- जयपति ढकाल
बाँके – सरकारले बिना इजाजत सुर्तिजन्य वस्तुको कारोबार गर्ने, नक्कली अन्त:शुल्क स्टीकर प्रयोग गरि मदिरा तथा सुर्तिजन्य बस्तुको उत्पादन, भण्डारण,पैठारी,बिक्रिबितरण गर्ने बिरुद्द कडा नीति अख्तियार गर्दै गएको सन्दर्भमा आन्तरिक राजस्व कार्यालय नेपालगंजले अवैध रूपमा बिक्रिवितरण तथा भण्डारण गरिएका ठूलो परिमाणका चुरोट तथा सुर्तिजन्य वस्तुहरू बरामद गरेको छ।
आन्तरिक राजस्व कार्यलय नेपालगंज अन्तर्गतको गुप्त अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा आफ्नो कार्यक्षेत्र बांके जिल्ला भित्रका विभिन्न स्थानमा अनुगमन निरिक्षणको क्रममा अवैध चुरोट तथा सुर्तीजन्य बस्तु नियन्त्रणमा लिएको हो।
बरामद गरिएको बस्तुमा चुरोट, खैनी, गुट्का,पानपरागलगायतका वस्तुहरू रहेका छन्, जसमा केहि भारतीय उत्पादन रहेको हुन सक्ने प्रमुख कर अधिकृत पुर्ण प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
प्रारम्भिक अनुसन्धानअनुसार ती बस्तुहरू सीमावर्ती नाकाहरूबाट राजस्व छलि गरी नेपाल भित्र्याइएका पनि हुन सक्ने अबस्था देखिन्छ ।
राजस्व कार्यालय नेपालगंजका अनुसार सो कार्यमा संलग्न गिरोह लामो समयदेखि अवैध कारोबारमा संलग्न रहँदै आएको थियो। सो गिरोहले कानूनी प्रक्रिया नअपनाई बजारमा सस्तो मूल्यमा सुर्तिजन्य पदार्थ बेच्ने गरेको पाइएको छ, जसले सरकारी राजस्वमा हानी नोक्सानी पुर्याउँदै आएको छ।
“हामीले विशेष निगरानी राखेर ती गिरोहको पहिचान गरेका थियौं,” आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले भन्नुभयो “ यस पटक हामीले ठूलो मात्रामा अवैध सामग्री नियन्त्रणमा लिन सफल भएका छौं “।

नेपालमा प्रत्येक वर्ष लाखौं मानिस सुर्तीजन्य पदार्थको प्रयोगबाट प्रभावित हुने गरेका छन्। यस्तो अवस्थामा बिना ईजाजत बजारमा अवैध सुर्तिजन्य वस्तुको आपूर्ति तथा कारोबार हुनु अझ घातक मानिन्छ। साथै, आयातमा लाग्ने शुल्क तथा कर नतिरी ल्याइएका बस्तुहरूले राष्ट्रिय अर्थतन्त्रमा नकरात्मक असर पार्ने भएकाले यसप्रति सम्बन्धित निकायहरू सजग हुन आवश्यक रहेको प्रमुख कर अधिकृत न्यौपानेले बताउनु भयो ।
“यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुनी कठघरामा ल्याइनेछ,” प्रमुख कर अधिकृतले भने, “राजस्व छलि गर्ने र सार्वजनिक स्वास्थ्यसँग खेलवाड गर्नेहरूलाई राज्यले कदापि छुट दिदैन ।
राजस्व कार्यालय नेपालगंजले बरामद गरि ल्याईएका सुर्तीजन्य बस्तुको हकमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।
राजस्व कार्यालयलेआम जनतालाई समेत यस्तो अवैध कारोबारबारे सजग रहन र सूचना दिन आह्वान गरेको छ। राजस्व कार्यालय अनुसार जनताको सहकार्यविना यस्ता गतिविधि नियन्त्रण गर्न कठिन हुन्छ।
राजस्व कार्यालयले आगामी दिनमा अझ व्यापक रूपमा बजार अनुगमन गर्ने, सीमाक्षेत्रहरूमा कडाइ गर्ने र सार्वजनिक सचेतना अभियान सञ्चालन गर्ने योजना बनाएको प्रमुख कर अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।