नेपालगन्ज । गत मंसिरदेखि बर्दिया जिल्लाको गुलरिया नगरपालिका–८ मा तीन अर्ब ९६ करोड लगानीमा सेरामिक टायल उद्योग संचालनमा आयो । उसकाे उत्पादन देशभर खपत भइरहेकाे छ ।
उद्योगले वार्षिक दुई करोड ८० लाख सेरामिक टायल उत्पादन गर्ने लक्ष्य लिएको छ । बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लामा तयार भइरहेका अत्याधुनिक भवन र घरका लागि टायलको माग अत्यधिक बढ्दै गएकाले उद्योग संचालनमा ल्याइएको हो ।
हाल सेरामिक टायल विभिन्न देशबाट आयात हुने गरेको हुँदा महँगोसमेत पर्ने गरेका छन् । सो उद्योगले सेरामिक टायलको आयात विस्थापन गर्ने उद्देश्य राखेकाे छ ।
पश्चिममा सबैभन्दा धेरै उद्योग बाँकेमा छन् । त्यसमा पनि ठूलो उद्योग हो -अम्बे स्टिल । अम्बे ग्रुप नेपालको ठूला व्यवसायिक समूहहरुमध्ये एक हो, जसको वार्षिक कारोबार ४००० करोडभन्दा बढी रहेको छ। जय अम्बे स्टील्स लिमिटेड अम्बे ग्रुपको दोस्रो स्टील कम्पनी हो। २०७६ सालमा स्थापना भएको यस स्टील उद्योगको उत्पादन क्षमता १,००० टन प्रतिदिन रहेको छ। बाँके जिल्लाको नेपालगन्जमा अवस्थित यस उद्योगले टीएमटी स्टिल, एमएस बिलेट, एमएस फ्लाट, एमएस स्क्वायर, तोरकारी, र ग्याबियन बक्स लगायतका निर्माण सामग्री उत्पादन गर्छ।
शोभाकर (हरी) न्यौपानेको अध्यक्षतामा रहेको जय अम्बे स्टील्सले पश्चिम नेपालको ८०% स्टील बजारलाई सेवा पुर्याउँदै आएको छ। यसले गुणस्तरीय र भरपर्दो निर्माण सामग्री उपलब्ध गराएर नेपालको निर्माण क्षेत्रलाई सुदृढ बनाएको छ र स्टील आयातमा निर्भरता घटाउन मद्दत गरेको छ।
कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भइसकेकाे छ ।सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि रहेको छ । सुदूरपश्चिम प्रदेशमा बन्ने केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि ठूलो उपलब्धि हुने आयोजकले बताएको छ ।
आइएमई समुहले काठमाडौँको चन्द्रागिरि देखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको छ । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेका बताए ।
लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् ।
कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् ।
नेपालमै चितवन पछिकाे आधुनिक र ठूलाे ह्याचरी उद्याेग चलाइरहेका छन् सुर्खेतका तीन दाजुभाइ पुर्ण, राम र लक्षमण पाण्डेले ! कर्णाली प्रदेशको राजधानी सुर्खेतमा करिब २५ करोडको लगानीमा २५ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन । हजारौं जनालाई अप्रत्यक्ष रुपमा रोजगारी दिदै आएका छन ।

अभाव र विकटाकाे नजरबाट हेरिने पश्चिम यसरी ठूला उद्योग संचालन भइरहेका छन् । माथि उल्लेख गरिएका उद्योगहरु त उदाहरण मात्रै हुन् । पश्चिम नेपालमा ठुला औद्योगिक समूहको आर्कषण बढेकाे छ।
पूर्वमा मात्र केन्द्रीत उद्योगहरु एकपछि अर्को गर्दै पश्चिममा खुल्न थालेका छन् । राजनीतिक स्थिरता पछि देशभर लगानीको वातावरण बन्दै गएको छ । त्यसको प्रत्यक्ष फाईदा बाँकेलगायत पश्चिमका सबैजसाे जिल्लालाई भएको छ ।
ठूला उद्योग स्थापना हुन थालेपछि पश्चिम लगानीका लागि अब्बलक्षेत्र हो भन्ने सन्देश देशभर प्रवाह भएको नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली बताउँछन् । द्वन्द्वकालमा पश्चिमले गुमाएका पुराना उद्योग पुनस्र्थापना भएको र नयाँ स्थापना हुनेक्रम तीव्र गतीमा बढेको ओलीको बुझाईछ ।
