पुस्तक नछापेरै खण्डहर बनेकाे सरकारी छापाखाना


 

नेपालगन्ज । बाँकेकाे  खजुरामा स्थापना गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखाना तीन दशकदेखि अलपत्र परेको छ।

साबिक मध्य र सुदूरपश्चिमका जिल्लाका लागि पाठ्यपुस्तक छाप्ने उद्देश्यले सरकारले २०६२ सालमा उक्त छापाखाना स्थापना गरेको थियो। भएको छापाखाना सञ्चालन गर्न नसक्दा जनक शिक्षाले पाँच नम्बर, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा समयमै पाठ्यपुस्तक पु-याउन सकेको छैन।

करिब चार बिघा क्षेत्रफलमा फैलिएको जनक शिक्षाको जग्गामा सरकारले तत्कालीन समयमा एक करोड रुपैयाँको लागतमा छापाखाना भवन निर्माण गरेको थियो। त्यसपछि दुई करोड रुपैयाँको लागतमा थप दुईवटा भवन निर्माण गरियो। छापाखाना र गोदामका लागि निर्माण गरिएका ती भवन अहिले प्रयोगविहीन छन्। छापाखाना भवनभित्र करिब ७० लाख रुपैयाँ लागतमा खरिद गरिएको ‘टु–कलर’ मेसिन पनि प्रयोगविहीन अवस्थामा छ।

जनक शिक्षाले केन्द्रीय स्तरमा समयमै छाप्न ढिलाइ गर्र्नु, समयमै ढुवानी नहुनुलगायत समस्याका कारण हरेक वर्ष शैक्षिक सत्रमा विकट जिल्लामा पुस्तक अभाव हुने गर्छ। सरकारले नेपालगन्जको छापाखाना सञ्चालनमा ल्याउन सकेमा विकट जिल्लामा समयमै पाठ्यपुस्तक पुग्ने शिक्षा क्षेत्रका सरोकारवालाको विश्वास छ।

मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा राज्यको करोडौं लगानीमा स्थापना गरिएको छापाखाना सञ्चालनमा ल्याउनुको विकल्प नभएको उनीहरूको भनाइ छ।

प्रकाशित मितिः     २५ पुष २०८२, शुक्रबार १६:१८  |