
बहुदल आएपछिका स्थानीय निर्वाचनमा बाँकेको साबिक सीतापुर गाबिस ४७ मा ४७ नै जनप्रतिनिधि जित्दै एमालेले लालकिल्लाका रूपमा स्थापित गर्यो । यो बाँके जिल्लाकै लागि गौरवको बिषय बन्यो ।
नेपाली काँग्रेस र पंच त शिला खोज्नुपर्थ्यो सितापुरमा ! यसको पछाडीको एउटा महत्त्वपूर्ण कुरा थियो -तत्कालीन पार्टी नेताको समय समयमा सितापुरमा हुने बसोबास र भेटघाट । गाउँका सर्वसाधारण र सामान्य भुइँ तहका कार्यकर्ताको नेतृत्वसंगको सहज भेटघाट ।
त्यतिबेला सितापुरमा कमरेड बाबु राम गौतम र नन्दलाल राेकायाले पार्टी नेतालाई( कमरेड मनमोहन अधिकारी ) आफ्नो साँघुरो घेराभित्र राखेर आम मानिस र कार्यकर्तासंग पहुँच नदिएको भए सीतापुर लालकिला हुने थिएन।
६० भन्दा अगाडीसम्म पनि पार्टीका उच्च नेतृत्वहरु नेपालगन्ज आउँदा सल्लाहले कार्यकर्ताको घरमा बसाउने वा राष्ट्रबैंककाे गेस्टहाउसमा बसाइन्थ्यो र गेस्टहाउसमा बस्दा पार्टीको तर्फबाट आफ्नो एकजना ‘पिएसो’ जस्तै खटाउने चलन थियो । तत्कालीन महासचिव र अन्य उच्च नेतृत्वको ‘पिएसो’ जिल्लाले खटाएर म आफैं तीन पटक बसेको थिए। तर अहिले चलन फेरियो सीमित मानिसहरू बुकीमाला र खाँदा बोकेर सुटुक्क एयरपाेर्ट पुग्छन् ।

कुनै ठेकेदार / ब्यापारी वा नवधनाढ्यलाई भनेर ‘लक्जरियस’ सुविधा सहित होटलमा राखिदिन्छ्न जहाँ भुइँतहका कार्यकर्ताको त कुरै छोडौ जिल्ला तहकाकाे पनि सबैको पहुँच हुँदैन । अनि घेरा हालेर बस्नेहरूले फुलबुट्टा भरेर रिपोर्टिङ गर्छन् जस्तो अघिल्लो पटक आठवटै पालिका जित्ने रिपोर्टिङ्ग गरेका थिए।
उपल्लो नेतृत्व भुइँतहका कार्यकर्तासंगको सम्बन्ध गुमाउँछन् उनीहरुलाई केही सीमित ठालुले नै अलमल पारिदिन्छ्न। अनि जिल्लाको साँचो र यथार्थ रिपोर्ट नबुझी भुलभुलैयामा परेर ‘राबडी’को स्वाद लिएर फर्किन्छ्न ।
