महिला उद्यमीहरूको उत्पादन प्रवर्द्धन गर्न प्रदेशस्तरिय प्रदर्शनी हुँदै


नेपालगन्ज । महिला उद्यमीहरूको उत्पादन तथा सामाग्रीको बजारीकरण, प्रवर्द्धन र प्रचार–प्रसार गर्ने उद्देश्यसहित १० औँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी–२०८२ आयोजना हुने भएको छ।

महिला उद्यमी संघ नेपाल, बाँकेको आयोजनामा हुन लागेको प्रदर्शनी नेपालगञ्जको बागेश्वरी मन्दिर पार्कमा आयोजना गरिने आयोजकले जनाएको छ। प्रदर्शनी २०८२ माघ १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका २०० जना महिला उद्यमीहरूको सहभागिता रहनेछ। करिब ५० वटा स्टल रहने प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामाग्री, खाद्य सामग्री, ढाका तथा कपडाका वस्तु, सजावट सामग्री, सौन्दर्य सामग्री, जुत्ता–चप्पल, घर–सजावटका सामग्री लगायतका उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्। अहिलेसम्म ५० स्टल बुक भइसकेको महिला उद्यमी संघ बाँकेका अध्यक्ष रेवती सिंहले बताइन् ।

आर्थिक अभावका कारण महिला उद्यमीहरूलाई अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रदर्शनी अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै प्रदर्शनी अवधिभर विज्ञहरूको उपस्थितिमा महिला उद्यमीहरूको क्षमता अभिवृद्धि, व्यवसायिक ज्ञान र उद्यमशीलतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिने प्रदर्शनी संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष आभा गौतमले बताइन् ।

महिला उद्यमीहरूको प्रोत्साहन र सशक्तिकरणका लागि आयोजना गरिएको यस प्रदर्शनीलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला निकाय, उद्यमी तथा सञ्चारकर्मीलाई सहयोग र सहभागिताका लागि आग्रह गरिएको छ।

यो कार्यक्रमले हालसम्म २५ जना नवउद्धमीको विकास गरिसकेको निवर्तमान अध्यक्ष सावित्रा बस्नेतले पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

प्रकाशित मितिः     ७ माघ २०८२, बुधबार १८:०९  |