‘याे’ वा ‘त्याे’ बहानामा  बिद्युत काटेकाे काट्यै


 

बाँके । नेपालगञ्जवासीले तातो हावा र चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आरामसँग बस्न सक्ने अवस्था छैन । विद्युत् अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युत मात्रै  नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो ।

विद्युत् नियमितताका लागि पहल पनि भइरहेको छ । तर, चर्को गर्मीका बेला विद्युत् अनियमितता झन् बढ्दै गएको छ । प्रत्येक वर्ष गर्मीमा हुने अनियमितताको समस्या यस वर्ष पनि समाधान भएको छैन ।

कहीँकतै मर्मत गर्नुपरे नेपालगञ्ज वितरण केन्द्रले विद्युत् अनियमित हुने समयको जानकारी दिन्छ । तर, त्यसबाहेक हुने अनियमितताको सूचना प्राधिकरणले दिने गरेको छैन । “विद्युत् किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन”, नेपालगञ्ज–१२ की सन्ध्या पाेखरेलले भनिन्, “गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ ।” दिनभर चर्को गर्मी सहने नेपालगञ्जवासी रातिको समयमा अनियमित विद्युत्का कारण राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

 “दिनभर गर्मीमा काम गर्छौ, विद्युत् गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन”, अटोरिक्सा चालक दिलकुमार परियारले भने । एक घण्टामा दुई/तीन पटकसम्म विद्युत् काटिने गरेको प्रीय थारुले बताए । “कम्तीमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो”, उनले भने । पूर्वसूचनाविना हुने विद्युत् अनियमितताले मेसेनरी औजारमा पनि क्षति पुग्ने गरेको उद्योगी, व्यवसायी बताउँछन् ।

“चलिरहेको मेसिन एक्कासी पटकपटक बन्द हुँदा बिग्रने सम्भावना बढ्छ”, नेपालगञ्ज–१८ का श्रीराम यादवले भने । लोडसेडिङको विकल्पमा जेनेरेटर र इन्भटर जडान गरिए पनि लामो समय विद्युत् अवरुद्ध हुँदा ती उपकरणले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने आचार्य बताउँछन् । विद्युत् अनियमितताले होटल व्यवसायीको पनि लागत बढ्दै गएको हो ।

वर्षा नहुँदासम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन । विद्युत् नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौँसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन÷चार घण्टा बत्ती गइरहेको छ । औषतमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियस आसपास नै हुन्छ । छिटपुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयवासी गर्मीले आक्रान्त छन् ।

गर्मी बढेसँगै खरबुजा, काँक्रा, उखुको रस, लस्सीलगायतका पेयपदार्थको व्यापार फस्टाएको छ । गर्मीका कारण आवश्यक कामबाहेक मध्य दिउँसो सडकमा मानिसको चहलपहल पातलिएको छ । बाहिर हिँड्दा गर्मी र त्यसमा पनि ‘लु’ चल्ने भएपछि सडकमा मानिसको आवतजावत कम भएको छ । दैनिक मजदुरी गरेर खानेहरुका लागि गर्मीयाम निकै कष्टकर बन्न पुगेको छ । प्रायःजसो युवायुवती गर्मी छल्न विभिन्न उद्यान, हरियाली स्थानमा पुग्ने गरेका छन् ।

अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप बढेको छ । अन्य मौसमको तुलनामा गर्मीमा ५० प्रतिशतले बिरामीको सङ्ख्या वृद्धि भएको विभिन्न अस्पतालले जनाएका छन् । गर्मीसँगै हावाहुरी र धुलो, सडकपेटी तथा फुटपाथको खाना र फोहर पानीका कारण बिरामीको सङ्ख्या बढ्दै गएको चिकित्सकले बताएका छन् ।

बाँकेको भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बैष्णवी, वस्टर्नलगायतका दर्जन बढी अस्पताल तथा निजी क्लिनिकमा बिरामीको चाप उस्तै छ । चिकित्सकका अनुसार बाटो तथा फुटपाथको खाजा, नास्ता नखाने, पानी उमालेर अथवा फिल्टर गरेर पिउने, दिसापिसाब गरिसकेपछि साबुनपानीले हात धुने, सफासुग्घर गर्ने बानीको विकास गरेमा बिरामी हुनबाट जोगिन सकिन्छ ।

 यसैबीच लुम्बिनी प्रदेश डिभिजन कार्यालयका डिभिजन प्रमुख   दिपक गौतम नेतृत्वको टोलीद्वारा नेपालगन्जको विद्युत आपुर्तिमा थप सुधार ल्याउन नेपालगन्ज वितरण केन्द्रको नो लाइट तथा सबस्टेशनको आइतबार साँझ आकस्मिक निरिक्षण गरिएको छ ।
डिभिजन प्रमुख  गौतमले निरिक्षणका क्रममा उपभोक्तासँग  बढीजसो प्रत्यक्ष जोडिने नो लाइट र आपुर्ति व्यस्थापन गर्ने सबस्टेशनका कर्मचारीहरुसंग प्रत्यक्ष  छुट्टाछुट्टै भेटघाट गरी त्यहाँ अपनाइदै आइएको कार्य प्रणाली, अवस्था र त्यसमा थप सुधारका उपायबारे  सुक्ष्म छलफल गरे ।
सोक्रममा उनले नेपालगन्जमा गुणस्तरीय विद्युत आपुर्ति र छिटोछरितो सेवा प्रवाहका लागि उच्च मनोबलका साथ खट्न  सबैलाई निर्देशन दिए ।

प्रकाशित मितिः     १८ जेष्ठ २०८२, आईतवार २०:२६  |