नेपालगन्ज-दिल्ली सिधा हवाई उडानलाई प्रधानमन्त्रीकाे भारत भ्रमणको एजेण्डा बनाउन पहल


कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सुचारुका लागि एजेण्डा बनाउन माग गरिएको छ । काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधि र सरोकारवालाहरुले प्रधानमन्त्री ओलीको भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडानलाई एजेण्डा बनाउन माग गरेका हुन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा आइतबार काठमाडौंमा आयोजना गरिएको सर्वपक्षीय छलफलमा कर्णाली तथा लुम्बिनीको बाँके बर्दियालगयतका जिल्लाका जनप्रतिनिधि, सबै राजनीतिक दल तथा नागरिक समाज र सम्बद्ध क्षेत्रका व्यक्तिहरूले नेपालगन्ज–दिल्ली सिधा हवाई उडान हुन सके समग्र देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले यस सम्बन्धमा नेपाल सरकारले गम्भीरताका साथ भारतसँग छलफल गर्नुपर्ने धारणा राखे

बुद्ध एअरले सन् २०१८ मा नेपालगन्ज दिल्लीमा सिधा हवाई उडान सञ्चालन प्ररम्भ गरेपनि उडान गरेको केही समयपछि भारतीय अधिकारीहरूले स्लट उपलब्ध गराउन नसकेपछि उडान स्थगित भएको थियो ।
त्यसयता पश्चिम नेपालका जनप्रतिनिधिलगायत उद्योगी व्यवसायी र नागरिक अगुवाहरुले स्थगित उडान सुचारु गर्न माग गर्दै आएका छन् । कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल सरकारले गम्भीरताका साथ भारतलाई प्रस्ताव राखेको खण्डमा भारतबाट उडान अनुमति दिने प्रवल सम्भावना रहेको बताएका थिए ।

त्यस रुटमा हवाई उडान सुचारु गर्नका लागि प्रधानमन्त्री तहबाट प्रस्ताव हुन नसके कै कारण भारतले उडान अनुमति दिईनहालेको सम्द्ध अधिकारीहरुको भनाई छ ।

पश्चिम नेपालका धार्मिकलगायतका विभिन्न पर्यटकीय गन्तव्यमा पुग्ने भारतीय नागरिकहरूका लागि पनि नेपालगन्ज–दिल्ली उडान हुँदा काठमाडौं पुग्नुपर्ने झन्झट हट्ने वक्ताहरुले उल्लेख गरे ।

नेपालगन्ज–दिल्ली सिधा उडान हुन सक्दा आमसर्वसाधारण र समग्र देशलाई फाइदा पुग्ने सर्वपक्षीय छलफलमा सहभागीहरूले बताए । छलफलमा बाँके, बर्दियालगायत पश्चिम नेपालका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू, स्थानीय तहका प्रतिनिधिलगायतको सहभागिता थियो । कार्यक्रममा सांसदहरू सञ्जय गौतम, डा. धवलशमशेर राणा, शक्तिबहादुर बस्नेत, सुर्य ढकाल, दिपा शर्मा रुपाखेती, लक्ष्मी तिवारी, शान्ति चौधरी, शोभा ज्ञवाली, जावेदा खातुन, आशा विक, अब्दुल खान तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजलगायतले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको आवश्यकतामा जोड दिँदै पहलकदमीको आवाज उठाउने कार्यका लागि प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, महासंघका पूर्व अध्यक्ष भवानी राणा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले पुग्ने फाइदाबारे बिभिन्न सम्भावना बारे चर्चा गरेका थिए । उनीहरुले सरकारले अलिकति मेहनत गर्ने हो भने त्यस रुटमा हवाई उडान सुरु गर्न सहज हुने धारणा राखे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले सिधा हवाई उडानका लागि सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै यस कार्यमा प्रधानमन्त्रीको सकारात्मक पहलकदमी रहने विश्वास ब्यक्त गरे ।

नेपालगन्ज दिल्ली सिधा हवाई उडान दवाव समूहका सदस्य सचिव भीमबहादुर रानाभाटका अनुसार नेपालगन्ज दिल्ली उडानको पहल गर्नका लागि काठमाडों पुगेको प्रतिनिधि मण्डलले भोलि पर्यटन र परराष्ट्रमन्त्रीलाई भेट गर्ने तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि उडानको सम्भावना र त्यसको बहुआयामिक फाईदा बारे छलफल गर्न समय माग गरिएको रानाभाटले बताए ।

प्रकाशित मितिः     २६ श्रावण २०८२, सोमबार ०६:२८  |