बिश्व साइकल दिवस र साइकलको महत्त्व 


 

संसार पछिल्लो समय साइकल संस्कृतिकाे बिकास ह्वात्तै बढेर जादै गर्दा त्यसको प्रभावबाट नेपाल टाढा रहने कुरै भएन । नेपालमा पनि बिगत पाँच बर्षयता साइकललाई माया गर्ने र आफ्नो  दैनिकी बनाउनेहरुको संख्या बढ्दै गएको छ।

सम्भवत दक्षिण एसियाली मुलुक मध्ये ‘साइक्लिङ कल्चर’ झाङ्गिदै गएको पहिलो मुलुक  नेपालनै हुनुपर्छ । साइकल स्वास्थ्य,वातावरणका लागी बिशेष सवारीको रूपमा रहेको छ। दैनिक रूपमा साइकल चलाउनेहरुको स्वास्थ्य राम्रो हुने र ‘कार्डियो’को राम्रो ‘एक्सर्साइज’ साइकल चलाउँदा हुने हुँदा पनि आजभोलि डाक्टरहरुले पनि साइकल चढ्न सुझाव दिने गरेका छन् ।बिश्व स्वास्थ्य संगठनले समेत स्वास्थ्यका लागि साइकलको उपयोगिता र प्रयोगका बिषयमा आफ्नो धारणा सार्वजनिक गरेकाले समेत स्वास्थ्यका हिसाबले साइकलको महत्त्व बढाएको छ।

मानिसको दैनिक जिवनमा पनि साइकलकाे निकै महत्त्व रहेको छ । ज्याला मजदुरी गर्ने मजदुर हुन् वा स्कुल कलेज जाने बिद्यार्थी वा साइकलमा तरकारी वा फलफूल बोकेर ब्यापार गर्ने ‘डोर टु डोर सेल्स म्यान’ आममानिसको जिवनमा अहिले पनि साइकलले निकै नै महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको नै छ।

अहिले युरोप र अमेरिकी तथा दक्षिण अमेरिकी मुलुक मात्रै होइनन् खाडी मुलुकहरूमा पनि साइकल राज्यको प्राथमिकतामा पर्दै गएका छन् । त्यहाँ ठूलो मात्राको बजेट साइकल मैत्री सडक निर्माणका लागी छुट्याएर सोही अनुरुपको पुर्वाधार बनाउदै आएको छ। नेपालमा पनि बिस्तारै अब साइकल मैत्री सडकका लागी शहरमा आवाज उठ्न शुरु भैसकेको छ। नेपालमा भर्खरै मात्रै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ धेरै नगपालिका, उपमहानगर र महानगरका मेयर र राजनीतिक दलले आफ्नो घोषणा पत्रमा महत्त्वपूर्ण एजेन्डाका रूपमा साइकल लेन र साइकल मैत्री शहरको मुद्दालाई समेटेका थिए ।

अब कार्यान्वयनको समय आउँदै गर्दा साइकल अभियानमा सक्रिय अभियन्ताहरु र साइकलप्रेमीहरु आ-आफ्नो ठाउँमा आवाज उठाउनु आवश्यक छ। हाम्रो शहर नेपालगन्जमा समेत स्थानीय निर्वाचनमा सबै मेयरहरु साइकल लेन र साइकल मैत्री शहरको मुद्दाका बिषयमा आफ्नो धारणा राख्दै यो बिषय शहरको प्राथमिकतामा रहने कुरा उठाएका थिए ।

आज संसारका साइकलप्रेमीहरुले बिश्व साइकल दिवस मनाइरहदै गर्दा सडकमा साइकल लेन र साइकल मैत्री शहरको एजेन्डा मेरो शहर नेपालगन्जका जनप्रतिनिधिहरु बिशेष एजेन्डा बनोस् भन्ने मेरो चाहना छ। हालसालै बनिरहेको नेपालगन्ज गुलरिया सडकखण्डको चारलेन सडकमा दुबै किनारमा साइकल लेनको निर्माण भएको छ । अब यो सडक पुर्ण रूपमा तयार भैसकेपछि यहाँ बनेको साइकल लेन साइकलेहरुले मात्रै प्रयोग गर्न पाउने कुराको सुनिश्चितता को लागी ट्राफिक प्रहरीको भुमिका र आम मानिसको जागरुकता समेतको खाँचो छ। साइकल लेन बन्ने तर त्यसलाई समेत अन्य सवारी साधनले मिच्ने र प्रयोग गर्ने गरेको उदाहरण काठमाडौ र ललितपुर जस्तो देशकै ठुला र प्राचीन शहरको कथा उदेकलाग्दो र लज्जास्पद छ।

