नयाँ बनेकाे ‘टर्मिन भवन’हस्तान्तरणमा किन भयाे ढिलाई ?


 

नेपालगन्ज । नेपालगन्जकाे राँझा विमानस्थलकाे नवनिर्मित ‘टर्मिनल भवन’ हस्तान्तरणमा ढिलाई भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरुले गत कार्तिक २१ गते अनुगमन गरि केही दिनमै हस्तान्तरण हुने बताएको दुई महिना बित्दा पनि त्यस सम्बन्धि काम अघि बढ्न सकेकाे छैन ।

विमानस्थलकाे टर्मिनल भवनकाे अनुगमन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनाकै प्रबन्धक रहेका नलविक्रम थापा समेत सहितका कर्मचारीलाई भक्तपुरमा  हेलिप्याड निर्माणका क्रममा भएको अनियमिततालाई लिएर अख्तियारले अभियोगपत्र दायर गरेको छ । याे प्रकरणले नेपालगन्ज विमानस्थलकाे टर्मिनल भवन हस्तान्तरणकाे काम असर पारेकाे छ । याेसंगै देशमा बन्दै गएको चुनावी माहाेल, बिद्युुत जडान सम्बन्धि कामले पनि नयाँ टर्मिनल भवन हस्तान्तरणमा ढिलाइ भएको हाे ।

शर्मा एण्ड कम्पनीले तोकिएको समयअघि निर्माण सकेकाे उक्त भवन भने अनुसार भएको भए यतिबेलासम्म हस्तान्तरण भइसक्नुपर्ने थियाे । तर त्यसाे हुन सकेकाे छैन । सईटबाट निर्माण कम्पनीले एकाध बाहेकमा श्रमिक र कर्मचारी अन्तै लगिसकेकाे छ ।

आन्तरिक उडानमा काठमाडौँपछिको ठूलो विमानस्थल  नेपालगञ्ज विमानस्थालबाट भारतको प्रमुख सहर दिल्ली, लखनउ उडान गर्ने उद्देश्य राखिएको छ ।

टर्मिनल भवनका लागि कुल लागत रु दुई अर्ब ९८ करोड रहेको छ ।  शर्मा एण्ड कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक रमेश शर्माले करिब दुई महिनाअघि विमानस्थलको टर्मिनल भवनको निर्माण सकिएको उल्लेख गर्दै अन्तरराष्ट्रिय उडानसमेत गर्न मिल्नेगरी काम भएको बताउनुभयो । नेपालमा निर्माण व्यवसायीले समयमा काम गर्न सक्दैनन् भन्ने भाष्य बनेको छ, त्यसलाई चिर्न सकिएको उनको भनाइ छ ।

अत्याधुनिक प्रविधि र सुविधा समेटिएको भवनले ‘पिकआवर’मा प्रतिघण्टा एक हजार ६०० यात्रुलाई सेवा दिन सक्ने बताइएको छ । विसं २०७९ पुसदेखि काम सुरु गरेको निर्माण कम्पनीले तीन वर्ष अर्थात् आगामी पुसमा सक्नेगरी तीव्रता दिएको थियो । टर्मिनल भवन सेमी बेसमेन्टसहित तीन तलाको छ । जसको बेसमेन्ट कमर्सियल प्रयोजनका लागि निर्माण गरिएको छ ।

पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफल ओगटेको टर्मिनल भवनभित्र यात्रु चेकजाँच काउन्टर १४, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र (चिल्ड्रेन प्लेइङ एरिया) एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन् ।

नयाँ टर्मिनल भवनभित्र बगैँचाका साथै पाँचदेखि १४ मिटर फराकिलो बाटो निर्माण गरिएको छ । टर्मिनल भवनको पेरिफेरिमा ढल निकास तथा बढी भएको पानी निकासका लागि उचित नालाको व्यवस्थापनसमेत गरिएको छ ।

प्रकाशित मितिः     २२ पुष २०८२, मंगलवार १३:४०  |