नेपालगन्ज । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप छ ।
सोडारी ६ वैशाख ०८१ देखि २० साउन सम्म करिब तीन महिना प्रदेशको मुख्यमन्त्री थिए । त्यसअघि उनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री थिए । सुदूरपश्चिमको प्रदेश सभा सदस्यसमेत रहेका उनी नेकपा एकीकृत समाजवादीका नेता हुन् ।

उनकी पत्नी गीता सोडारी पनि भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी हुन् । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षकको जागिर खाएको आरोपमा अख्तियारले उनलाई ७ असोज ०७९ मा मुद्दा दायर गरेको थियो । यस मुद्दामा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेकी छिन् ।
यस मुद्दामा अख्तियारले सोडारी, उनकी पत्नी र छोरा बबिलाई प्रतिवादी बनाएको छ । पत्नी र पुत्रलाई बिगो जफत प्रयोजनका लागि प्रतिवादी कायम गरेको हो ।