नेपालमै यसरी उत्पादन हुन्छ ‘हेल्मेट’ (फाेटाे फिचर)


नेपालगन्ज । के तपाईलाई थाहा छ ? हेल्मेट नेपालमै उत्पादन हुन्छ नी !  कोहिनुर प्लास्टिक इन्डस्ट्रिज (केपीआई) ले रुपन्देहीमा हेल्मेट उत्पादन गरिरहेकाे छ ।

यो कम्पनीले सुरुमा एयर कुलर र मोटरसाइकलको लेग गार्ड उत्पादन गर्थ्यो। २०४४ सालतिर बुटवलबाट सुरु भएको लेग गार्ड उत्पादनले राम्रो सफलता पाएपछि डिलरहरूको सुझावमा कम्पनीले हेल्मेट उत्पादनमा हात हालेको थियो।

सन् २०२२ मा मात्र औपचारिक रूपमा हेल्मेट उत्पादन सुरु गरेको कम्पनीले तीन वर्षअघि उत्पादन केन्द्र तिलोत्तमा–१७, रुपन्देहीमा सारेको छ। हाल कम्पनीले तिलोत्तमामा दुई बिगा जग्गामा ५५ हजार स्क्वायर फिटमा फैलिएको आधुनिक हेल्मेट फ्याक्ट्री सञ्चालन गरिरहेको छ।

कोहिनुर प्लास्टिक इन्डस्ट्रिजका अध्यक्ष रामप्रसाद बस्यालका अनुसार तिलोत्तमास्थित हेल्मेट फ्याक्ट्री ७० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको हो। कम्पनीको दैनिक उत्पादन क्षमता ५ हजार हेल्मेट रहेको छ। तर बजारको माग अनुसार हाल दैनिक १ हजार २०० देखि १ हजार ५०० सम्म हेल्मेट उत्पादन भइरहेको छ।

कम्पनीको वार्षिक कारोबार करिब ४० करोड रुपैयाँ रहेको र यसले १३५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।

कोहिनुर प्लास्टिक इन्डस्ट्रिज नेपालमा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र प्राप्त गर्ने पहिलो हेल्मेट उत्पादक कम्पनी हो। कम्पनीले आफ्ना ‘कोहिनुर’ र ‘केपीआई’ ब्राण्डका हेल्मेटहरूका लागि भारतीय आईएसआई र अमेरिकी डीओटी दुवै सर्टिफिकेसन प्राप्त गरेको छ।

“हाम्रो कम्पनी आईएसआई र डीओटी दुवै सर्टिफिकेसन प्राप्त गर्ने नेपालको एक मात्र कम्पनी हो,” अध्यक्ष बस्याल भन्छन्।

हेल्मेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ मुख्यतः ताइवान, कोरिया र तेस्रो मुलुकहरूबाट आयात गरिन्छ। केही कच्चा पदार्थ भारतबाट पनि ल्याइन्छ। विशेष कुरा के छ भने कम्पनीले हेल्मेटभित्र प्रयोग गरिने थर्मोकोल आफैं उत्पादन गर्नका लागि छुट्टै ‘कोहिनुर थर्मोप्याक इन्डस्ट्रिज’ सञ्चालन गरेको छ, जसले उत्पादन प्रक्रियामा आत्मनिर्भरता बढाएको छ।

 

प्रकाशित मितिः     १४ श्रावण २०८२, बुधबार १२:५२  |