नेपालगन्ज, साउन १६ – दीक्षित एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान बाँके) को संयुक्त आयोजनामा आज नेपालगन्जमा “ROAD TO IPO” शीर्षकको एकदिने जानकारीमूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका ५८ जना उद्योगपति, व्यवसायी, चार्टर्ड एकाउन्टेन्ट्स तथा युवावर्गको सक्रिय सहभागिता देखिएको थियो, जसले पश्चिम नेपालमा पुँजी बजारप्रतिको बढ्दो उत्सुकता र गहिरिँदो समझदारीलाई संकेत गर्छ।
कार्यक्रममा Pioneer Law Associates का कानुनी विज्ञहरूले आईपीओ तयारीका कानुनी पक्षहरू, नियामकीय दायित्वहरू र SEBON सम्बन्धी आवश्यकताहरू स्पष्ट रूपमा प्रस्तुत गरे। त्यस्तै NIBL Ace Capital का पूँजी बजार विशेषज्ञले मूल्याङ्कन, निर्गम व्यवस्थापन, लगानीकर्तासँगको संचार र पोस्ट-IPO दायित्वका व्यावहारिक पक्षहरूबारे विस्तृत जानकारी दिएका थिए।

कार्यक्रमका संयोजक तथा दीक्षित एण्ड एसोसिएट्सका संस्थापक तेज प्रकाश दीक्षितले भने,-“IPO भनेको केवल शेयर बजारमा प्रवेश मात्र होइन, संस्थागत पारदर्शिता, दीर्घकालीन सोच, र संस्थाको सामाजिक जवाफदेहिताको प्रक्रिया हो। यो कार्यक्रम हामीले व्यवसायहरूलाई त्यही दिशातर्फ अग्रसर गराउने उद्देश्यले आयोजना गरेका हौं।”
कार्यक्रममा सहभागी सिद्धबाबा ग्रुपका प्रबन्ध निर्देशक कमल कार्कीले भने “IPO प्रक्रिया गाह्रो र जटिल लाग्थ्यो, तर आजको कार्यक्रमले यसलाई व्यवस्थित रूपमा बुझ्न सकिने बनाइदियो। अब हामी यसको सम्भाव्यता गम्भीर रूपमा मूल्याङ्कन गर्नेछौं।”
त्यस्तै नेपालगन्जका युवा व्यवसायी म्याट्रिकस ग्रुपका संस्थापक गिरिराज भुषालका अनुसार, “यस्तो कार्यक्रममा स्थानीय उद्यमीहरूले आफ्नो संस्थागत ढाँचा, लेखाप्रणाली र पारदर्शिता कसरी सुधार गर्ने भन्ने ठोस सन्देश पाएका छन्। निजी लगानीको सिमाबाट सार्वजनिक उत्तरदायित्वमा रूपान्तरण हुने सोच आज स्पष्ट भयो।”
कार्यक्रममा सहभागी रहेका युवा व्यवसायी डम्बर बहादुर चन्दले भने, “सामान्य रूपमा हामी आईपीओ भनेको ठूला कम्पनीहरूको कुरा मात्र हो भन्ने सोच्थ्यौं। आजको कार्यक्रमले हाम्रो सोच परिवर्तन गर्यो। यदि सही रणनीति र तयारी भए साना व्यवसायहरू पनि पूँजी बजारबाट लाभ उठाउन सक्छन् भन्ने बुझियो।”
कार्यक्रममा सहभागिता जनाउने धेरैले यस्तो प्रकारको संवादमूलक, तथ्यमा आधारित र स्थानीय सन्दर्भमै केन्द्रित कार्यक्रम पहिलोपटक अनुभव गरेको बताएका थिए। उनीहरूका अनुसार यस्ता कार्यक्रमले नेपालगन्जलगायत पश्चिम नेपालका व्यवसायहरूलाई पूँजी बजारको मूलधारमा ल्याउन सहयोग गर्नेछ। ठूलो संख्याकाे सहभागी बिच कार्यक्रम भएको थियाे । कार्यक्रमकाे संचालन सिए बिबस खड्काले गर्नुभएको थियाे ।