
नेपालगन्ज । भारतको प्रख्यात फुड ब्रान्ड बिकानो अब नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ ।
राजनीतिक तथा आर्थिक चुनौतीबिच नेपाली उद्योगीसँगको संयुक्त लगानीमा बिकानो नेपाल भित्रिएको हो । यस परियोजनाअन्तर्गत नेपालगन्जमा करिब एक अर्ब नेपाली रुपैयाँको लागतमा एक अत्याधुनिक उद्योग स्थापना हुनेछ, जसले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।
बिकानेरवाला फुड्स इन्डिया प्रालि र नेपाली उद्योगीहरूको संयुक्त लगानीमा यो ब्रान्ड नेपाल आएको हो । कम्पनीले दिएको जानकारीअनुसार करिब ७ बिघा क्षेत्रफलमा फैलिएको यस परियोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उद्योगले आगामी फेब्रुअरी २०२६ देखि व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यो महत्त्वाकांक्षी परियोजनाले प्रत्यक्ष रूपमा करिब १०० जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्नेछ ।
उद्योग सञ्चालनमा आएपछि बिकानो ब्रान्ड अन्तर्गतका भुजिया, नमकिन, मिठाई, पापड, आलु चिप्स लगायतका उच्च गुणस्तरका सम्पूर्ण उत्पादनहरू नेपाली उद्योगबाटै गरिनेछन् । कम्पनीले नेपाली स्वाद अनुसारका शुद्ध, रचनात्मक र स्वस्थकर उत्पादनहरू बजारमा ल्याउने योजना बनाएको छ ।
बिकानोले दिगो साझेदारी र स्थानीय सशक्तीकरणमार्फत अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेको छ ।

कम्पनीको नेपालस्थित परियोजनाका कार्यकारी अधिकृत जीवराज जैनका अनुसार यो उद्योगले स्थानीय माग पूरा गर्नुका साथै भारतका छिमेकी राज्य बिहार र उत्तर प्रदेशमा समेत उत्पादन निर्यात गर्ने योजना बनाएको छ । नेपालगञ्जको सीमावर्ती क्षेत्रको भौगोलिक विशेषताका कारण यो फ्याक्ट्री निर्यातका लागि महत्त्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ ।
नेपालमा आधुनिक, ठुलो र ब्रान्डेड खाद्य उत्पादन उद्योग स्थापना हुने क्रम बढ्दै गएको सन्दर्भमा बिकानोको प्रवेशले खाद्य उद्योग र रोजगारी क्षेत्रका साथै नेपालको समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ ।

