सुर्खेत, जेठ १८ — सुर्खेत उद्योग वाणिज्य संघले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेको जडीबुटी संकलन तथा प्रशोधन केन्द्रको पुनः सञ्चालनका सम्भावनाबारे जडीबुटी व्यवसायी तथा विषय विज्ञहरूसँग व्यापक छलफल सम्पन्न गरेको छ।
संघको सभाहलमा आयोजित कार्यक्रममा केन्द्रलाई कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विविध पक्षबाट विचार–विमर्श गरिएको थियो। कार्यक्रममा सहभागी व्यवसायी र विज्ञहरूले कर्णाली क्षेत्रबाट संकलन गरिने जडीबुटीको प्रशोधन, गुणस्तर अभिवृद्धि, मूल्य श्रृंखलाको विकास तथा निर्यात संभावनाबारे महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष श्री हर्ष विक्रम खड्काले कर्णाली क्षेत्रबाट संकलन गरिने जडीबुटीको कच्चा पदार्थलाई प्रशोधन गरी “स्थानीय ब्रान्ड ट्याग” सहित देश तथा विदेशमा निर्यात गर्ने सम्भावनामा आफू केन्द्रित रहेको बताउनुभयो। साथै, केन्द्र पुनः सञ्चालन गर्न आवश्यक उपकरण तथा सामग्री संघले नै उपलब्ध गराउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
संघले यस केन्द्रलाई पुनः सञ्चालनमा ल्याई स्थानीय स्रोत–साधनको उच्चतम उपयोग गर्दै रोजगारी, आयआर्जन र स्थानीय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ।