
लखनउ विद्रोह दबाउन आफैं जङ्गबहादुर लखनउ पुगे । बिद्रोहलाई निस्क्रीय बनाए । त्यो गुन र पराक्रमबाट तत्कालिन ब्रिटिस शासक खुशी भए ।
त्यसबापत तत्कालिन नेपाली शासक जङ्गबहादुरले उपहारस्वरुप बाँके, बर्दिया , कैलाली र कंचनपुर फिर्ता पाए त्यही उपहारमा फिर्ता ल्याएको जिल्ला बाँके जिल्ला अन्तर्गतको शहर हो -नेपालगन्ज । त्यसैले त यो शहरलाई जङ्गबहादुरको सपनाको शहर पनि भनिन्छ ।
लखनउ बिद्रोह ठेगान लाउन त्यहाँ पुगेका जङ्गबहादुर लखनउ राम्रोसँग घुमे अनि फिर्ता ल्याएको ठाउँ मध्य को नेपालगन्ज शहरलाई लखनवी शैली मै शहर बसाईयो पनि भन्ने गरिन्छ। नेपालगन्ज नेपालकै पुराना शहर मध्यको एउटा पुरानो शहर जो राणाकालीन शहर पनि हो।
राणाकाल अर्थात २००७ साल पुर्व पनि अहिलेको कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाबाट घ्यु नेपालगन्जमा आउथ्यो, त्यो घ्यु नेपालगन्जका ब्यापारीहरुले खरिद गर्दथे र भारतीय शहर लखनउ र कानपुरमा बेच्थे । त्यो बेलाको मुख्य ब्यापारिक चोक तत्कालनन “जुद् चौक” हालको त्रिभुवन चौक थियो । त्यतिबेला अहिलेको त्रिभुवन चौकमा ठुलाठुला कराइमा घ्यु पगालिरहेको दृश्य देख्ने पुस्ताका २०/५० मानिसहरु अहिले पनि ज्युदै हुनुहुन्छ होला ।
राणाकालिन शहर अर्थात नेपालगन्ज पुरानो शहर भएको हुँदा यो शहर लाई ” भिन्टेज सिटी” का रूपमा विकास गर्दै लगेको भए नेपालगन्ज आजको दिनमा युरोपेली पर्यटकको ओइरो लाग्ने शहरका रूपमा हामीले देख्न पाउने थियाैं । त्यसो भएको भए यहाँको एयरपोर्ट आजभन्दा ३० बर्ष अगाडि नै नेपालगन्ज अन्तर्राष्ट्रिय विमान स्थल का रूपमा चिनिन्थ्यो होला । नेपालगन्ज पुरानो शहर भएर पनि बिकास र समृद्धिका सुचांकमा हेर्ने हो भने ” गति रोकिएको शहर ” का रूपमा देखिन सक्छ। नेपालगन्ज निकै सुस्तगतिमा अगाडि छ।
यो शहरले प्रधानमन्त्री बनायो आफ्नै शहरबाट तर सुर्य बहादुर थापाले धनकुटा र शेरबहादुर देउवाले डडेल्धुरा बनाए जत्तिकै पनि बनेन नेपालगन्ज। द्वन्दकालले भन्दा पनि धेरै कमजोर नेपालगन्ज शहरलाई सङ्घीयताले गलायो र कमजोर बनायो । बाँकेका दलहरूका नेतृत्वको कमजोर केन्द्रिय पहुँच र पकडका कारण नेपालगन्ज लुम्बिनी प्रदेशमा पारियो । नेपालगन्जसंगको सामाजिक / ब्यापारिक/ सांस्कृतिक र परम्परागत सम्बन्धका आधारमा नेपालगन्ज कर्णाली प्रदेश मै उपयुक्त थियो साबिक भेरी अञ्चलका हिसाबले पनि !
