अहाे ! कति फेरियाे समय


 

म बडो गज्जब समयको पुस्ता हुँ ! आधा उमेर ( ८० बर्षलाई आधार मान्दा ) धेरै कुराहरु देखे । भोगे । सहभागी भए र ब्यहाेरे । त्यसैले म आफुलाई यो पृथ्वीको भाग्यमानी पुस्ता भन्न रुचाउँछु ।

म जन्मिनासाथ मेरो आँखा अगाडी मोबाइल वा ट्याबलेट थिएनन् । न त पिलिक्क पिलिक्क पार्दै फोटो खिच्नेहरु अगाडी उभिएका थिए । न त बा ! आमाले आफ्नो सन्तान जन्मिएको खुशी फेसबुक, इन्स्टा र टिकटकमा शेयर गरे न त ह्वाट्सएप वा म्यासेन्जरमा भिडिओ कल गर्दै आफन्तहरुसंग त्यो खुशी साझा गरे ।

किनकी त्यो समय यी सबै कुराहरू यो संसारमा आइसकेको नै थिएन। म जन्मिएको स्थल, समय र तिथि मिति बाले आफ्नो डायरीको एउटा पानाको एक कुनामा टिप्नु भो त्यसै आधारमा मेरो चिनाटिपन तयार भो, न्वारानमा नामाकरण भो राशीको नाम राखियो अनि बोलाउने नाम नी पाए मैले ।

मेरो बालापन खजुरामै बित्यो यहीँ हुर्किए । यहीँ पढियो र यहीँको हिलो माटो र धुलोमा खेल्दै उफ्रदै अहिलेसम्म पनि यहीँ छौं । हाम्रो बालापनलाई टिभीमा आउने कार्टुन, हात हातमा बोकिने मोबाईलले कैद गर्न पाएन त्यस बेला यी बस्तु सपनामा समेत देख्दैन्थ्यो हामीले ! एउटा सामान्य माटोको गाह्रो भएको घर जहाँ न बैठक कोठा हुन्थ्यो न त स्टडी रुम ! न त बेड रुम न ट्वाइलेट बाथरुम थिए ।

त्यो बेला एउटा कुनामा सानो बारिएको भान्सा र सुत्न, पढ्न , गफ गर्न सबै कामका लागि र सबैका लागी एउटै कोठा थियो अनि शौचालय खुल्ला मैदान वा खेतबारी ! बिजुली बत्ती पनि थिएन । साझ पर्दै गएपछि झ्याउकिरी आवाज र जुनकीरीका उज्यालोले मख्ख पार्थे। मट्टीतेल हालेर बालिने कुपि( टुकि) को चमक हाम्रो लागि प्रयाप्त थियो राम्रोसंग देखिन्थे तिनै उज्यालोमा किताबका पाठहरु । खासै गर्मी पनि हुँदैन थियो न हामीसंग पंखा थिए न कुलर न त एसी नै अझ फ्रिज त हुने कुरै भएन।

हाम्रो बालापन गोट्टा खेलेर, डन्डिबियो, खोप्पी र ढुस खेलेर कट्यो, त्यस अतिरिक्त गोबर छोइ र गिट्टी फोर खेलियो अनि झुम्रोको फुटबल । नेपालगन्ज – गुलरिया सडक खण्डकाे मुख्य सडकबाट दोश्रो पंक्ति भित्र हाम्रो बसाई थियो मुख्य सडक देखि झन्डै दुई सयमिटर पछाडि तर मुल सडकमै चाहिँ बिजुली बत्ती थियो । केही समय पछि हाम्रोतिर नी बिजुली आयो।

खजुरा एक नम्बरमा निकै ठुलो महाजन र उद्योगीका रूपमा हुनुहुन्थ्यो किरण कार्की । उहाँ कर्णेलको छोरा सम्भवत साबिक बागेश्वरी गाबिसकै सर्वसम्पन्न । उहाँको घरमा मिल थियो अनि ठुलो टिभी थियो साथै भिडियो हेर्ने प्रबन्ध पनि थियो त्यहाँ । राती राती त्यहाँ रामायण र महाभारत हेर्नेको घुइँचो लाग्थ्यो । म पनि बेला मौकामा ५ रुपैयाँ बोकेर पुग्थे भिडियो हेर्न। रामायण हेर्दाहेर्दै टिभीमा जब धनुष बाण बोकेर श्रीराम प्रकट हुन्थे जयकारा लाग्थ्यो केही बुढाबुढिहरु त टिभिमै फुल र पैसा समेत चढाइदिन्थे भगवान लाई । मैले पहिलोपटक बिश्वकप फुटबल १९९४ मा त्यहीँ नै हेरेको थिए । रातभरी युवाहरूको मेला नै लाग्थ्यो बिश्वकप फुटबल हेर्न।

