‘नरैनापुरमा शिक्षक माथि प्रतिशाेध साधेर सरुवा र स्पष्टीकरण साेध्ने काम गरियाे’


नेपालगन्ज । नरैनापुर गाउँपालिकाले दरवन्दी मिलानका नाममा आफूनिकट शिक्षक माथि अत्याचार गरी सरुवा गरेकाे भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति, बाँकेले बिराेध जनाएको छ ।

नरैनापुर गाउँपालिकामा गत असार २७ गते शिक्षा समितिले दरबन्दी मिलानको नाममा नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुलाई प्रतिसोध साधी प्रचलित शिक्षा ऐन नियम र पालिका आफैले बनाएको नियमको ठाडो बर्खिलाप हुनेगरी मनमौजि तरिकाले अवैध सरुवा गरेको संगठनले जनाएको छ ।

‘साेही सन्दर्भमा आवश्यक छलफल गर्दा समेत गाउँपालिकाले कुनै सुनुवाइ नगरेको अवस्थामा न्यायका लागि अदालतको ढोका ढक्ढकाउनु एक मात्र विकल्प रहेको’ उल्लेख गर्दै संगठनका अध्यक्ष बाबुराम अधिकारी र सचिव डा पुर्णबहादुर शाहीले जारी गरेकाे बिज्ञप्तिमा भनिएको छ,-‘र सोही बमोजिम उच्च अदालत तुल्सिपुर, नेपालगंज इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गरेकै समयमा नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला समिति सदस्य तथा नरैनापुर गाँउपालिका इन्चार्ज राधेश्याम यादवलाई सामाजिक सञ्जालमा व्यक्त गरेका कुराहरुको अनर्थ लगाई नेपालको संबिधान २०७२ को धारा १७ ले प्रदान गरेको वाक स्वतन्त्रताको हक समेत हनन गर्ने गरी गाउँपालिकाबाट सोधिएको स्पष्टीकरणको सन्दर्भमा हाम्रो संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

संगठनले सांगठनिक आस्थाकै आधारमा स्थानीय सरकारले गर्ने प्रतिसोधपूर्ण व्यवहारको घोर भर्त्सना गरेकाे छ। शिक्षक राधेश्याम यादवलाई २०८२/०४/१८ गते सोधिएको स्पष्टीकरण तुरुन्त फिर्ता गरी मौलिक हकको सम्मान गर्न स्थानीय सरकारलाई आग्रह गरिएको छ ।

२०३६ सालमा पञ्चायती कालरात्रीका विरुद्ध सतिसाल भएर स्थापित गौरवशाली संगठनले शिक्षकहरु प्रति हुने अन्याय र अत्याचारलाई टुलुटुलु हेरेर नबस्ने संगठनले जनाएको छ । तसर्थ आगामी दिनमा त्यस प्रकारका पूर्वाग्रही-व्यवहार नदोहोराउन सचेत गराएको छ ।

प्रकाशित मितिः     २५ श्रावण २०८२, आईतवार २०:२४  |