१४ करोडभन्दा बढी रकमको शेयर,२० लाख नगद


नेपालगन्ज । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले १४ करोडभन्दा बढी रकमको शेयर रहेको खुलाएका छन् ।

उनको सानिमा बैंक, सानिमा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जीलगायत कम्पनीमा १४ करोड ५ लाख ६७ हजार रुपैयाँ शेयर रहेको पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देखिएको छ ।

सार्वजनिक पदधारण गरेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्थाअनुरूप पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा शेयरका साथै उनीसँग २० लाखभन्दा बढी नगद रहेको पनि खुलाएका छन् ।

पौडेलले श्रीमती प्रतिभा शर्मा र आफ्नो नाममा गरी २० लाखभन्दा बढी विभिन्न बैंकमा बचत रहेको उल्लेख गरेका छन् भने सानिमा बैंकमा डलर खातामा साढे ५ हजार अमेरिकी डलर रहेको पनि उल्लेख गरेका छन् ।

त्यसैगरी, आफूसँग ४५ तोला सुन र नवलपरासी, ललितपुरमा घरजग्गा रहेको उल्लेख गरेका छन् । पौडेलका अनुसार १ करोड ५५ लाख रुपैयाँको ललितपुरको जग्गाको मूल्य रहेको छ भने नवलपरासीको जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको छ । त्यसैगरी, श्रीमती शर्माको नाममा ४४ लाख रुपैयाँ पर्ने सुजुकी कार रहेको सम्पत्ति विवरणमा खुलाएका छन् ।

प्रकाशित मितिः     ११ असार २०८२, बुधबार १३:४२  |