कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरकाे बजेट कस्ताे छ ? हेर्नुस् पुर्णपाठ


सुर्खेत । कर्णाली प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रनगरले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेको छ ।

वीरेन्द्रनगरले आगामी वर्षका लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर उपप्रमुख निलकण्ठ खनालले सार्वजनिक गरेका हुन् ।

वीरेन्द्रनगर नगरपालिकाको १७ औं नगर सभामा, उप प्रमुख श्री निलकण्ठ खनालले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८२/०८३ को बजेट वक्तव्य

आदरणीय नगर सभाका अध्यक्ष तथा सदस्यज्यूहरु,

नेपालमा नयां संविधान- २०७२ घोषणा भए पश्चात मुलकको प्रशासनिक संरचनाको फेरबदल संगै संघीय संरचना अनुसार २०७९ साल बैशाख ३० गते स्थानीय तहको दोश्रो कार्यकालको लागि हामी निर्वाचित भएको ३ वर्ष  पुरा भएको छ।यसै सन्दर्भमा राष्ट्रिय एकता र अखण्डता कायम गरी सिंगो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनैतिक तथा सामाजिक आन्दोलन सहित कर्णाली प्रदेशको प्राप्तिमा शहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै विभिन्न आन्दोलनका कारण घाइते अपांग र वेपत्ता भएका ब्यक्तीहरु प्रति उच्च सम्मान प्रकट गर्दछु । साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्रस्थानमा रहनुहुने सम्पूर्ण अग्रजहरु प्रति सम्मान व्यक्त गर्न चाहन्छु।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको १७ औं यस गरिमामय नगरसभाको बैठकमा नगर उप प्रमुखको हैसियतले आ.ब २०८२/०८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा खुसी व्यक्त गर्न चाहन्छु ।

वीरेन्द्रनगरको वढ्दो शहरीकरणलाई अवसर र चुनौतीका रुपमा हेर्दै नगरलाई कर्णाली प्रदेशकै पहिलो उप महानगरपालिका बनाउन आधार तयार गर्ने उदेश्यका साथ नगरपालिकासंग भएको वित्तीय तथा संस्थागत क्षमताका आधारमा नगरपालिकालाई समृद्ध गराउन र नगरको अर्थतन्त्रलाई गतिशील तुल्याउँदै पुनरुत्थान गर्न सकिन्छ भन्‍ने दृढ विश्‍वासका साथ म आर्थिक वर्ष २०८२/०८३ को अनुमानित आय व्ययको विवरण सम्मानित सभासमक्ष प्रस्तुत गर्न चाहन्छु ।

यस नगरपालिकाको गत आ.व. ०८१।८२ का लागि विनियोजित बजेट मध्ये गत आ व ०८१।०८२ मा उक्त अवधिमा कूल खर्च ५७ प्रतिशत भएको छ जस्मा ८३.७५ प्रतिशत चालू र ३१.१ प्रतिशत पूजीगत खर्च भएको छ ।

चालू आर्थिक बर्ष २०८१।०८२ का लागि विनियोजित वजेटवाट २०८२ जेष्ठ मसान्तसम्म कूल खर्च ४५ प्रतिशत रहेको छ । जस्मा ७१ प्रतिशत चालू र २६ प्रतिशत पूजीगत खर्च गरी वजेटले परिलक्षित गरेका अधिकांश आयोजनाहरु कार्यान्वयनको अवस्था रही भूक्तानीको चरणमा रहदा कूल पूँजीगत खर्च प्रतिशत न्यून देखिएता पनि वडा तथा नगर स्तरका ९० प्रतिशत भन्दा वढी पूर्वाधार आयोजना तथा कार्यक्रमहरु कार्यान्वयन अवस्थामा रहेको जानकारी गराउन चाहन्छु ।

बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, नेपाल सरकारको सोर्हौ पञ्चवर्षिय योजना, संघीय सरकार तथा कर्णाली प्रदेश सरकारको बजेट वक्तव्य, कर्णाली प्रदेशको दोश्रो आवधिक योजना, दिगो विकासका लक्ष्य,  विभिन्न ऐन नियम तथा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ लगायतका कार्यविधिहरु, चुनावी घोषणापत्र र वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रमलाई महत्वपूर्ण आधारको रुपमा लिएको छु । यस नगरको दीर्घकालीन सोंच “शैक्षिक प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ समुन्‍नत वीरेन्द्रनगर” बाट निर्देशित हुँदै जनप्रतिनिधि, वुद्धिजिवी, पेशाविद् र आम नगरवासीबाट प्राप्त सुझावलाई समेत यथोचित महत्व दिएको छु ।

आदरणीय अध्यक्षज्यू एवं सदस्यज्यूहरु,

अब म नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ का लागि राजश्व तथा व्ययको अनुमान प्रस्तुत गर्न चाहन्छुः

सीमित स्रोत साधनले असीमित माग र बढ्दो आकांक्षालाई एकै पटक सम्बोधन गर्न नसकिने यथार्थमा नगरपालिकालाई नेपाल सरकार तथा प्रदेश सरकारवाट प्राप्त बजेट सिलिङ्ग र नगरको आन्तरिक आय  समेतलाई आँकलन गरी नगर प्रमुखवाट जारी भएका नीति तथा कार्यक्रमहरु प्राथमिकताका आधारमा कार्यान्वयन गर्नका लागि आर्थिक वर्ष २०८२/०८३ का लागि निम्नानुसार बजेट तर्जुमा गरिएको छ ।

बजेटको लक्ष्यः

          शैक्षिक, प्रशासनिक र पर्यटकीय शहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ अघि बढी वीरेन्द्रनगरलाई आर्थिक रुपले सम्पन्न,  भौतिक रुपले योजनावद्ध शहरी सुविधायुक्त, लैंगिक रुपमा महिला मैत्री,  सामाजिक रुपले समावेशी/सहभागितात्मक,  वातावरणीय रुपले स्वच्छ, सफा तथा व्यवस्थापकीय रुपले सुव्यवस्थित शैक्षिक, प्रशासनिक र पर्यटकीय शहरको रुपमा निर्माण गर्दै कर्णाली प्रदेशको ब्यवस्थित राजधानीका रुपमा विकास गर्ने लक्ष्य लिईएको छ ।

बजेटका उद्देश्यहरुः

अब म आर्थिक वर्ष २०८२/८३ को बजेटका उद्देश्यहरु उल्लेख गर्न चाहन्छु ।

पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा, सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि र शहरी सौन्दर्यताका साथ जीवनयापन सूरक्षित र वातावरणमैत्री ढंगवाट सहजता ल्याउने ।

स्वच्छ खानेपानी तथा सरसफाईमा नगरबासीको सहज पहुँचमा वृद्धि गर्दै नगरमा भएको खानेपानी समस्यालाई दीगो ब्यवस्थापनको संस्थागत ब्यवस्थापन थालनी गर्ने ।

कृषि तथा पशुपालन पेशा व्यवसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै महिलाहरुको संलग्नतामा विभिन्न उत्पादनमा नगरलाई आत्मनिर्भर उन्मुख वनाउने ।

नगरपालिकालाई प्रदेशकै आधारभूत शिक्षाका लागि गुणस्तरीय शैक्षिक गन्तब्य बन्ने आधार तयार गर्ने ।

गुणस्तरीय विद्यालय शिक्षामा सवै बाल बालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्ने ।

युवाहरुमा अनुशासन, सक्षमता र स्वाबलम्बनको विकास गर्न युवा प्रतिभा पहिचान तथा प्रबर्द्धनका कार्य गर्ने ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक शहरका रुपमा व्यवस्थित आथित्यता प्रदान गर्दे स्थानीय पर्यटन प्रवर्धनको अवसरका रुपमा लिने ।

कर्णाली प्रदेशवासीको गौरवको शहरका रुपमा विकास गर्ने ।

आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउनुका साथै महिला र बालबालिका विशेषज्ञ अस्पतालको व्यवस्थित सञ्चालन गर्ने ।

