नेपालगन्ज । पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता शुक्रबारदेखि नेपालगन्जमा शुरु भएको छ । प्रतियोगिता नेपालगञ्जस्थित बागेश्वरी फुटसल मैदानमा भइरहेकाे छ ।
एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बाँके जिल्ला समितिको आयोजनामा भइरहेकाे प्रतियोगिताकाे नारा ‘Talent wins game, but teamwork wins championships’ भन्ने रहेकाे छ ।
प्रतियोगितामा यसपटक पुरुष, महिला र भेट्रान गरी तीन श्रेणीमा प्रतिस्पर्धा भइरहेकाे छ । ‘चार्टर्ड एकाउन्टेन्टहरू केवल अंकगणितमा मात्र होइन, खेलमैदानमा पनि समान रूपमा दक्ष छन्’ भन्ने सन्देश फैलाउँदै पाचौँ राष्ट्रिय एक्यान फुटसल प्रतियोगिता यसपटक नेपालगञ्जमा आयोजना भइरहेकाे आयोजकले जनाएको छ ।

प्रतियोगिता केवल खेलकुद मात्र नभई पेशागत सम्बन्ध, सहकार्य र मित्रता सुदृढ गर्ने अवसरका रूपमा रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् भने महिला विजेताले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, पुरुष उपविजेताले ५१ हजार १ सय ११ रुपैयाँ र पुरुषतर्फ तेस्रो स्थान हात पार्ने टिमले २५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्डर, गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई पनि ५ हजार १ सय ११ रुपैयाँदेखि ११ हजार १ सय ११ रुपैयाँ नगदसहित पदक प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी खेलाडी तथा पाहुनाका लागि चारतारे होटलमा बसोबासको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
