नेपालगन्ज । सामाजिक सञ्जालदेखि मिडियामा अहिले उड्ने कारको निकै चर्चा र परिचर्चा भइरहेको छ। हुन त जति बेला नेपालमा उड्ने कार ल्याउने भनेर समाचार सार्वजनिक भयो त्यहीँ देखिनै चर्चा सुरु भएको थियो।
झन मंगलबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा उड्ने कार राखेपछि त्यसको चर्चा र परिचर्चाले शिखर चुमिरहेको छ।
सोही उड्ने कार हेर्नेहरुको भिड लागेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आयोजना गरेको १७औं संस्करणको नाडा अटो शो–२०२५ उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत उड्ने कार निरिक्षण गरेका थिए।
प्रधानमन्त्री ओलीले उद्घाटन एवम् निरिक्षण गरेपछि अहिले सो कार सर्वसाधारणका लागि समेत खुला गरिएको छ। अहिले अटो शोमा आउने अधिकाशंको नजर सोही उड्ने कारमा परिरहेको छ।
प्रदर्शनीमा राखिएको उड्ने कार के नेपालमा चलाउन सकिन्छ र किन्न परेमा कति मूल्य पर्छ? अहिले धेरैले यो प्रश्न गरिरहेका छन्। तर, अहिले प्रदर्शनीमा राखिएको कार हेर्न मात्र पाइन्छ र किन्न पाइदैन।

नेपालमा अटो शो कै लागि भनेर चांगन अटोमोबाइल र इहाङ कम्पनीको सहकार्यमा निर्मित उड्ने ट्याक्सी पहिलो पटक सार्वजनिक रूपमा प्रर्दशन गरिएको हो।
एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङ) लाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखेको छ।
नेपालमा उड्ने कार ल्याउनुको उद्देश्य चांगन प्राविधिक रुपमा कतिको अगाडी छ र मार्केटमा कसरी लिड गरिरहेको छ भन्ने कुरा बताउनका लागि ल्याइएको डिपलका मार्केटिङ हेड रमेश दनेखु बताउँछन्।
‘नेपालमा उड्ने कार ल्याउनुको उद्देश्य चांगन प्राविधिक रुपमा कतिको अगाडी छ र मार्केटमा कसरी लिड गरिरहेको छ भन्ने कुरा यसले देखाउँछ,’ दनेखु भन्छन्, ‘हुनत भविष्य उड्ने कारकै हो। तर, पनि यसको व्यवसायीक सुरुवात अहिले भइसकेको छैन।’
