नेपालगन्जका ब्यवसायी लाभ,नगद प्रवाह र अनुपालनप्रति किन गम्भीर छैनन् ?


ब्यापारिक क्रियाकलापले भरिएको एक गञ्ज, जहाँ दैनिक करोडौंको कारोबार हुन्छ। सीमावर्ती बजार, बहुजातीय बजारको व्यवहारिकता, र बढ्दो नगद प्रवाहले यो शहरलाई व्यवसायिक केन्द्र बनाएको छ।

तर जब हामी भित्रि संरचना हेर्छौं, धेरै व्यवसायहरू यथार्थतः मुनाफामा होइन, जोखिममा दौडिरहेका हुन्छन्। किनकि, यहाँका व्यवसायीहरूको बहुसंख्या अझै बिक्रीलाई सफलता र लाभलाई बोनस ठान्ने प्रवृत्तिमा छन्। यहाँको व्यापारिक समुदायको एक साझा कमजोरी स्पष्ट देखिन्छ—लाभप्रति उदासीनता, नगद प्रवाहको अज्ञानता, र वित्तीय तथा कानूनी अनुपालनप्रति लापरवाही।

Advt

१. व्यवसायको फोकस: आम्दानी होइन, अभावमा आधारित निर्णय नेपालगन्जका व्यवसायहरू प्रायः “आजको सेल/बिक्री कति ?” भन्ने प्रश्नमा रमाउँछन्, तर “आजको मुनाफा कति?” भन्ने प्रश्नमा अलमल्ल पर्छन्। यो मानसिकता केवल परम्परागत होइन, अब संकटको सूचक हो।
उदाहरणका लागि:
एउटा निर्माण सामग्री आपूर्तिकर्ता, जसको मासिक बिक्री रु. ५० लाख छ, तर अन्तिम मुनाफा एक लाख पनि छैन। किन?
– समान अनियोजित ढंगले खरिद
– ग्राहकलाई असुरक्षित क्रेडिट
– लेखा प्रणाली बिना मूल्य निर्धारण
– नगद प्रवाहबिना तलब, भाडा र करसमेत रोकिएको अवस्था
विश्वस्तरमा, U.S. Bank को रिपोर्टअनुसार:
“८२% साना व्यवसाय नगद प्रवाह योजना नहुँदा बन्द हुन्छन्।”

नेपालगन्जमा यो दर बोलिएको छैन, तर देखिएको छ।

वास्तवमा, लाभ नै त्यो वास्तविक मूल्य हो जसले व्यवसायलाई टिकाउ बनाउँछ। नाफा नहेरी गरिएको व्यापार त्यो डोलीजस्तो हो जुन सजिएको देखिए पनि भित्र खाली हुन्छ। अन्तर्राष्ट्रिय रूपमा, Harvard Business Review ले व्यवसाय मापनका लागि “Gross Margin, Net Profit Margin र Return on Capital Employed (ROCE)” लाई प्रमुख सूचक मानेको छ, जुन अवधारणा नेपालगन्जमा अझै दूरदर्शितामा छैन।

२. नगद प्रवाह: देखिँदैन, तर चल्छ व्यवसायको मुटु
कुनै पनि व्यवसायमा मुनाफा भन्दा नगद प्रवाह (Cash Flow) प्राथमिक हुन्छ। तपाईंको खातामा पैसा छैन भने, तपाईंले कर तिर्न सक्नुहुन्न, ऋण चुक्ता गर्न सक्नुहुन्न, र कर्मचारीलाई तलब दिन सक्नुहुन्न—even if you’re profitable on paper.
नेपालगन्जमा धेरै व्यापारीहरूसँग यस्तो अवस्था देखिन्छ:
– ग्राहकबाट पाउने रकम ९०–३६५ दिनपछि
– आपूर्तिकर्तालाई तुरुन्त तिर्नुपर्ने
– बीचमा बैंकको ओभरड्राफ्ट, चेक बाउन्स, प्रतिष्ठामा आँच
McKinsey को विश्लेषण भन्छ:
“Cash flow forecasting discipline लागू गर्ने SMEs ले 25% सम्म liquidity crisis कम गर्न सक्छन्।”

