विद्यार्थीको हातमा कुटाेकाेदालाे,कृषिकाे आधुनिकीकरण सिक्दै(भिडियो सहित)


नरैनापुर(बाँके) ९ असार । गाउँमै कक्षा १२ सम्म प्राविधिक कृषि पढ्न पाउँदा नरैनापुरका विद्यार्थी फुरुङ्ग छन् ।

नरैनापुर–६ मा रहेको जयकिसान माविमा प्राविधिक धारको कृषितर्फको बाली विज्ञान पढ्न पाउदा दंग छिन् । दुईवर्ष अघिसम्म कक्षा १० बाटै आफ्नो पढाइमा पूर्ण बिराम लाग्ने चिन्तामा रहेकी उनी गाउँपालिकाले कक्षा १२ सम्म गाउँकै विद्यालयमा कक्षा सञ्चालन गरेपछि खुसी छन् ।

पालिकाले कक्षा १२ सम्म गाउँमै त्यो पनि प्राविधिक शिक्षा पढ्ने व्यवस्था मिलाउदा आफू अत्यन्तै हर्षित भएको विद्यार्थी बताउँछन् । सामान्य खेती किसानी गर्ने परिवारकी उनले विद्यालयमा पढेर जानेको कुरा घरमा गएर अभिभावकलाई सिकाउदै खेती गर्दा उत्पादन पनि बढेको महशुस भएकाे छ ।

बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा कृषि तर्फको बाली विज्ञान विषयको प्राविधिक धारको विद्यालय सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बनेको शिक्षा शाखा प्रमुख कृष्ण चाैधरी बताउँछन् ।

ग्रामिण भेगमा रहेका छात्राहरुको उच्च शिक्षाको लागि घरबाट टाढा जानसक्ने अवस्था नहुँदा पढाइबीचमै छोड्न बाध्य हुनुपर्ने भएकोमा गाउँपालिकाले कक्षा १२ सम्मै पालिका भित्रै पढ्न पाउने व्यवस्था गरिदिएपछि उनीहरुको खुशी भएको चाैधरीले बताए ।

शिक्षा शाखा उपप्रमुख कमल केसीले विद्यालयमा पढेको विषयले घरमा व्यवहारिक कृषि कर्म गर्दै आएका आमा बुवालाई कम्पोष्ट मल बनाउने, विषादी बनाउने जस्ता सिप सिकाउन सहयोग पुगेको बताउँछन् ।

जिल्लाको अन्न भण्डार पालिकाको रुपमा पहिचान बनाएको नरैनापुर गाउपालिकाले कृषि क्षेत्रका प्राविधिक पालिकाबाटै उत्पादन गर्ने उद्देश्यले बाली विज्ञान विषयको कक्षा सञ्चालनमा ल्याएको नरैनापुर गाउपालिकाका शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत कृष्णकुमार थारु बताउँछन् ।
नरैनपुर गाउँपालिकाले आफ्नै ठाँउमा दक्ष प्राविधिक उत्पादन गर्ने उदेश्यले डाक्टर, इन्जिनियर र बिज्ञान बिषय पढ्न चाहनेलाई निस्शुल्क शिक्षाको व्यवस्था गर्ने कार्यक्रम पालिकाले सञ्चालनमा ल्याएको बताउँछन् गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह ।

उनले राज्यको हेपाह र पेलाह दृष्टिको कारण नरैनापुर जिल्लामै विकासमा ओझेलमा परेको बताए । उनले भने–‘हामीले शिक्षालाई विकासको पहिलो आधार बनाएर शिक्षा प्राथामिकतामा राखेका छौ । हामीले मात्र चाहेर हुने केही छैन । राज्यले पनि नरैनापुरलाई हेर्ने नजर फेर्नु पर्‍यो ।’

गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नवराज ओलीले पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर निशुल्क बस सञ्चालन गर्नु, छात्रबृत्तिका कार्यक्रम सञ्चालन गर्नु, निशुल्क साईकल बितरण गर्नुलगायतका महत्वाकांक्षि योजना सञ्चालन गरेको दाबी गरे । उनले पालिकाले प्रविधिक शिक्षा तर्फ उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीका लागि समेत छात्रबृत्ती उपलब्ध गराउने नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।

प्रकाशित मितिः     ९ असार २०८२, सोमबार १४:०६  |