विद्युतीय सुशासनको क्रमशः विस्तार गर्दै लैजाने ।

आगलागी नियन्त्रणको थप क्षमताका लागि संस्थागत विकास गर्दै विपदजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारीमा रहने ।

उद्यम व्यवसाय विकासमा महिलाहरुको अर्थपूर्ण सहभागितामा बृद्धि गरी आय आर्जनमा क्रियाशील गराउने ।

राजस्वको दायरा फराकिलो बनाउदै घर दैलो सेवा तथा विद्युतीय राजस्व संकलन प्रणाली मार्फत नगरको आन्तरिक आय वृद्धि गर्ने ।

वातावरणमैत्री ढंगवाट फोहर मैला व्यवस्थापनको लागि आवश्यक पूर्वाधारको आधार तयार गर्ने ।

नगरको हरियाली प्रवर्धन कार्यलाई प्रवर्धन गर्ने ।

समय सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्ने ।

संघीय सरकार, प्रदेश सरकारका नीति तथा कार्यक्रम र विकास साझेदार तथा सहयोगी निकायहरुसंग सहकार्य गरी विभिन्न योजना तथा कार्यक्रम संचालन गर्ने ।

सभाध्यक्षज्यू तथा सभा सदस्यज्यूहरु

माथि प्रस्तुत भएका उद्देश्यहरु पूरा गर्नका लागि देहाय बमोजिमका क्षेत्रगत नीति अबलम्बन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

क) राजश्व तथा वित्त व्यवस्थापन तर्फ

१.  आर्थिक वर्ष ०८२/०८३ का लागि स्वीकृत कर दस्तुरलाई समय सापेक्ष संशोधन सहित र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुट एवं सहुलियत दिने नीति लिईनेछ । आगामी आर्थिक वर्ष २०८२/०८३ मा कर प्रणालीमा सुधार गरी रु. ५१ करोड ६३ लाख ५० हजार  संकलन गरिने लक्ष्य लिइएको छ ।

२.  नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवम् शुल्क तिरेको अनुभुति हुने गरी कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।

३.  नगरपालिकाले कानुन बमोजिम लिने घरवहाल कर, ब्यवसायकर जस्ता नगरका प्रमुख श्रोतका रुपमा रहेका करहरु प्रत्येक वडा कार्यालयवाट टोल विकास संस्था तथा निजी क्षेत्रसंगको सहकार्यमा कर संकलन गरिनेछ ।यसरी वडाबाट संकलित आन्तरिक आयका आधारमा वडास्तरमा विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न विशेष प्राथमिकता दिने गरी राजस्व संकलन अभियान संचालन गर्नका लागि यथोचित बजेट विनियोजन गरिएको छ ।

  ख) पूर्वाधार विकास तर्फ

४.  उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरीको पानी लिफ्टिङ्ग आयोजना अगाडि वढाउन संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरुसंग सहकार्य गर्न आवश्यक रु. ११ करोड ६० लाख म्याचिङ फण्डको ब्यवस्था गरिएको छ ।

५.  वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ,  खानेपानी पाइप लाइन विस्तार तथा पुराना आयोजनाहरुको मर्मत संभार र विस्तार तथा खानेपानी प्रणाली सुधारको लागि वडास्तरीय कार्यक्रम मार्फत यथोचित बजेट विनियोजन गरिएको छ ।

६.  चालू आ.ब. बाट सुरु भएका राजधानी केन्द्रित शहरी सौन्दर्यताका पूर्वाधार घण्टाघर पार्क   लगाएत अन्य पार्क एवं खुल्ला क्षेत्र सजावट तथा पार्किड स्थल निर्माणका आयोजनाका साथै विभिन्न वडामा संचालित नगर महत्वका आयोजनाहरुलाई क्रमागतमा राख्दै क्रमागत आयोजना तर्फ २२ करोड ३४ लाख बजेट विनियोजन गरेको छु ।

७. शहरी पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा,  सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा कम्तिमा एक वटा ५० लाख भन्दा ठूला नगर गौरव पूर्वाधार आयोजना हुने गरी बजेट ब्यवस्था मिलाएको छु ।