यही गति रोकिएको शहरमा बेला बेला शहरलाई तरंगीत पार्ने विभिन्न मुद्दा र बहस उठ्ने गर्छन् तर ती बहस कहिले समय सकिएपछि त कहिले प्राथमिकता केन्द्रित नभएर अर्थात लय बिग्रेर उठ्छ बहसहरु जस्तो नेपालगन्जलाई कर्णाली प्रदेशमा मिसाउने बहस ।


हालै नेपालगन्जमा फेरि ३ दशक अघि देखि चर्चा हुँदै आएको नेपालगन्ज – दिल्ली उडानको बहसले राष्ट्रिय चर्चा पाएको छ, यसो हुनु नेपालगन्ज र हामी बाँकेबासीका लागि खुसीको कुरा हो। नेपालगन्ज – दिल्ली उडान हुन नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नती गर्नुपर्छ । यसको लागि बोइङ अडिने ह्याङ्गर, फराकिलो धावनमार्ग लगायतका भौतिक निर्माणको जरुरी र आवश्यकता छ। अर्को कुरा नेपालगन्जबाट १५/२० मिनेटको हवाईदुरीमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल छ भने नजिकै अर्को पोखरामा समेत अन्तर्राष्ट्रिय हवाई अड्डा छ अलि केही पर निजगढ मै अन्तर्राष्ट्रिय हवाई अड्डा बन्ने क्रममा छ। यसरी हेर्दा हाम्रो जस्तो कमजोर अर्थतन्त्र भएको देशले कतिवटा अन्तर्राष्ट्रिय हवाई अड्डा थेग्न सक्छ अनि यी हवाई अड्डाबाट नियमित अन्तर्राष्ट्रिय उडानको सम्भावना के हुन्छ यी सबै कुरा को विश्लेषण आवश्यक छ। म नेपालगन्ज – दिल्ली उडानको बिरोधी होईन र विपक्षमा छैन तर यो बिषय लहड र रहरको मात्रै हुनुहुदैन भन्ने मान्यता राख्छु।
नेपालगन्ज र बाँकेको समग्र बिकास र समृद्धिका थुप्रै एजेन्डा छन् तिनलाई बेवास्ता गरेर नयाँ नयाँ फन्डाको पछि लाग्नु भन्दा नेपालगन्ज र बाँकेको बृहत्तर हित र विकासका एजेन्डा बोकेर सिहदरबार पुगे नेपालगन्जको रोकिएको गतिमा रफ्तार आउनेछ र समग्र बाँकेको समृद्धिमा टेवा पुग्नेछ ।
अहिले लाई नेपालगन्ज र बाँकेका लागि लिनुपर्ने पहलकदमी यी हुन सक्छन् कि?
१. कपास विकास समितिलाई चलायमान बनाउ ।
२. जनक शिक्षाकाे छापाखाना संचालन मा ल्याउ ।
३. लुम्बिनी प्राविधिक बिश्वबिधालयको जग्गा ग्यारेन्टी गर।
४. सिक्टा सिचाइ आयोजनालाई पुर्णता दिलाउ।
५.महेन्द्र बहुमुखी क्याम्पसको स्तराेन्नती गर।
६. बाँके राष्ट्रिय निकुञ्जलाई अन्तर्राष्ट्रिय पर्यटकहरु को आकर्षण को केन्द्र बनाउ।
७. भेरी अस्पताललाई थप सुबिधायुक्त बनाउ।
८. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल मा दरबन्दी कायम लगायत का काम गरि थप सुबिधाजन्य बनाउ।
९. राप्ती कटान लाई ब्यबस्थापन गर।
१०. पेडारी नाला को पुल बनाउ।
११. नेपालगन्ज शहर लाई एउटा ऐतिहासिक शहर का रूपमा चिनाउन र उभ्याउन नयाँ योजना ल्याउ ।
१२. बाँकेका सरकारी कार्यलयलाई जनमैत्री बनाउने काम गर।
१३. बाँके जिल्लाभरको फोहोर मैला ब्यबस्थापनका लागी योजना र कार्यक्रम ल्याउ ।
१४.कृषक लाई समय भित्र मल बीउ को सहज र पुग्दो आपूर्ति का लागि काम गर।
१५. रंग बिहीन रंगशाला लाई सधैं खेलकुद का गतिविधि ले रङ्गिन बनाउन कार्यक्रम ल्याउ ।
१६. अब्यबस्थित सवारी चाप नियन्त्रण गर्न सडक बिस्तार र ब्यबस्थापन ( छुट्टाछुट्टै लेन सहित) गरि ट्राफिक ब्यबस्थापन गर।
१७. नेपालगन्ज – बिराटनगर , नेपालगन्ज – जनकपुर , अन्तर शहर हवाई यातायातले जोड्न माग गर।
१८. थप उत्कृष्ट सडक संजाल निर्माण( रिङ्ग रोड ) को योजना ल्याउ ।
१९. पर्यटकीय पुर्वाधार निर्माण सहित पर्यटन पर्बधनका योजना ल्याउ ।
२०.बाकेमा नव उधमी र उधोगपतिलाई लगानीको लागि आकर्षित गर्ने योजना र कार्यक्रम ल्याउ ।
२१. खजुरा औधोगिक ग्राम को काम अगाडि बढाउ।
२२. नौबस्ता औद्योगिक क्षेत्र निर्माण मा जोड गर।