यस्तो आन्दोलन बिरलै सुनिन्छ !


 

त्यो पनि स्थानीय सरकार प्रमुख नै धर्ना र अनशनमा !

“दिक्तेल रूपाकोट मझुवागढ़ी नगरपालिका” हेर्दा तीन वटा जस्तो देखिए पनि एउटै नगरपालिका रहेछ । नाम जुराउन ठूलै झगड़ा र आपत् परेजस्तो लाग्यो ! यो खोटाङ् जिल्लाको सदरमुकाम पनि हो ।

यो नगरपालिकाका मेयर तिर्थराज भट्टराई  एउटा अनौठो माग लिएर हिजोदेखि काठमाडौंमा धर्ना बसेका रहेछन् । मुख्य माग पर्यावरण जोगाउन बहुउपयोगी वनस्पति बाँसलाई राज्यले नीतिगत रूपमैं प्रवर्धन गर्नुपर्ने भन्ने रहेछ ।

देशभर बाँस सजिलै र प्रसस्त मात्रामा उत्पादन हुन्छ । बाँसबाट खाद्य सामग्रीदेखि फर्निचर, कला, कपड़ा र निर्माण सामग्रीजस्ता थुप्रै उत्पादन लिन सकिन्छ । अन्य खेतीका लागि अनुपयुक्त र खेर गइरहेको ठाउँमा समेत यसको खेती हुनसक्छ । स्थानीयलाई रोजगारी दिने र आयात घटाउने देखि भ्यालु एड गरेर विदेश निर्यात गर्न सकिने बाँस वातावरणमैत्री र देशको अर्थतन्त्र जोगाउने अचूक उपाय बन्न सक्ने भट्टराईको बुझाइ रहेछ ।

उनी बाँसको प्रवर्धनमा जुटेका रहेछन् । गतवर्ष राष्ट्रिय बाँस सम्मेलन नै गरेका रहेछन् । उनको अफिसमा बाँसकै फर्निचर प्रयोग भएको रहेछ । अहिले काठमाडौं आइपुगेका छन् । सुनुवाइ नभए आमरण अनशन बस्नेसम्मको योजना रहेछ ।

यस्तो महत्त्वपूर्ण विषयमा एउटा मेयरलाई अनशन बस्ने अवस्था आउन दिनुभन्दा तत्काल सबै मिलेर उनीसँग होस्टेमा हैँसे मिसाउनु जरूरी देखिन्छ । यो उनको मात्रै काम र जिम्मेबारी होइन । हामी सबैको हो ।

नीतिगत र कानुनी जटिलता हटाउने, यसको स्पष्ट व्यावसायिक रूपरेखा तैयार गर्ने र राष्ट्रिय प्रतिबद्धता कायम गर्ने हो भने देशलाई बाँसमय बनाएर चिनाउने संभावना पनि छ । कहाँबाट सुरु गर्ने भन्ने ठूलो समस्या हुन्छ । एउटा मेयर र नगरपालिकाले त्यो समस्या हल गरेको छ ।

भाइरल नहोला, तर युट्युब भिडियो, न्यूज या रील बनाउनुहुन्छ भने एउटा रील या भिडियो यो शीर्षकमा बनाएर तपाईंले पनि सकेको गर्न सक्नुहुन्छ ।

कति भ्रष्टाचार, पार्टी सदस्यता, गुट, गाली र व्यक्ति केन्द्रित भएर समय नष्ट गरिरहने ? हुन सक्ने काम त गर्दै जान पर्यो । यसो घुम्दै त्यहाँ पुग्नुभयो भने एउटा फोटो यहाँ पनि पोस्ट गर्नु है । उहाँ माइतीघर नजिकै कतै हुनुहुन्छ रे !

प्रकाशित मितिः     १२ श्रावण २०८२, सोमबार १७:३५  |