‘ई-ड्राइभ लुम्बिनी’को सेवा नेपालगञ्जमा शुभारम्भ


नेपालगञ्ज, बाँके —लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा eDrive Nepal ले नेपालगञ्जबाट पनि औपचारिक रूपमा आफ्नो सेवा शुभारम्भ गरेको छ। शनिबार आयोजित उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त बिष्ट ले रिबन काटेर सेवाको उद्घाटन गर्नुभएको हो।

१८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको eDrive सेवा अब बाँके जिल्लाको प्रमुख सहर नेपालगञ्जमा विस्तार गरिएको हो। हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको eDrive ले नेपालगञ्जमा प्रारम्भिक चरणमा १५ वटा ईभी (विद्युतीय) ट्याक्सी मार्फत सेवा सुरु गरेको जनाएको छ।

सेवा शुभारम्भ कार्यक्रममा बोल्दै eDrive Lumbini का निर्देशक विजय भण्डारी (बासु) ले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै eDrive Lumbini का अध्यक्ष राजकुमार गुप्ता ले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ १८ महिना अघि रुपन्देहीबाट eDrive सेवा सुरु गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो।

हाल eDrive Lumbini करिब ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा रहेको छ।

प्रकाशित मितिः     २४ माघ २०८२, शनिबार १४:५३  |