भेरी अस्पतालमा मृगौला प्रत्यारोपन सफल


बाँके । नेपालगन्जको भेरी अस्पतालमा मंगलबारदेखी मृगौला प्रत्यारोपन सेवा सुरु भएको छ ।

मृगौला पीडित ४० र ३७ वर्षका दुई जना पुरुषको मृगौला प्रत्यारोपन गरेर सेवा सुरु गरिएको हो । यो सँगै भेरी अस्पताल मृगौला प्रत्यारोपन गर्ने लुम्बिनी प्रदेशकै पहिलो अस्पताल भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. निराजन सुवेदीका अनुसार मिर्गौला प्रत्यारोपण गर्नका लागि सहिद धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठसहित १४ जनाको टिम नेपालगन्ज आएको छ । उक्त टिमले दुई जना बिरामीको मृगौला प्रत्यारोपन गरेर सेवा सुरु गरेको हो ।

मेसु डा. सुवेदीले सेवा सुरु भएसँगै अब महिनामा एक जना बिरामीको मृगौला प्रत्यारोपन गरिने बताए ।

‘भेरी अस्पतालमा मृगौला प्रत्यारोपन सेवा सुरु भईसकेको छ, अब यो सेवा निरन्तर चल्छ, केही समयसम्म महिनामा एक पटक मृगौला प्रत्यारोपन गर्ने योजना बनाएका छौं,’ उनले भने ‘यो सेवालाई निरन्तरता दिनको लागि स्रोत साधन पनि खर्च हुन्छ ।’

अस्पतालमा हाल मृगौला प्रत्यारोपन गर्नका लागि यूरोलोजी विशेषज्ञ, डा. दिपेश गुप्ताले लाईसेन्स (अनुमति) प्राप्त गरिसकेका छन् । उनीसहित अन्य विशेषज्ञ चिकित्सकहरु पनि अस्पतालमा कार्यरत छन् ।

बरिष्ठ चिकित्सक डा राजन पाण्डेका अनुसार, भेरी अस्पतालको विशिष्टिकृत सेवामा एक नयाँ कोसेढुङ्गा थपिएको छ। दुइजना दीर्घकालीन रूपमा मिर्गौला फेल भएका बिरामिहरुको मिर्गौलाको सफल प्रत्याराेपण भएकाे छ।

प्रकाशित मितिः     ९ बैशाख २०८२, मंगलवार २१:३२  |