शहरमा ‘काेठे छलफल’ चल्दा गाउँमा स्वस्फूर्त बढे पर्यटकीय गतिविधि


नेपालगन्ज । नेपालगन्ज भित्र पर्यटनका नाममा सरकारी बजेट ल्याएर रित्याउने क्रम बढिरहेका बेला गाउँमा भने पर्यटकीय गतिविधि स्वस्फूर्तरुपमा बढेका छन् । शहरमा हुने काेठे बैठक र छलफलले सीमित ब्यक्तिलाई फाईदा पुर्‍याइरहे पनि पर्यटकीय गतिविधिलाई कुनै प्रभाव पार्न सकेकाे छैन । तर पनि पर्यटनका नाममा सरकारी बजेट ल्याउने समुह लागिरहेकाे छ ।

बाँकेको शहरमा सानादेखि तारे होटल त गाउँमा होमस्टे खुल्नेक्रम बढेको छ । यसरी खुलेका होटल र होमस्टेका लगानीकर्ताहरु पछिल्लो समय जिल्लामा स्वस्फूर्त जुर्मुराएको पर्यटन सम्बन्धी बिभिन्न गतिबिधिबाट उत्साहित बनेको होमस्टे (घरवास) महासंघका महासचिव कृष्ण चौधरी बताउँछन् ।

गाभरलाई होमस्टे मार्फत चिनाएका उनी भन्छन–‘कोरोनाले सबैथोक गुमाएका व्यवसायीको अनुहारमा चमक देखिन थालेको छ । तर आर्थिक समस्याले निम्त्याएको चोट फेरी उस्तै छ ।’ पर्यटकिय गतिबिधि बढेपनि पछिल्लो समय देशमा उत्पन्न आर्थिक संकटले पर्यटनक्षेत्रलाई पनि प्रभावित बनाएको चौधरीको भनाई छ ।

चौधरीका अनुसार बाँकेमा पछिल्लो एक दशकयता बिभिन्न ठाउँमा साठ्ठी वटा सामुदायिक होमस्टे सन्चालनमा छन् । जिल्लाको गाभरमा मात्र करिब चालिस होमस्टे छन् भने राप्तीसोनारीको नयाँगाउँ,कोहलपुरको खडकबारमा होमस्टे सन्चालनमा छन् ।

होमस्टे सन्चालन पछि बिदेशिने परिवारले स्वदेशमै इल मगर्न पाइरहेको र गाउँमा आर्थिक गतिबिधि बढेको खड्गकबार नमुना होमस्टेका अध्यक्ष लालबहादुर राना बताउँछन् । उनी भन्छन–‘स्थानीय साधनस्रोतकै प्रयोग गरेर घरबाटै आम्दानी हुने भएपछि धेरै युवाहरु बिदेशिनबाट रोकिएका छन् ।’ रानाका अनुसार,बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकिय गतिबिधि बढेका कारण होमस्टेमा आउने सेवाग्राही थपिदै गएका छन् ।

गाउँमा होमस्टेको संख्या थपिदै जाँदा जिल्ला सदरमुकाम नेपालगञ्ज र कोहलपुरमा तारे होटलको संख्या एक दर्जन पुगेको छ । सोल्टी र सेन्ट्रल प्लाजा जस्ता पाँच तारे होटल सहित सिद्धार्थ भ्यू,सिटी प्यालेस, स्नेह,कलपत्रु, गोल्डेन ब्लिज जस्ता सुविधा सम्पन्न होटलहरु क्यासिनो सहित सन्चालनमा छन् ।

‘यि होटलहरुमा करोडौको लगानी छ । लगानी गरिसकेपछि अनेकौ आरोहअवरोह झेल्दै आए पनि कोभिड समाप्त भएयता अकुपेन्सी ठिकै छ ।’ हाेटल ब्यवसायी भन्छन–‘पर्यटकको फ्लो बढाउनका लागि हामीले अझ गतिबिधि गर्नुपर्छ ।’

क्यासिनो र होटलले संयौलाई रोजगारी दिइरहेका कारण पर्यटन व्यवसायलाई जोगाउन आवश्यक रहेको उनीहरु बताउँछन् । ब्यवसायी भन्छन् ,–‘अहिले जुन खाले आर्थिक समस्या छ,त्यसको समाधान पनि चाँडै होस् अन्यथा बाँकेमा पर्यटन व्यवसाय ठिकै हुन्छ ।’

शहरमा खुलेका तारे होटल र गाउँमा खुलेका होमस्टेका लागि आन्तरिक एवं बाह्य पर्यटक ल्याउने गरी पर्यटन सम्बन्धि गतिबिधिलाई बढावा दिइरहेको छ ।

भारतीय सिमानासँग जोडिएको र पश्चिम नेपालको प्रमुख केन्द्र बनेको बाँकेमा रहेका विभिन्न पर्यटकीय गन्तव्यले नेपाली र भारतीय पर्यटकलाई आकर्षित गरिरहेका छन् । पर्यटन व्यवसायीका अनुसार पाटेबाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीय गन्तव्यका रूपमा रहेको शक्तिपीठ माता बागेश्वरीको मन्दिर, भुवर भवानी देवीको मन्दिर, नरैनापुरको शिव मन्दिर यहाँका मुख्य गन्तव्य हुन् ।

बाँके बर्दियालगायत कर्णालीमा रहेका विभिन्न पर्यटकीय गन्तव्यहरूको अझै राम्ररी प्रचारप्रसार हुन नसकेको जनाउँदै भारतमा मात्रै राम्ररी प्रचार गर्न सकिए जिल्लाको समृद्धि र विकासमा पर्यटन व्यवसाय मुख्य आधार बन्ने आशा गरिएको नेपालगन्ज उद्योग वाणिज्ज संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् । नेपालगञ्ज विमानस्थलको स्तरोन्नति गरेर नेपालगञ्ज–लखनउ, नेपालगञ्ज–दिल्ली हवाई उडान गर्न सके झन् यो क्षेत्रले पर्यटनको विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको ओलीको भनाई छ ।

“नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने हो भने बर्दिया राष्ट्रि«य निकुञ्ज, शुक्लाफाँटा, खप्तड, रारा र से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज तथा यस क्षेत्रका अन्य पर्यटकीयस्थलका लागि बाँके पर्यटनद्वार बन्छ,” उनले भने । पछिल्लो समयमा स्वदेशी र भारतीय पर्यटकको आगमन बाँकेमा वृद्धि हुँदै जाँदा यहाँका होटल, होमस्टे र व्यापारिक मलहरू फेरि भरिभराउ हुन थालेका छन् ।

प्रकाशित मितिः     ६ पुष २०८२, आईतवार ०७:१७  |