नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाकाले कुपोषणमुक्त अभियान थालेको छ । पोषणमैत्री स्थानीय शासन प्रवर्धन सम्बन्धि सरोकारवालासंगग पालिकास्तरिय अभिमुखिकरण सम्पन्न समेत गरिसकिएको छ ।
कार्यक्रम सम्पन्न भइसकेपछि नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पोषण विशेष कार्यक्रम सुरु गरेको हो ।
बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी केसीले बताउनुभयो ।
यो कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगायतका विषयमा तथ्याङ्क राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखापरेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।
आमाले राखेको तथ्याङ्कका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गाउँपालिकाले गर्नेछ । बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखाप्रमुख केसीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गराउन यहाँका सबै वडाका स्वास्थ्य स्वयम्सेविका, आमा समूह, महिला समूहबाट सुझाव सङ्कलन गरेर काम गरिरहेको पालिका अध्यक्ष डम्बर बिक तुफानले जानकारी दिनुभयाे ।
उहाँले भन्नुभयाे-, ‘कार्यक्रमको मुख्य उद्देश्य समाजमा हुने कुपोषणलाई हटाएर स्वास्थ्य नागरिक उत्पादन गर्ने हो, यो कार्यक्रमले बालबालिकामा हुने कुपोषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ, बालबालिकालाई स्वास्थ्य र मानसिक रुपमा सक्षम बनाउन सहयोग पुग्छ, शिशु जन्मेपछि उसको तौल, मोटाइलगायत उसको वृद्धि विकासको रेकर्ड राख्छौँ, त्यो रेकर्डका आधारमा बच्चाको स्वास्थ्य अवस्था हेर्छौं ।’

गाउँपालिकाका बालबालिकालाई पर्याप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शून्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष तुफानले जानकारी दिनुभयाे ।
नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उहाँको भनाइ छ । स्थानीयलाई सहज रुपमा सेवा प्रदान गर्न नीति तथा कार्यक्रम नै बनाएको अध्यक्ष तुफानले जानकारी दिनुभयो ।
हाल पालिकाले सञ्चालन भइरहेको पोषणको कार्यक्रमले बालबालिकाको स्वास्थ्य क्षेत्रमा निकै ठूलो योगदान पुग्ने उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।
यो कार्यक्रमलाई नमूना कार्यक्रमका रुपमा सञ्चालन गरेर सफल बनाउने उपाध्यक्ष मल्लले जानकारी दिनुभएको छ ।
महिलाहरुको हक अधिकार, स्वास्थ्य, सुविधा तथा क्षमता विकास क्षेत्रमा गाउँपालिकाले चरणबद्ध रुपमा काम गरिरहेको गाउँपालिका उपाध्यक्ष मल्लले बताउनुभयाे ।
बालबालिका तथा महिलाको समस्याको विषयमा सरोकारवाला पक्षको सल्लाहअनुसार काम गरिरहेको उपाध्यक्ष मल्लको भनाइ छ ।