ने क्रम बढेपछि सशस्त्र प्रहरीले नेपालगन्ज नाकामा चेकजाँचमा कडाई हो । तर त्यसरी तरकारीको बहाना देखाउँदै भित्र विभिन्न सामाग्रीको तस्करी गर्नेहरुलाई रोक्न खोज्दा सशस्त्र प्रहरीले अपजसको भारी बोक्नुपरेको छ ।
घरायसी प्रयोजनको बहानामा ल्याउने तरकारी वा अन्य सामाग्री भित्र महंगो सामान तस्करी गरेर ल्याउने गरिएको भेटिएको थियाे । त्यति मात्रै होइन चिनि र दाल भित्र पनि पाटपुर्जा फेला परेका छन् ।
व्यवहारिकताका आधारमा सिमापारिबाट घरमा प्रयोग गर्नका लागि एक नम्बरसम्म चिनि,दाल,आलु जस्ता सामाग्री ल्याउँदा कुनै रोकटोक नगर्ने गरिएको भए पनि त्यसै भित्र राखेर अन्य सामाग्री तस्करी गर्न थालेपछि किनमेलका लागि भनेर ल्याइएको सामानमा समेत निगरानी बढाइएको छ ।