३. अनुपालनमा लापरवाही: आजको बेवास्ता, भोलिको घाटा
नेपालको कर प्रणाली डिजिटलाइज हुँदैछ। आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय, श्रम विभाग, उद्योग विभाग, वाणिज्य विभाग, भन्सार विभाग आदि सबैको प्रणाली एक–अर्कासँग लिंक भइरहेका छन्।
तर नेपालगन्जका व्यवसायीहरूसँग अझै:
– VAT बिल नदिने प्रवृत्ति
– TDS तिर्ने तर समायोजन नगर्ने
– PF वा SSF मा नाम मात्रको दर्ता
– Annual Return नबुझाउने कम्पनीहरू
– श्रम, उद्योग, वाणिज्य कानुनको परिपालना नै न गर्ने

बिभिन्न नियामक निकायहरू क्रमशः डिजिटल, सशक्त र पारदर्शी बन्दै गइरहेका छन्। यस्ता प्रणालीले एक व्यवसायको कानुनी, वित्तीय र सामाजिक उत्तरदायित्वलाई स्पष्ट रूपमा ट्र्याक गर्न सक्छन्। तर नेपालगन्जमा अनुपालन (Compliance) लाई अझै झन्झटरूपी ‘खर्च’ मानिन्छ। उदाहरणका लागि—VAT बिल काट्ने जिम्मेवारीप्रति बेवास्ता, PF वा SSF को न्यूनतम योगदान नगर्ने, र TDS समायोजन नगरी कर बुझाउने प्रवृत्ति।

भारतमा GST लागू भएपश्चात् ५ वर्षमै कर संकलन दोब्बर भएको छ, जुन कर प्रशासनको दक्षता बढ्दो ट्रेन्ड हो। नेपालमा पनि यस्तै प्रणाली तीव्र रूपमा कार्यान्वयन भइरहेका छन्। यस्तो परिवेशमा अनुपालन नगर्ने व्यवसायहरू निकट भविष्यमा कानुनी, आर्थिक र छविगत जोखिममा पर्न सक्छन्।

SEBON, SSF र Tax Offices ले पछिल्लो तीन वर्षमा हजारौं व्यवसायको पुनरावलोकन गरेपछि करोडौंको जरिवाना तिराएका छन।
कानुनहरूको परिपालना अब विकल्प होइन, न्यूनतम आवश्यकता हो।
४. लेखा प्रणाली: डायरीले मात्र व्यापार चल्दैन
कुनै व्यवसाय कति सफल छ भनेर हेर्ने प्रमुख मापदण्ड भनेको वित्तीय विवरणको गुणस्तर हो।
तर नेपालगन्जमा लेखा प्रणाली यस्तो पाइन्छ:
– डायरी
– Excel spreadsheet
– बहीखातामा केवल लेनदेन लेखिन्छ, विश्लेषण हुँदैन
– मासिक वा त्रैमासिक रिपोर्टिङ छैन
– लेखापाल ‘क्लर्क’ को रूपमा हेर्ने सोच
– लेखापालको काम VAT को लागि खरीद बिक्री को रेकर्ड राख्नु
अन्तर्राष्ट्रिय अभ्यासले भन्छ:
“Professional financial systems (with MIS, budgeting, reconciliation) implemented SMEs are 3.4x more likely to attract institutional funding.” – IFC Report 2023

