नेपालगन्ज । कर्णालीकाे उर्जा संकट समाधानका लागि महत्त्वपूर्ण कोहलपुर – सुर्खेत १३२ केभि प्रसारण लाइन बिस्तारमा देखिएको समस्या समाधान गर्न उच्चस्तरीय पहल भएको छ ।
उक्त प्रसारण लाइन निर्माणका क्रममा बाँकेकाे बैजनाथ-४ स्थित बानियाभारमा अवरोध सिर्जना भएको छ । स्थानीयले ‘केही’ मुद्दा सम्बाेधन नहुन्जेल काम हुन नदिने चेतावनी दिदै काम राेकेका छन् । स्थानीयकाे अवरोधका वीच अन्यत्र काम सम्पन्न भइसक्दा समेत त्यहाँ शुरु हुन सकेकाे छैन ।
त्यसैलाई मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रमान शाक्य समस्या समाधानका लागि सुर्खेत पुगेका छन् । त्यहाँ उनले कर्णालीका मुख्यमन्त्री यमलाल कँडेललाई बुधवार भेट गरे ।

‘कर्णालीवासीले भोग्नु परेको विद्धुत समस्या र कोहलपुर – सुर्खेत १३२ केभि प्रसारण लाइन बिस्तारमा देखिएको समस्याबारे मैले यसअघि उहाँलाई पटक / पटक जानकारी गराउँदै आएको थिए ।’- मुख्यमन्त्री कँडेलले भने ।
निर्माणाधीन १३२ केभि प्रसारण लाइनमा देखिएको अवरोध हटाएर काम सम्पन्न गर्नेबारे प्राधिकरणले सक्दो तदारुकता देखाएको र आगामी असोज महिनासम्म कोहलपुर – सुर्खेत १३२ केभि प्रसारण लाइनको काम पुरा हुने शाक्यले बताएको कँडेलकाे भनाइ छ ।