समय बदलिँदै गयो रेडियो र टिभी मध्यम वर्गीय र हुनेखानेहरुका घर -घरमा पुग्दै गए । पत्रपत्रीकाको पनि अलि अलि चासो गाउँ तिर हुन लाग्यो । मैले १३/१४ बर्षको उमेर देखि नै मोटामोटा हिन्दी उपन्यास पढ्न पाए । आन्टीले भाडामा पढ्न ल्याएका उपन्यास मौका मिल्दा मैले नि पढ्थे।
बा जागिरे हुनुहुन्थ्यो । कृषि बिकास बैंकमा जागिरे जीवन सधैं घर पाएक हुने थिएन । ५० साल तिर बाको सरुवा मुसिकोट भयो त्यस पछि हामीसंग नियमित सम्पर्क हुने माध्यम चिठिपत्र मात्रै थियो । अहिले जस्तो संचार र प्रबिधिले फड्को मारेको थिएन । चिठी पुग्न र फर्किन झन्डै ३० देखी ४५ दिन सम्म नी लाग्थ्यो । रजिस्ट्री गरे अलि चाढो पुग्थ्यो। त्यसै बेला मैले थाहा पाए हाम्रो घर नजिकै रहेको कपास बिकास समितिमा आवा सुबिधा रहेछ मैले त्यहाँ गएर अनुरोध गरेपछि आवा कक्षमा मैले पहुँच पाए ।

बाको अड्डामा नभएर नजिकैको कृषि कार्यलयमा पनि आवा थियो । मुसिकोटमा जब म पहिलोपटक आवा कक्षमा पुगेर आवासेट खोले देशैभर आवाहरु सुनिन थाले । फ्रीक्वेन्सी घुमाउदै गर्दा त्यो रमाइलो सुन्दासुन्दै मैले बालाई आवा पठाउनै भुलेको ! त्यहीँ बाट मैले बासंग खबर आदानप्रदान गर्न लागे । हेल्लो मुसिकोट … नेपालगन्ज उता बाट उत्तर आयो नेपालगन्ज .. मुसिकोट, नेपालगन्ज … मुसिकोट मैले आराम सन्चै सहितका केही घरायसी खबर छोडे।

मैले चिठी पत्रको युग देखे , टाइपराइटर र आवा देखे, रेडियो सुन्दै हुर्किए, टेलिफोन देखियो, हेर्दाहेर्दै कम्पियुटर आयो , ईन्टरनेट सुरु भो, याहु एकाउन्ट अहिले पनि याद छ niraula52@yahoo.com ।

मैले २०५३ सालमा कम्प्युटरको कोर्ष पढ्दा Dos, wp, lotus , excel पढे । पेजरको जमाना आयो । त्यस लगत्तै मोबाइल भित्रियो अनि त मोबाइलमै सबै थोक आयो । हामीले प्रयोग गर्दै आएको क्यामेरा , वाकमेन, टेपरिकार्ड, रेडियो , टिभी सबै खाइदियो।

हामीले राणा शासन नदेखेपनि तिनका अवशेष र कथा नजिकैबाट सुन्यौं । पन्चायती ब्यबस्थामै हुर्कियाैं । बहुदल आयो, बिबिसी हिन्दी र बिबिसी नेपाली सेवा मा श्रीलंकाका लिट्टेको समाचार सुनिरहेका हामीले बन्दुक बोकेर परेड खेल्दै कुदेका माओवादी सेना देखियो । १० बर्षे द्वन्द नजिकैबाट ब्यहोरियो भोगियो । हाम्रो अगाडि हजारौं सैनिकका उच्च सुरक्षा माझ रहेका राजारानी र उनको बंश बिनासको कहालीलाग्दो मिस्टेरियस घटना । दासढुङ्गा हत्या काण्ड देखियो । हेर्दाहेर्दै २०० बर्ष देखि चल्दै आएको बंशिय शासन सत्ताबाट तत्कालीन राजा ज्ञानेन्द्रले राजपाठ त्यागेको घोषणा गरि दरबारबाट निस्किएको देखियो ।

हेर्दाहेर्दै देश गणतान्त्रिक मुलुक बन्यो हाम्रो आखै अगाडि । सगरमाथाको उचाई बढ्यो, संसार एउटा गाउँका रूपमा देखा पर्यो एक क्लिक मा हातमा बोकेको मोबाईलले दुनियाँ देखाउन लाग्यो, अब त हुँदाहुँदै एआइ को समय आयो हरेक प्रश्न को उत्तर अब आफ्नो हातमा बोकेको मोबाईल ले बताउन लाग्यो अहो बडो अचम्म हामी भाग्यमानी पुस्ता ।

प्रकाशित मितिः     ९ भाद्र २०८२, सोमबार ११:५७  |