‘आर्थिक राजधानी’काे बहस सेलायाे की तातै छ ?


 

बाँके । कतिपय मंचमा नेताहरु भन्छन,-‘नेपालगन्जलाई आर्थिक राजधानी बनाउने हाे !’ तर कसरी ? बाेलिदिए पुग्ने भएकोले नेताले ‘खाका’ दिन परेन् ।

आमनागरिकले पनि त्यसप्रति रुचि राखेका छैनन् । त्याे भनेकाे के हाे ? कसरी बन्छ ? बनाउन के-के गर्नुपर्ने हाे अथवा सम्भावना के हाे ? कसैले खोजिनिति गरेका छैनन् ।

तर जे हाेस् नेपालगन्जलाई आर्थिक राजधानी बनाउने चर्चा बेलाबखत भइरहन्छ । हुन पनि साविककाे मध्य तथा सुदूरपश्चिमकाे केन्द्र हो नेपालगन्ज । राणादेखि पंचायतसम्मकाे त प्रशासनिक केन्द्र हो । तर शासनहरु फेरिएसंगै प्रशासनिक बिभाजन हुँदा नेपालगन्ज ब्यापारकाे केन्द्र बन्न पुग्याे ।

कुनै बेला हिमाल,पहाडबाट किनमेलका लागि आउनेहरुबाट चलेकाे हाट बजारकै रुपान्तरणरुप ‘ट्रेड बिजनेश’ बन्याे । नेपालगन्ज औद्योगिक क्षेत्रकाे स्थापनासंगै ठूलाठूला औद्योगिक घरानाकाे उपस्थितिले औद्योगिक हब पनि बन्न पुग्याे । अहिले यहाँका अर्वाै लगानीका उद्योग खुलेका छन् । कतिपय लगानी भित्रीने क्रममा छन् ।

सीमाक्षेत्रमा एकीकृत भंसार जाँचपाेष्ट सहितकाे प्रमुख भंसार नाका रहेका कारण अन्तरदेशीय ब्यापारकाे गन्तव्य पनि हाे । बाँके औद्योगिक क्षेत्र हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ ।

लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपेन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् ।

पहाडका जडिबुटी संकलन गरेर बाँकेमा प्रशोधन गरेर स्वदेश तथा विदेशमा बिक्री गर्न सकिन्छ । अहिले अधिकांश जडिबुटी लगायतका कच्चा पदार्थ संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी भइरहेको छ । यसका लागि साबिक कर्णाली, राप्ती, भेरी, सेती र महाकाली अञ्चलबाट कच्चा पदार्थ संकलन गरी बाँकेका स्थापना गरिएका वा गरिने उद्योगका उत्पादनको बजारीकरण गर्न रेलमार्ग, राजमार्ग, हवाइ मार्गको व्यापक विकासमा जोड दिनुपर्छ ।

यो कार्यका लागि राज्यले ढुवानी वा कर छुट वा अनुदानको व्यवस्था गर्नुपर्छ । यस प्रक्रियाका लागि नेपालगन्ज उद्योग वाणिज्य संघलगायत सम्बन्धित संस्थाहरुले दवाब दिने र पैरवी गरिरहेको छ ।

पश्चिम क्षेत्रमा विगतमा नेपालगन्ज, राजापुर, गोलाघाट, कटासे प्रमुख व्यापारिक केन्द्र्र थिए । खाद्यान्न लगायतका वस्तुको लागि राजापुर क्षेत्र केन्द्र भए पनि औद्योगिक उत्पादनका लागि नेपालगन्ज नै प्रमुख बजार थियो । पहाडी जिल्लाबाट किनमेल गर्न आउने व्यापारी÷यात्रीले स्थानीय उत्पादन नेपालगन्जमा बिक्री गर्ने गर्थे र खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायतका बस्तुहरु खरिद गरेर लैैजान्थे । भारतबाट आयात गरिएका वस्तुहरु तिब्बतसम्म लगेर व्यापार गरिन्थ्यो । त्यत्तिबेला नेपालको तिब्बतसँगको व्यापार नाफा थियो । परापूर्वकालदेखि नै तिब्बत र भारतीय सामानको आयात निर्यात गर्न कर्णालीवासीका लागि बाँके व्यापारिक केन्द्र थियो । भारतीय बजार रुपैडिया, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, गोलाघाट हुँदै कर्णालीका जिल्लाबाट तिब्बतको हिल्सासम्म हुने गथ्र्यो । जुन मार्ग अहिले कर्णाली करिडोरको रुपमा विकसित हुँदैछ ।

उद्योग वाणिज्य,कृषि,पर्यटन,स्वास्थ शिक्षाकाे हब बन्ने प्रशस्त सम्भावना छ । त्यसका लागि आवश्यक निति निर्माणदेखि पुर्वाधार विकासकाे सम्भावना औल्याउन छाडेर पछिल्लो एकदशकमा नेपालगन्ज क्यासिनाे र स्पा सिटीमा रमाइरहेकाे छ । हाेटलपिच्छे क्यासिनाे र सटरपिच्छे स्पा छन् । यसका साईड ईफेक्ट देखिन थालेका छन् ।

राज्यकाे नियम कानुनकाे परिधिभित्र रहेर क्यासिनाे र स्पाले अरुले जस्तै ब्यापार गर्न पाउनुपर्छ । उनीहरुले कर तिरेका छन् राेजगारी दिएका छन् । यहाँ सुनसान देखिने हाेटललाई बिजनेश दिएका छन् । त्यसैले उनीहरुप्रति कसैले बैरभाव राख्न जरुरी छैन ।

तर देशकै नाममा रहेकाे याे शहर केही जनप्रतिनिधिले भने जस्तै क्यासिनाे सिटीका नाममा हाेइन औद्योगिक सिटीका नामले चिनिन चाहान्छ । त्यसका लागि बहस,छलफल र राेडम्याप भने चाहिन्छ ।

प्रकाशित मितिः     १६ भाद्र २०८२, सोमबार ०८:५३  |