८.  नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउनको लागि यस आर्थिक वर्षमा नगर बस खरिद गरि संचालनका लागि रु. २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

९. राजधानी केन्द्रित ट्राफिक लाईट, रोड मार्किङ, धर्म काँटा, चोक साधार, फुटपाथ ब्यवस्थापन, सि.सि. क्यामरा, हाई मास लाईट, आई.टि. जोन, जस्ता शहरी पूर्वाधार निर्माणका लागि १२ करोड । त्यस्तै नगरपालिकामा नागरिकका तर्फवाट आएका मागलाई सम्वोधन गर्न पूर्वाधार तर्फ थप २९ करोड ७९ लाख बजेट ब्यवस्था गरेको छु ।

१०. कर्णाली प्रदेश सरकार र संघिय सरकारवाट हस्तान्तरित पूर्वाधार आयोजनालाई ब्यवस्थापन गर्न सक्षम कर्मचारी तथा संस्थागत विकासका लागि यथोचित बजेटको ब्यस्थापन समेत गरेको छु ।

ग) सामाजिक विकास तर्फ

११.  यस नगरपालिकालाई शैक्षिक हबको गन्तव्यका रुपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षामा सवै बालबालिकाहरुको समतामुलक पहुँच सुनिश्चित गर्न सशर्त बाहेक ५ करोड ५९ लाख ६६ हजार विनियोजन गरेको छु ।

१२.  नगरपालिकाका युवाहरुको क्षमता विकास गर्न तथा युवाहरुलाई नगर समृद्धिको अभियानमा परिचालन गर्नका लागि   युवा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नका लागि रु. ६० लाख विनियोजन गरेको छु ।

१३ समग्र खेलकुद क्षेत्रको प्रबर्धन सहित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने कार्यक्रमसहित युवा तथा खेलकुद क्षेत्रमा कुल ६१ लाख २५ हजार विनियोजन गरेको छु ।

१४.  आधारभूत स्वास्थ्य सेवाको गुणस्तरमा बृद्धि र सुलभता ल्याउने स्वास्थ्य संस्था र स्वयंसेविका लगाएत जनशक्तीको क्षमता विकास तथा गुणस्तरीय सेवा प्रवाहकालागि सशर्त बाहेक १ करोड ५९ लाख ५८ हजार र महिला बालबालिका नगर अस्पताललाई ब्यवस्थित ढंगवाट सञ्चालन गर्न रु ३७ लाख ५० हजार बजेट विनियोजन गरेको छु ।

१५ हिंसा पिडित महिलाका लागि आश्रय दीन तथा उनिहरुको मनोवल उच्च वनाउन सेफहाउस संचालन तथा ब्यवस्थापनका लागि २० लाख बजेटको ब्यवस्था गरेको छु ।

१६.  विकास प्रकृयामा महिला, दलित, जनजाति, आदिवासी र अपाङ्गता भएका व्यक्तिहरुको पहुँचमा बृद्धि गर्दै अर्थपूर्ण सहभागितामा बृद्धि गराउन, युवाहरुमा अनुशासन, सक्षमता, स्वावलम्वन, भविष्यप्रति सम्वेदनशीलताको विकास गर्न विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि सशर्त बाहेक नगरस्तरीय बजेट ७५ लाख सहित वडा स्तरमा समेत यस प्रकारका कार्यक्रम संचालन गर्न यथोचित वजेटको ब्यवस्था मिलाएको छु ।

घ) आर्थिक विकास तर्फ

१७. कृषि व्यवसायमा महिलाहरुको सहभागितामा बृद्धि गर्दै कृषि तथा पशुपालन पेशा व्यावसायिक रोजगारमूलक तर्फ उन्मुख गराउनुका साथै देशमा उत्पन्न हुन सक्ने खाद्य संकटसंग सामना गर्दे नगरलाई विभिन्न उत्पादनमा आत्मनिर्भर वनाउन क्षमता विकास तथा आयआर्जन कार्यक्रम संचालन गर्न रु. १ करोड ३० लाख सहित कृषि तथा पशु विकास तर्फ, उद्यम विकास र वडातहवाट कार्यक्रम संचालन गर्न यथोचित वजेट ब्यवस्था  गरेको छु ।

