मानसरोवर तिर्थयात्रुकाे उपचार केन्द्र बन्याे हुम्ला अस्पताल


 

नेपालगन्ज । कैलाश तिर्थाटनका लागि भारतीय पर्यटक दैनिक जसाे जमुनाह नाका हुँदै नेपालगन्ज प्रवेश गरिरहेका छन् ।

यहाँका तारे हाेटलमा बास बसाईपछि हवाईजहाजबाट हुम्लाकाे सिमकाेट पुग्ने तिर्थयात्रुकाे ताँती  देखिन्छ । हाेटलदेखि नेपालगन्ज विमानस्थलसम्म खचाखच भिड छ ।

कैलाश मानसरोवर तीर्थयात्रा खुलाएसँगै यसपालि पर्यटकको संख्या बढेको  छ । चीनले कोरोनापछि यसपालि भारतीय पर्यटकका लागि तीर्थयात्रा खुलाएको हो।

यससँगै अहिले नेपालगञ्जबाट सिमकोटका लागि दैनिक उडान संख्या बढेको छ। सामान्य दिनमा दैनिक १० वटा उडान हुने यो गन्तव्यमा अहिले दैनिक ५० भन्दा बढी उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

तीर्थयात्रीको चाप बढेपछि अहिले नेपालगञ्जबाट सिमकोट विमानस्थलमा तारा, सीता र समिट एयरका जहाजले नियमित उडान गरिरहेका छन्। त्यस्तै हरेक सोमबार नेपाल एयरलाइन्सको ट्विनअटरले पनि उडान गरिरहेको छ।

जसरी भारतका तिर्थयात्री नेपाल आएर पर्यटन क्षेत्रलाई गुल्जार बनाएका छन् त्यसैत्यसै उनीहरुमा स्वास्थ्य समस्या समेत बढ्दैछ छ । स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारी भन्नुहुन्छ,-‘याे सिजन शुरु भएयता साठ्ठी जनाकाे हाराहारीमा तिर्थयात्रुकाे उपचार गरेका छाैं । उहाँहरु उपचारपछि सकुशल घर फर्किनु भएको छ ।’ जिल्ला अस्पतालमा बिरामीकाे उपचार हुने गरेकाे छ ।

डा. तिवारीका अनुसार तिर्थयात्रुमा हिमालीक्षेत्र जस्ताे उचाईमा लाग्ने ‘हाईअल्टिच्युट पुलमाेनरी ओडिमा’ जस्ता समस्या देखिएको छ । ‘सामान्यरुपमा भन्दा लेक लाग्दा उल्टी हुने, टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या हुन्छ । सही समयमा उपचार नगर्दा बिरामीकाे ज्यानै जान सक्छ’ डा तिवारीले भन्नुभयो,-‘ हामीले यहीँकाे साधनस्रोतको अधिकतम् प्रयाेग गरेर तिर्थयात्रुकाे उपचार गरिरहेका छाैं ।’

लामो समयदेखि कैलाश मानसरोवर यात्रा सञ्चालन गरिरहेकाहरुका अनुसार दुई हजार सात सयदेखि पाँच हजार ६३० मिटरको उचाइमा पुग्नुपर्ने हुँदा यहाँ जाँदा पूर्वतयारी पनि गर्नुपर्छ।

यो लामो र कठिन यात्रा सहज बनाउन भरपर्दो एजेन्सी छान्नुपर्छ। हाल कैलाश मानसरोवर यात्राका लागि प्रतिव्यक्ति एक लाख ५० हजारदेखि दुई लाख रूपैयाँसम्म खर्च लाग्छ। त्यसरी जाँदा स्वास्थ संवेदनशीलता अपनाउन जरुरी रहेकाे डा तिवारीले बताउँनुहुन्छ । उहाँका अनुसार दक्षिणी भारतकाे समतल भुभागमा बसाेबास गर्ने त्याे पनि ज्येष्ठ नागरिकहरु कैलाश तिर्थका लागि आउँछन् । ‘त्यस्ताे अवस्थामा उहाँहरुलाई ल्याउने एजेन्सीहरुले स्वास्थ कार्यालय हुम्लासंग समन्वय गर्नुपर्ने हाे । तर गर्नुभएको छैन । हामी आफैले उपचार गरिरहेका छाैं । समन्वय गर्ने हाे भने तिर्थयात्रुको स्वास्थ्य समस्या आइपरे तत्काल उपचार हुने छ ।’-डा तिवारीले भन्नुभयाे ।

डा तिवारी त हिल्सा नाकामै स्वास्थ टिम राख्न आवश्यक रहेकाे बताउँनुहुन्छ । तर त्यसका लागि समन्वय आवश्यक रहेकाे भनाइ छ । ‘सीमकाेट आएपछि स्वास्थ परीक्षण गर्ने गरि सरसल्लाह गर्न सकिन्छ ।’-डा तिवारीले भन्नुभयाे ।

प्रकाशित मितिः     १३ भाद्र २०८२, शुक्रबार २०:४४  |