जनताले मागिरहे स्थायी तटबन्ध,सरकार गरिरहन्छ अस्थायी तटबन्ध (भिडियो सहित)


नेपालगञ्ज । निरन्तरताकाे वर्षासंगै राप्ती नदीकाे बहाव उच्चस्तरमा पुगेकाे छ । राप्तीसाेनारी र नरैनापुरकाे ‘तल्लाे भेग’का स्थानीय बाढीकाे त्रासमा छन् । कतिबेला बाढी गाउँघरमा पस्ने हाे ? चनाखाे भएर बस्नुपरेकाे छ । बाढीले धेरै पटक यी गाउँमा धनजनको क्षति पुर्‍याइसकेकाे छ । त्यसैले आँकाशमा कालाे बादल मडारिदा पनि स्थानीय रातभर सुत्न सक्दैनन् ।

ठिक यति नै बेला ‘जनताकाे तटबन्ध कार्यक्रम’ मार्फत राप्ती सोनारी गाउँपालिकाको खल्ला झगडिया क्षेत्रमा आपतकालीन तटबन्ध निर्माण सुरु गरिएको छ । जहाँ २०७९ असोजमा राप्ती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो । त्यसकाे दुई बर्षपछि  जनताको तटबन्ध कार्यक्रम लमहीले बासबाट (बेम्बोपाइलिङ प्रविधि)बाट तटबन्ध गरिरहेकाे छ ।

स्थायी तटबन्धका लागि हारगुहार गरिरहेका स्थानीय याे देखेर उदेक मानिरहेका छन् । झारा टार्ने उदेश्यले तटबन्धकाे काम भइरहेकाे उनीहरुको भनाइ छन् । उनीहरु भन्छन्,-‘यस्ता संवेदनशील बिषयलाई जनताकाे तटबन्धले हल्कारुप लियाे । एक त अस्थायी तटबन्ध त्याे पनि नदी उर्लिसकेपछि गर्नु कत्तिको जायज हाेला ?’

नरैनापुर-६ का सामाजिक अगुवा साेहनलाल यादव भन्छन्,-‘स्थायी तटबन्ध गर भनेर हारगुहार गरिरह्याै तर सरकारले सुनेन् । उल्टाे मध्य असारमा अस्थायी तटबन्ध गरिरहेकाे देखिन्छ । त्यसकाे कुनै औचित्य छैन ।’ असारे बजेट सक्ने र नियमित कामकाे दायित्व पूरा गर्न जनता तटबन्ध कार्यक्रमले काम गरिरहे पनि स्थानीयकाे आवाज उसले पूरा नगर्ने स्थानीयकाे भनाइ छ । स्थानीय रमेश यादव भन्छन्,-‘यस्ता अस्थायी तटबन्ध त पहिला पनि हुन्थ्याे । बर्षामा लगाउँछन्,बर्षामै नदीमा बगिहाल्छ ।’ यादवले सुख्खायामसम्म केही नदेख्ने निकायले मध्य असारमा किन काम शुरु गर्छन् भने आफूले बुझ्न नसकेकाे बताए ।

जनताको तटबन्ध कार्यक्रमका आयोजना प्रमुख डा. नारायण सुवेदी सहितका प्राविधिक अस्थायी तटबन्ध बनाउन जुटेका छन् । राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धनमा २०७९ असोज महिनामा आएको बाढीले क्षति पुर्‍याएको थियो ।

भत्किएको तटबन्धन निर्माणका लागि गाउँपालिका अध्यक्ष, प्रदेश र संघीय सांसदहरूले पटक-पटक निरीक्षण तथा अवलोकन गरेपनि काम सुरु हुनसकेको छैन । सांसद सूर्य ढकालले राप्ती नदीको तटबन्धनको विषयमा आफूले सरकार र सदनमा समेत कुरा उठाएको बताए ।

प्रकाशित मितिः     १७ असार २०८२, मंगलवार ०८:०६  |