१८. चालु आर्थिक बर्षभित्र नगरभित्रका भूमीहिनहरुलाई पूर्जा वितरणको कार्य गर्न सो को व्यवस्थापनका लागि रु. २५ लाख विनियोजन गरेको छु ।

१९. सहकारी, घरेलु, उद्योग, पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि नगर स्तरीय बजेटवाट रु. ३० लाख व्यवस्था गर्दै प्रत्येक वडामा यस क्षेत्रमा लगानी गर्न यथोचित बजेटको विनियोजन गरेको छु ।

ङ) वन, वातावरण तथा विपद् व्यवस्थापन

२०. श्रोतमा नै फोहरको वर्गीकरण गर्दे वातावरणमैत्री ढंगले फोहर मैला व्यवस्थापनको आधार तयार गर्न रु ४ करोड ५० लाख विनियोजन गरेको छु ।

२१. नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्य प्रवर्धन गर्न नगर तथा वडास्तरमा यथोचित वजेट ब्यवस्था मिलाएको छु ।

२२. विपदजन्य जोखिम न्यूनिकरणका लागि पूर्व तयारीमा रहन यथोचित बजेट विनियोजन गरेको छु ।

२३. वन वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संग समन्वय एवं सहकार्य गर्ने गरी वडा तथा नगर स्तरवाट कार्यान्वयन हुने गरी यथोचित बजेट विनियोजन गरेको छु।

च) सार्वजनिक सेवा तथा क्षमता विकास

२४. समय सापेक्ष संगठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख शहरी सुविधा र सुशासन कायम गर्न रु. १ करोड १० लाख विनियोजन गरेको छु ।

२५. घर नम्वरीड, नगरको स्थानगत आवधिक योजना छपाई,  प्रोफाईल निर्माण जस्ता नगर महत्वका योजनाका लागि रु. ४० लाख वजेट ब्यवस्थाप गर्दै सुशासन प्रवर्द्धन, कर्मचारी पदाधिकारीहरुको क्षमता विकास, सञ्चारकर्मीको प्रोत्साहन तथा मिडिया परिचालन गर्न  र न्यायिक सेवा व्यवस्थापन गर्न यथोचित बजेटको व्यवस्थापन गर्दै सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्रमा वडा तथा नगर स्तरवाट कार्यान्वयन हुने गरी सार्वजनिक सेवा तथा क्षमता विकास तर्फ यथोचित वजेटको विनियोजन गरेको छु ।

२६. नगरको सेवालाई नियमन गर्न नगर प्रहरीको प्रभावकारी परिचालन गर्न चालूतर्फको बजेटबाट समेत यथोचित बजेट ब्यवस्था गरेको छु ।

२७. कर्णाली प्रदेशका सबै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरुको प्रदेश स्तरीय सम्मेलन सहित न्यायीक पहुंचमा सुधार गर्नका लागि रु ६० लाख विनियोजन गरेको छु ।

आदरणीय नगर सभाका सभा अध्यक्षज्यू तथा सदस्यज्यूहरु,

अव म आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयको लागि स्रोत व्यवस्थापनको अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु । आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत निम्न अनुसार रहेको छ ।

१.    संघीय वित्तीय सामानीकरण अनुदान रु. २४ करोड  २४ लाख

२.    संघीय सर्शत अनुदान रु. २ अर्व २० करोड ८ लाख

३.    संघीय राजश्व बाँडफाँड रु. २० करोड ५७ लाख ९३ हजार

४.    प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु. ३ करोड ३४ लाख ५३ हजार

५.    प्रदेश सशर्त अनुदान रु. ३७ करोड ६१ लाख ३६ हजार

६.    घर, जग्गा, रजिष्टेशन तथा मनोरञ्जन रु. १५ करोड

७.    दहत्तर वहत्तर शुल्क रु. २ करोड ५० लाख

८.    नगरपालिकाको आन्तरिक आय रु.  ५१ करोड ६३ लाख ५० हजार

९.    आर्थिक बर्ष २०८१/०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात  ४१ करोड २७ लाख ८३ हजार

