मल नपाएका किसानकाे बाँकेमा सडक ‘बिद्रोह’


नेपालगन्ज । खेतीको समयमा बाँके जिल्लामा मलको चरम अभाव भएको छ । त्यसका विरुद्ध आइतबार नेपालगन्ज र काेहलपुरका किसानले सडकमै आएर असन्तुष्टि पाेखेका छन् । नेपालगन्ज उपमहानगरमा ताला लगाए भने काेहलपुरस्थित साझा सहकारीभित्रै प्रवेश गरे ।

पर्याप्त वर्षा नभएपछि मोटर र अन्य सिँचाइका माध्यमबाट धान रोपेका किसानहरुले मल नपाएपछि तनाव र चिन्ता बढेको गुनासो गरेका छन् ।

बाँकेका किसानलाई वितरण गर्ने लक्ष्य अनुसारको रासायनिक मल प्राप्त नभएकाले मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेका शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले बताए ।

शाखा प्रबन्धक श्रेष्ठले आर्थिक वर्ष २०८१–०८२ मा छ हजार मेट्रिक टन युरिया, दुई हजार पाँच सय मेट्रिक टन डिएपी, तीन सय मेट्रिक टन पोटास गरी जम्मा आठ हजार आठ सय मेट्रिक टन मल वितरण गर्ने लक्ष्य रहेकोमा सो अनुसारको मल प्राप्त नभएको बताए ।

जिल्लामा माग अनुसार युरिया र रासायनिक मल नआएपछि किसानलाई समस्या भएको उनको भनाइ छ । आर्थिक वर्ष २०८१–०८२ मा युरिया मल चार हजार ८४५ मेट्रिक टन र दुई हजार ९०८ टन डिपिए मल आएको थियो भने सोही अवधीमा २७१ मेट्रिक टन पोटास मात्र प्राप्त भएको थियो ।

मल अभाव हुनुका प्रमुख कारण माग अनुसारको मल नपाउनुनै रहेको कृषि सामग्री कम्पनी लिमिटेड बाँकेले जनाएको छ ।

आवश्यकता अनुसारको वर्षा नभए पनि जिल्लामा हालसम्म ९०.९ प्रतिशत रोपाइँ भइसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतका अनुसार सिँचाइ पुगेको ठाउँमा रोपाइँ सम्पन्न भइसकेको छ भने बाँकी ठाउँमा अन्य विधिबाट सिँचाइ गरी रोपाइँ गर्ने क्रम जारी छ ।

प्रकाशित मितिः     १८ श्रावण २०८२, आईतवार १२:३१  |