अहिले नेपालमा साइकल बाट देश घुम्ने संस्कृति पनि बढ्दै गएको छ । विभिन्न मुद्दा र नारा बोकेरै हरेक दिन जसो काेही न कोही साइकले नेपाल भ्रमणमा निस्केको सामाजिक संजालबाट जानकारी आइरहेको हुन्छ । यसरी साइकल एउटा पर्यटन पर्बर्धनको महत्त्वपूर्ण हिस्सा समेत बन्दै गएको छ । साइकल अर्थात माउन्टेन बाइकिङ्ग्मा रुचि राख्नेहरुको संख्या बढ्दै गर्दा माउन्टेन बाइकिङ्ग एउटा साहसिक खेलको रूपमा समेत नेपालमा स्थापित बन्दै गएको छ।

नेपालगन्जमा ७ बर्ष अगाडि मात्रै औपचारिक रूपमा स्थापना भएको नेपालगन्ज साइक्लिङ क्लबले ” मेयर कप साइकल दौड प्रतियोगिता ” को रूपमा साइकल लाई खेलकुद सङ्ग र ” टुर डे ठाकुरद्वार” कार्यक्रम अन्तर्गत साइकल लाई पर्यटनको बिकासमा जोडेको छ । बाँकेमा छोटो समयमै साइकल अभियानले गति लिदै गर्दा देशभर शहर र थुप्रै भारतीय शहर हरु सङ्ग पनि साइकलका माध्यमबाट नेपालगन्जको नयाँ सम्बन्धहरु स्थापित भएको छ।

साइकल नेपालमा पर्यटनका हिसाबले अतिनै महत्त्वपूर्ण साधन हो । साहसिक माउन्टेन बाईकिङका लागि नेपालका पहाडी क्षेत्र र हिमाली क्षेत्र अतिनै उपयुक्त छन् । हाइ अल्टिच्युडमा बिश्व स्तरीय साइकल का खेल र पर्यटकीय गतिविधि आयोजना गरि प्रत्यक बर्ष माउन्टेन बाइकमा रुचि भएका लाखौं पर्यटक नेपाल भित्र्याउन सकिन्छ । साइकलमा रुचि राख्ने नेपालीहरुको संख्या समेत बढिरहेको बेला आन्तरिक पर्यटनलाई समेत साइकल ले महत्त्वपूर्ण रूपमा बढावा दिनेछ ।

भर्खरै मात्रै मुस्ताङको घरपोझाङ गाउँ पालिकाले केही दिन अगाडि एक साइकल इभेन्ट्को आयोजना गरि हिमाली जिल्ला मुस्ताङको जोमसोम / कागबेनी/ मुक्तिनाथ/ मार्फागाउ/ धुम्बाताल लगायतका ठाउँमा साइकल बाट घुमाएको छ जसमा देशभर देखि झन्डै ३५० साइकलेहरुले सहभागिता जनाएका छन् ।

साइकल नेपाल जस्तो पेट्रोलियम पदार्थमा परनिर्भर देशका लागि त झनै महत्त्वपूर्ण सवारी साधन हो। स्वास्थ्य का हिसाबले मात्रै नभएर सडकमा सवारी चाप कम गर्न र वातावरण र प्रकृति लाई सफा र स्वच्छ राख्न साइकल को प्रयोग को अति नै महत्त्व छ।

साइकल प्रयोग सङ्गै साइकल चढ्नेहरुको सडक सुरक्षा पनि अर्को चासो र महत्त्व को बिषय हो। नेपाल का सडकमा अलग्गै  साइकल लेन नहुदा दिनहुँ जसो साइकल यात्रीहरुको मृत्यु र सयौं साइकल यात्रीहरु घाइते हुने गरेका तथ्यांक छिपेको छैन । सडकमा गाडी , मोटर र ठुलो सवारी साधन चलाउनेहरुले साइकल यात्रीलाई हेप्ने गरेका कारण पनि साइकल दुर्घटनाहरु धेरै हुने गरेको छ।

साइकल चलाउनेहरु ले हाम्रो पृथ्वी लाई स्वच्छ र सफा राख्न मद्दत गर्नुका साथै हावा लाई समेत प्रदुशित हुन नदिन योगदान पुर्याएका छन् तर्सथ साइकल यात्रीहरुको प्रति को हेपाहा दृष्टिकोण परिवर्तन गरि उनिहरुलाई संमान पुर्वक सडकमा गुड्ने वातावरण बनाउन हाम्रो सोच र चेतना मा परिवर्तन हुन जरुरी छ।

आज जुन ३, २०२५ अर्थात बिश्व साइकल दिवस सबै साइकल प्रेमिहरुमा बिश्व साइकल दिवसको शुभकामना ।

प्रकाशित मितिः     २० जेष्ठ २०८२, मंगलवार ०९:४३  |