
नेपालगन्ज । कैलाश तिर्थाटनका लागि भारतीय पर्यटक दैनिक जसाे जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन् । यहाँका तारे हाेटलमा बास बसाईपछि हवाईजहाजबाट हुम्लाकाे सिमकाेट पुग्ने तिर्थयात्रुकाे ताँती देखिन्छ । हाेटलदेखि नेपालगन्ज विमानस्थलसम्म खचाखच भिड छ ।
कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको हिल्सा टुर एण्ड ट्राभल्सका प्रवन्धक बिष्णु रावतले बताउनुभयो । उहाँका अनुसार, चीनले कोरोनापछि यसपालि भारतीय पर्यटकका लागि तीर्थयात्रा खुलाएको हो।

यससँगै अहिले नेपालगञ्जबाट सिमकोटका लागि दैनिक उडान संख्या बढेको छ। सामान्य दिनमा दैनिक १० वटा उडान हुने यो गन्तव्यमा अहिले दैनिक ५० भन्दा बढी उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
तीर्थयात्रीको चाप बढेपछि अहिले नेपालगञ्जबाट सिमकोट विमानस्थलमा तारा, सीता र समिट एयरका जहाजले नियमित उडान गरिरहेका छन्। त्यस्तै हरेक सोमबार नेपाल एयरलाइन्सको ट्विनअटरले पनि उडान गरिरहेको छ।
पर्यटकको आगमन बढेसँगै यसक्षेत्रका होटल व्यवसायमा पनि चहलपहल बढेको रावतले बताउनुभयो । पर्यटन व्यवसायीहरूका अनुसार कैलाश–मानसरोवर यात्राको उपयुक्त समय वैशाख मध्यदेखि असोज मध्य (मेदेखि सेप्टेम्बर) सम्म मानिन्छ। यो समयमा स्वदेशीसँगै विदेशी पर्यटकहरू कैलाश मानसरोवर पुग्छन्।
हिन्दु र बौद्ध धर्मावलम्बीका लागि उत्कृष्ट गन्तव्य मानिने कैलाश पर्वत र मानसरोवरमा नेपालीसँगै ठूलो संख्यामा भारतीय र तेस्रो मुलुकका तीर्थयात्री नेपालको बाटो भएर दर्शन गर्न जाने गरेका छन्।

यो क्षेत्र तिब्बतमा पर्ने भएकाले यात्राका लागि चीन सरकारको अनुमति (भिसा) लिनुपर्छ। नेपालमा यस्तो अनुमति चिनियाँ दूतावासबाट प्राप्त हुन्छ। अनुमति लिने काम ट्रेकिङ एजेन्सीले गरिदिन्छ। चीन प्रवेशको नाकामा भिसा जाँचबुझ हुन्छ।
विगतमा यो यात्रामा जान ल्हासा, हिल्सा र रसुवागढी गरी तीनवटा नाका प्रयोगमा थिए। तर अघिल्लो महिना ल्हेन्दे खोलामा आएको बाढीका कारण अहिले रसुवा नाका बन्द छ।
जसकारण अहिले कैलाश तीर्थयात्राका लागि तातोपानी नाका खुला गरिएको छ। तातोपानी नाकाबाट पनि सजिलै कैलाश मानसरोवर पुगिने ट्राभल एजेन्सीहरू बताउँछन्।
काठमाडौंबाट जहाजमार्फत पनि ल्हासा भएर कैलाश–मानसरोवर जान सकिन्छ। जहाजमा जानेहरू ल्हासा पुगेर त्यहाँबाट गाडीमा जान पाउँछन्। तर, ल्हासाको उडान नियमित नहुने र भाडा महँगो पर्ने भएकाले धेरैजसो यात्रु स्थलयात्रा नै रोज्छन्।


मानसरोवर जान भारतसँगै क्यानडा, अमेरिका, अस्ट्रेलिया, बेलायत, मलेसिया लगायत मुलुकबाट पर्यटक आउँछन्।
पर्यटकीय सिजनमा पदयात्रा र पवर्तारोहणमा जानेहरू हुन्छन्। यसबाहेकको समयमा कैलाश/मानसरोवर यात्रामै आउने भएकाले पनि नेपालको पर्यटन क्षेत्र चलायमान भइरहने पर्यटन व्यवसायी रावत बताउँछन्।
विगतमा वार्षिक ५० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल हुँदै मानसरोवर पुगेको तथ्यांक छ।
अहिले यहाँ पुग्नेमध्ये ८० प्रतिशत विदेशी र बाँकी आन्तरिक पर्यटक हुन्। कोरोनाअघि मानसरोवर यात्रामा जाने स्वदेशीको संख्या कम हुन्थ्यो। अहिले बढ्दै उत्साहजनक देखिएको रावतले बताए।
धार्मिक र पर्यटकीय स्थलका रूपमा चिनिने कैलाश मानसरोवर तिब्बतको दक्षिण पश्चिम क्षेत्रमा अवस्थित छ। यहाँको मुख्य आकर्षण भनेको मानसरोवरको दर्शन, कैलाश पर्वत (कोरा) ट्रेकिङ र ल्हासा घुमघाम हो। यसका लागि ट्राभल एजेन्सीहरूले ९ रात १० दिन र ११ रात १२ दिनको प्याकेज बनाएका हुन्छन्।
एजेन्सीहरूले खाना, बाससहितको र खाना–खाजाबाहेकको प्याकेज चलाएका हुन्छन्। तर आवश्यक परेका बेला होटल–खाजा घर नपाइन सक्ने भएकाले सबै कुरा समावेश भएको प्याकेज लिन उपयुक्त हुन्छ।
कैलाश–मानसरोवर यात्रा गराउने एजेन्सीहरूको छाता संस्था एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) छ।
यो छाता संस्थामा ३० वटा एजेन्सी आबद्ध छन्। यीबाहेक अन्य केही एजेन्सीले पनि यात्रा गराउँछन्।
लामो समयदेखि कैलाश मानसरोवर यात्रा सञ्चालन गरिरहेका रावतका अनुसार दुई हजार सात सयदेखि पाँच हजार ६३० मिटरको उचाइमा पुग्नुपर्ने हुँदा यहाँ जाँदा पूर्वतयारी पनि गर्नुपर्छ।
यो लामो र कठिन यात्रा सहज बनाउन भरपर्दो एजेन्सी छान्नुपर्छ। हाल कैलाश मानसरोवर यात्राका लागि प्रतिव्यक्ति एक लाख ५० हजारदेखि दुई लाख रूपैयाँसम्म खर्च लाग्छ।