१०. सामाजिक सुरक्षा अनुदान रु. ४० करोड

 कुल बजेट ४ अर्ब  ३८ करोड २७ लाख १५ हजार मात्र आगामी आर्थिक बर्षका लागि प्रस्ताव गरिएको छ ।

यसका अलावा सम्मानित नगर सभामा विकास साझेदार तथा गैर सरकारी संघ संस्था तर्फवाट पेश भएको रु ४० करोडको आयोजना तथा कार्यक्रम समेत स्वीकृतिका लागि प्रस्ताव गरेको छु ।

सभाध्यक्ष एवम् नगर सभा सदस्यज्यूहरु,

अब म आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम कार्यान्वयनको लागि स्रोत व्यवस्थापनको विनियोजन प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु. ३२ करोड ६५ लाख

खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ्ग फण्ड (भेरी पम्पिङ्ग आयोजना) सञ्चालन व्यवस्थापन एवम् सहकार्यका लागि रु. ११ करोड ६० लाख

वडास्तरीय योजना तथा कार्यक्रमका लागि रु. १९ करोड २८ लाख

नगर प्रमुखबाट पेश भएका नीतिको कार्यान्वयनका लागि नगरस्तरीय क्षेत्रगत कार्यक्रमहरु संचालन गर्न रु. १ अर्ब २५ करोड ९२ लाख ७९ हजार बिनियोजन गरिएको छ

यसरी आर्थिक बर्ष २०८२/०८३ का लागि चालू तथा पूँजीगत खर्च गर्नका लागि कुल बजेट ४ अर्ब  ३८ करोड २७ लाख १५ हजार विनियोजन गरेको छु।

जसमा आर्थिक बर्ष २०८२/०८३ मा चालू, पूँजीगत र वित्तीय व्यवस्था यस प्रकार रहेको छ ।

क्षेत्रबजेट रकममा रु.प्रतिशतचालू१,५९,४२,३०,०००।००३६.३७(१ अर्ब ५९ करोड ४२ लाख ३० हजार मात्र)पूँजीगत२,७८,८४,८५,०००।००६३.६३(२ अर्व ७८ करोड ८४ लाख ८५ हजार मात्र)वित्तीय ब्यवस्था०

आदरणिय नगर सभाका सभा अध्यक्षज्यू तथा सभा सदस्यज्यूहरु,

यस बजेटको कार्यान्वयनबाट विगतको अथक प्रयासबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै, सबै नगरबासीका लागि अति आवश्यक पूर्वाधार निर्माण,  सामाजिक न्याय,  आधारभुत शिक्षा एवं स्वास्थ्य सेवामा पहुँच लगायत शहरी सौन्दर्यमा टेवा पुगी नगरपालिकाको सबै क्षेत्रको दिगो एवम् सन्तुलित विकासमा सहयोग पुग्ने विश्वास लिएको छु ।

अन्तमा,

बजेट कार्यान्वयनमा विगतमा झै सबै जनप्रतिनिधिज्यूहरु, राजनीतिक दल,  निजी व्यावसायिक क्षेत्र, संघ संस्था एवं नगरबासी सम्पूर्ण दिदीबहिनी र दाजुभाईहरुबाट सहयोग हुने अपेक्षा लिएको छु। बजेट तर्जुमा गर्ने क्रममा महत्वपूर्ण सल्लाह सुझाव दिनुहुने सबै राजनैतिक दल, जनप्रतिनिधि, निजी व्यावसायिक क्षेत्र, संघ संस्था सम्पूर्ण नगरवासी दाजुभाई दिदी बहिनी, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण कर्मचारी साथीहरु लगायत पत्रकार जगत सवैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै बजेट कार्यान्वयनमा समेत सबैबाट पूर्ण रुपमा सहयोग हुने अपेक्षा लिएको छु ।

धन्यवाद ।

प्रकाशित मितिः     १० असार २०८२, मंगलवार १९:१७  |