लेखापालले केवल डाटा इन्ट्री गर्ने होइन, व्यवसायको वित्तीय ‘नेभिगेटर’ बन्नुपर्छ। Monthly MIS रिपोर्ट तयार गर्न सक्ने, कर योजना गर्न सक्ने, र व्यवसायका लागि निर्णय–समर्थक तथ्य प्रस्तुत गर्न सक्ने लेखा टोली आवश्यक छ। अन्यथा व्यवसायीले निर्णय अनुमानका आधारमा लिन्छन्, जुन जोखिमपूर्ण हुन्छ।
५. अबको बाटो: सुधारसहितको व्यावसायिक रणनीति
नेपालगन्जको आर्थिक रूपान्तरण सम्भव छ—यदि व्यवसायीहरूले अब सुधारको बाटो रोजे। कुनै पनि परियोजना वा व्यवसाय सुरु गर्दा, विशेषगरी जुन पहिले नै बजारमा छ, त्यसको विस्तृत अध्ययन अनिवार्य हुन्छ । बजारको आकार, प्रतिस्पर्धा, बजार भरिएको छ कि छैन, break-even point, लगानीको स्रोत, ग्राहकको आवश्यकता, मूल्य निर्धारण, वितरण प्रणाली, कानूनी नियम–सबैको स्पष्ट ज्ञान हुनुपर्छ ।
“हाम्रो अडिटरलाई थाहा होला” भन्ने मानसिकता त्यागेर, योजना, तथ्यांक र रणनीतिमा आधारित निर्णय लिनुपर्छ । सफल हुन आफैं जिम्मेवार बन्ने बानी बसाल्नुपर्छ ।
✔ MIS प्रणाली लागू गर्नुहोस्
मासिक नाफा/नोक्सान (P&L), नगद प्रवाह, बक्यौता रिपोर्ट अनिवार्य रूपमा हेर्नुहोस्
✔ लेखा सफ्टवेयर प्रयोगमा ल्याउनुहोस्
Offline वा क्लाउड–बेस्ड सिस्टममा जाऔं
✔ लेखापाल टिमलाई अपग्रेड गर्नुहोस्
– अनुभवी लेखापाल, वा CA को परामर्श लिनुहोस्
– लेखापाललाई तालिम दिनुहोस्
– ट्याक्स योजना,
– NFRS अनुकूल रिपोर्टिङ गर्न सक्ने बनाउनुहोस्
✔ अनुपालनमा ढिलासुस्ती नगर्नुहोस्
– कर, SSF, TDS, VAT सबै समयमै बुझाउनुहोस्
– e-filing, e-payment, tax audit तयारी पूर्वजाँच प्रणाली विकास गर्ने
– Internal tax health-check system बसाल्नुहोस्
✔ दीर्घकालीन सोच विकास गर्नुहोस्
– के तपाईंको व्यवसाय succession योग्य छ?
– के तपाईंको लेखा प्रणाली investment योग्य छ?
– आफू पनि वित्तीय व्यवस्थापनको तालिम लिनुहोस्!

निष्कर्ष: परिवर्तन अब अपरिहार्य छ

नेपालगन्जको व्यवसायिक समाज अब crossroads मा छ। एक बाटो हो–जसरी चलिरहेको छ, त्यही पुरानै लयमा;
अर्को बाटो हो–पेशेवर संरचनासहित भविष्यका लागि तयार हुनु। नेपालगन्जको व्यवसायिक क्षमतालाई थप उचाइमा लैजान अब केवल उत्पादन वा बिक्री होइन—संरचना, प्रणाली र सोचमा परिवर्तन आवश्यक छ।

बिक्री देखिने पक्ष हो, तर लाभ र नगद प्रवाह भनेका व्यवसायको जीवनदायिनी रक्तसञ्चार हुन्। त्यही भएर वित्तीय र कानुनी अनुशासन–आजको व्यवसायका लागि “आप्शनल” होइन, “आवश्यक” बनिसकेको छ।
नाफा, नगद प्रवाह र अनुपालनप्रति गम्भीर हुनु केवल CA वा सरकारका लागि होइन—व्यवसाय जोगाउन आवश्यक सुरक्षा कवच हो।
आज सुध्रने निर्णय लिने व्यवसायी नै भोलिको सफल नेतृत्वकर्ताहरू हुन्। अवस्थागत सुधार, पेशेवर लेखा प्रणाली र उत्तरदायी व्यवसायिक नेतृत्वका माध्यमबाट नेपालगन्जको व्यवसायिक समुदायले आफ्नै सामर्थ्य पहिचान गर्न सक्छ। अहिलेको लापरवाही नै भविष्यको बाधा नबनोस्।

लेखक परिचय:
तेज प्रकाश दीक्षित, FCA – लेखापरीक्षण, कर योजना, व्यवसायिक रणनीति र अनुपालनमा विशेषज्ञता राख्ने चार्टर्ड एकाउन्टेन्ट, नेपालगन्जमा आधारित। 
ईमेल: catej.dixit@gmail.com

प्रकाशित मितिः     २३ श्रावण २०८२, शुक्रबार ११:११  |