सिएको शुल्क किन समयमा आउँदैन ?


 

सिएको संसारमा अडिट रिपोर्ट, कर विवरण र डेडलाइन भन्दा पनि गाह्रो कुरा एउटा हो — शुल्क समयमा ल्याउने कला।

कसैले भन्छन्, “अहिले हात खाली छ”, तर भर्खरै नयाँ आइफाेन अफिस खर्चमा मिलाइसकेका हुन्छन्। कोहि भावनामा डुबेर “तपाईं त हाम्रो परिवार जस्तै हो” भन्छन्, जसको अर्थ — दाजु–भाइलाई त बिल काटिँदैन नि। रिपोर्ट समयमै बुझाउँदा उल्टै “अब के चाँडो ?” भन्ने प्रतिक्रिया आउँछ। नगद नभएको बहाना गर्नेहरू शनिबारको पोखरा फ्लाइट र पांच तारे रिसोर्ट भने पहिले नै बुक गरिसकेका हुन्छन्।

अर्को रोचक प्रजाति हो — “अर्को प्रोजेक्ट/कामको बिलसँगै मिलाउँछौं” भन्ने, जसको त्यो अर्को प्रोजेक्ट/काम कहिले सुरु हुन्छ भन्ने कुरा ब्रह्माले मात्र थाहा पाएका छन्।

अनि छन्, “थोरै पर्खन सकिन्न?” भन्नेहरू, जहाँ ‘थोरै’ शब्दको म्याद अनन्त हुन्छ। कोही त “पैसा पठाएको थिएँ हैन र?” भन्दै सपनालाई यथार्थ ठान्छन्। केही चाहिँ “हामी तपाईंको राम्रो रिफरेन्स गर्ने मान्छे हौं” भन्दै आत्मघोषणा गर्छन्, तर शुल्कको कुरा आउँदा फोन ‘एयरप्लेन मोड’मा पुग्छ।

सबैभन्दा दिव्य त “सिए त भगवान जस्तै” भन्नेहरू हुन् — पूजा तुरुन्त, तर चढावा (शुल्क) पछि। अनि अन्त्यमा “काम निकै राम्रो भयो” भनेर धन्यवाद समेत नदिने र अन्तमा मेरो काम भयो अब तपाईं पैसा पर्खनुहोस्।

सिए पेशा केवल अंक, कागज र कानूनको खेल मात्र होइन, बहाना, ढिलाइ र अनन्त ‘थोरै पर्खन’ को मनोविज्ञानसँगको लडाइँ पनि हो।

प्रकाशित मितिः     २९ श्रावण २०८२, बिहीबार ०८:२७  |