तर पछिल्लो समय उत्पन्न आर्थिक संकटकाे सामना भने गर्नुपरिरहेकाे छ । देशका ठूला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र उर्जा लगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । पश्चिम र त्यसमा पनि बाँके औद्योगिक हबका रुपमा विकास भइरहेको छ,’- ओली भन्छन् । बाँके जिल्ला लगानीकर्ताका लागि आफैमा सुनौलो ठाउँ भएको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अब्दुल वाहिद मन्सुरीले बताए ।
राजनीतिक अस्थिरता र उर्जा लगायत समस्याले लगानीकर्ता आउन हिच्किचाए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा बाँके भएकोले पछिल्लो समय ठूला लगानीकर्ता आकर्षित भएको उनले बताए । ‘अहिले अवस्था सुध्रिएको छ । एकपछि अर्को ठूलो उद्योग खुल्ने क्रम जारी छ,’ मन्सुरीले भने, ‘यो वातावरणलाई संधै यस्तै बनाईराख्न जरुरी छ ।’
बाँकेमा जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रीटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाईक्लिङ्ग ईण्डष्ट्रिज, विकास फ्लोर मिल जस्ता कयौं उद्योग संचालनमा छन् । अनुमति पाएका मध्ये अधिकांस उद्योग संचालनमा छन् । केही उद्योगले पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएका छन् । केही महिनामा पूर्वाधार निर्माणको काम सक्ने उद्योगीले जनाएका छन् ।
संघीयता पछि बनेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आवश्यक पर्ने सामग्री पठाउने उपयुक्त ठाउँ बाँके भएको छ । ति दुई प्रदेशसँगै कर्णाली लाई चाहिने बस्तुको हिस्सा ओगट््न कुनै पनि उद्योगले बाँकेमा औद्योगिक प्लान्ट राख्नै पर्ने बाध्यता भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा दैनिक जसो हरेक उत्पादनको बजारक्षेत्र बढ्दै गएको छ । विकास निर्माण तीव्ररुपमा भइरहँदा निर्माणका सामग्रीको माग ह्वात्तै बढेको छ ।
पहाडी र हिमाली क्षेत्रमा बढ्दै गएको शहरीकरणले उपभोग्य सामग्रीको बजार थपिदैछ । त्यस्तो अवस्थामा पूर्वमा उत्पादन भएका सामग्री पश्चिममा ल्याएर बिक्री गर्दा ढुवानी धेरै रकम खर्चिनु भन्दा यही उद्योग खोलेर उत्पादन गर्नु उद्योगीका लागि दीर्घकालिनरुपमा फाईदाजनक हुने देखेर उद्योगीहरु बाँकेका विभिन्न स्थानमा उद्योग स्थापना गर्न तम्सिएको शिखर प्लाईउड प्रालिका प्रोप्राइटर चम्पालाल बोथराले बताए ।
ठूलो स्केलमा आफ्ना उत्पादन बिक्री गर्ने र पश्चिममा बजारको राम्रो सम्भावना देखेर उद्योगीले बाँकेलाई उद्योग संचालनका लागि रोजेको उनले बताए । ‘बाँकेमा लगानीकर्ताहरु आकर्षित हुनुको अर्को कारण सहजरुपमा जग्गा प्राप्त गर्न सकिने हो,’ उनले भने, ‘अन्य ठाउँभन्दा सहजरुपमा जग्गा उपलब्ध हुने भएका कारण पनि यहाँ लगानीकर्ताको आर्कषण देखिन्छ ।’ भारतसंग सीमा जोडिएको र एकीकृत भन्सार जाँच चौकी निर्माणको क्रममा रहेकोले बाँकेलाई उद्योगीले रोज्न थालेको हुन ।
नेपाल–भारत जोड्ने रेल र पूर्व–पश्चिम रेल संचालनमा आए त्यसले आयात निर्यातमा समेत फाइदा पुग्ने दूरदृष्टि राखेर यहाँ उद्योग संचालन गर्न उद्योगीहरु बाँकेलाई उपयुक्त स्थानको रुपमा देखेको परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलाई मध्यनजर गरि सरकारले बाँकेको नौवस्तामा प्रदेश कै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र निर्माणको काम शुरु गरिसकेको छ ।