‘बिज्ञापन बजार’प्रति अनुदार छ बाँकेकाे नीजिक्षेत्र


 

नेपालगन्ज । पश्चिमकाे आर्थिक केन्द्र बाँकेमा ठूल्ठुला उद्योग,कलकारखाना खुलेका छन् । तर बिज्ञापन सम्बन्धि अस्पष्ट नितिका कारण यहाँ संचालनमा रहेका संचारमाध्यमले नगन्य मात्रामा बिज्ञापन पाइरहेका छन् ।

यि उद्योग,कलकारखाना मध्ये अधिकांसले बिज्ञापन नै दिदैनन् । दिए नै छन् भने त्यसलाई बिज्ञापनका रुपमा होइन ‘चन्दा’का रुपमा दिने गरेका छन् जुन संचारगृहकाे व्यवसायिक मर्यादा बिपरित हाे ।

नेपालगन्जमा लामाे समयदेखि मिडिया संचालन गर्दै आएका एकजना संचारकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भन्छन्,-‘मैले एउटा उद्योगसंग बिज्ञापनकाे प्रस्ताव गरे । उहाँ सकारात्मक त हुनु भयाे तर बिज्ञापन होइन चन्दा  (बिज्ञापन नछाप्ने तर पैसा लिने) दिन ! म‌ैले बिज्ञापन नहाली पैसा लिनु त गैरव्यवसायिक हुन्छ भनेर उहाँको कुरा मानिनन् ।’

ती पत्रकारहरुका अनुसार,त्यस्ता धेरै उद्योगी छन् जाे बिज्ञापन होइन बरु चन्दा दिन तयार हुन्छन् । ‘एउटालाई बिज्ञापन दियाे भने धेरै आउँछन् भन्ने उहाँहरुको बुझाइ रहेछ । त्याे भन्दा बिज्ञापन नछापेरै पैसा दिने निति बनाएको जस्ताे देखियाे ।’ ती पत्रकारले भने,-‘खासमा त्याे उद्योगीहरुको बुझाइको समस्या हाे । तपाईंको उद्योगलाई बिज्ञापन दिन आवश्यक छ वा छैन ? छ भने कतिकाे छ ? कुन मिडियामा दियाे भने त्यसले फाईदा गर्छ भन्ने अध्ययन गरेर आफ्नो आवश्यकताकाे आधारमा बिज्ञापन दिने हाे । तपाईलाई बिज्ञापन दिन आवश्कता छैन तर धेरै मिडियाले प्रस्ताव ल्याएका छन् भने नाई भन्न सक्नुपर्‍यो !’

जसरी उद्योगीले आफ्नो सामान बेचेर पैसा कमाउँछन् त्यसैगरी बिज्ञापनका आधारमा संचारगृहले आम्दानी गर्ने हाे । अर्थात् बिज्ञापन संचारमाध्यमकाे ‘बिजनेश’ हाे । त्यही ‘बिजनेश’काे ‘मार्केटिङ’ गर्दा ‘धेरै मिडिया’ले प्रस्ताव गरेर ‘टाउकाे दु:खाए’ भन्नु उद्योगीहरुको कमजोरी हाे । ‘करोडौं लगानीको उद्योग खाेलेकाे छ तर बिज्ञापन दिने शैली पुरानै ढर्राकाे छ । मिडियालाई दशैं,तिहारमा शुभकामना दिए हुन्छ भन्ने बुझाई छ । तर आफ्नो उत्पादन बेच्न मिडियामा बिज्ञापनकाे उपयोग कसरी गर्ने भन्ने दिमाग लगाउन सक्नुभएन । बिज्ञापन मिडियाकाे होइन उद्योगको आवश्यकता हाे भन्नु बुझ्नुभएको छैन ।’- अधिकांस मिडिया संचालककाे बुझाइ छ ।

अझ राेचक त के छ भने बरु स-साना लगानीका ब्यापार व्यवसाय र उद्योगले बिज्ञापन दिईहाल्छन् तर कराेडाैं र अर्वकाे लगानीमा खुलेका कलकारखाना,हाेटलले स्थानीय मिडियालाई बिज्ञापन निषेध गरेका छन् । पश्चिममा बजार खाेज्दै बाँकेमा खुलेका  उद्योगले सकभर यहाँका कुनै मिडियालाई बिज्ञापन दिदैनन् । दिए नै छन् भने पनि काठमाडौंका ‘एजेन्सी’ मार्फत दिन्छन् जुन सबैकाे पहुँचमा पुगेकाे छैन ।

शुक्रबार नेपालगन्जमा नेपाल पत्रकार महासंघ बाँकेको आयोजना एवम् नेपालगञ्ज उद्योग बाणिज्य संघको सहकार्यमा ‘मिडिया र निजी क्षेत्रः सहकार्य र सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार जानकी-३ स्थित  सम्पन्न भयाे जहाँ यिनै बिषय उठे । मिडिया र निजी क्षेत्रबीच सहकार्यका लागि ६ बुँदे साझा प्रतिबद्धता जारी गरिएको छ जुन प्रतिवद्तामा यहाँको नीजिक्षेत्रको बिज्ञापन नितिका बिषयमा केही उल्लेख छैन ।

साझा प्रतिबद्धतामा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले हस्ताक्षर गरेका छन् । बाँकेका उद्योगी-ब्यवसायी र जिल्लामा कार्यरत पत्रकारबीच बृहत अन्तरक्रिया कार्यक्रमबाट जिल्लाको उद्योग व्यवसाय क्षेत्रको उत्थान र यहाँको मिडियाको विकास र दिगोपनका लागि हातेमालो (सहकार्य) गर्ने प्रतिबद्धता ब्यक्त गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले मिडिया र निजी क्षेत्र समाजका दुई प्रभावशाली स्तम्भहरु भएको बताउँदै दुबै क्षेत्रको पारस्परिक सहयोग तथा सम्बन्धका माध्यमबाट आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा गहिरो प्रभाव पर्ने उल्लेख गरे ।

मिडियाको एक सशक्त आर्थिक स्रोत निजी क्षेत्र रहेको भन्दै उनले निजी क्षेत्रको उत्पादन र सेवाको प्रचार तथा ब्राण्ड निर्माणमा मिडियाको अहम् भूमिका हुने बताए । आपसी सहकार्यले नवप्रवर्तनमा टेवा पुग्ने उनको भनार्ई छ । गिरीले मिडिया र निजी क्षेत्रबीचको सम्बन्ध स्वभाविक, आवश्यक र अपरिहार्य रहेको बताए । सहकार्य स्वस्थ, सन्तुलित र पारदर्शी हुनुपर्नेमा उनको जोड छ ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष धामीले मिडिया र निजी क्षेत्रबीच नङ र मासुको सम्बन्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघसंगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले पहिलोपटक दुई नागरिक अगुवा संस्थाबीच औपचारिक सहकार्य प्रारम्भ भएकोमा खुसी ब्यक्त गर्दै दुबैको विकास एक-अर्कामा निर्भर रहने बताए ।

तर पेशागत संगठनबीच भएको याे प्रतिवद्ता समग्र संचारमाध्यम र नीजिक्षेत्रले अपनत्व लिन्छन् की लिदैनन् र यसकाे परिणाम के हुन्छ हेर्न बाँकी छ ।

प्रकाशित मितिः     १० श्रावण २०८२, शनिबार ०६:३८  |