
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा राप्ती नदी किनारमा सुनको अन्वेषण गरिंदै गरेको विषयमा विवाद उत्पन्न भएको छ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ मा पर्ने राप्ती नदी किनारमा प्लान्ट नै राखेर सुन भए नभएको अन्वेषण भइरहेको भए पनि आफूहरूलाई कुनै जानकारी नभएको उक्त वडाका वडाध्यक्ष लवराज खरेल बताउँछन् ।
उक्त विषयमा स्थानीय तहमा कुनै पनि जानकारी नभएकोले आवश्यक कागजपत्रसहित स्थानीय तहलाई जानकारी दिएपछि मात्रै उत्खनन गर्न पाइने भन्दै उनले काम रोक्न लगाइएको बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पनि उक्त स्थानमा विदेशीहरू आएर सुन उत्खनन गरिरहेको भन्ने सुनेपछि प्रहरीमार्फत बुझ्न लगाएको र त्यसक्रममा त्यहाँ खटिएका व्यक्तिहरूले खानी तथा भूगर्भविभागको पत्र देखाएको बताए।

यद्यपि उक्त पत्रको आधिकारिकता र विदेशी नागरिक उत्खननमा संलग्न हुन पाउने नपाउने भन्ने विषयमा विभागसँग जानकारी मागिएको तामाङको भनाइ छ। उक्त विषयमा विभागबाट जानकारी आउन बाँकी रहेको उनले बताए। राप्ती र कर्णाली नदीको पाँच स्थानमा भइरहेको छ सुनको अन्वेषण खानी तथा भूगर्भ विभागका अनुसार हाल राप्ती नदी र कर्णाली नदीको पाँच स्थानमा सुन भए नभएको अन्वेषण भइरहेको छ।
विभागको जिआइएस पोर्टलमा उल्लेख भएअनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकामा पर्ने राप्ती नदीमा ग्रेस नात माइनिङ कम्पनीले अन्वेषणको अनुमति लिएको छ। २०८२ साल पुस २९ गते अनुमतिपत्र पाएको उक्त कम्पनीले चार वर्षसम्मका लागि उक्त अनुमति पाएको छ।
यसैगरी, कर्णाली नदीको कैलाली तर्फको किनाराको पाँच स्थानमा सुनको अन्वेषणका लागि तीनवटा कम्पनीले अनुमति लिएका छन् । कैलालीको टीकापुर नगरपालिका क्षेत्रमा पर्ने चार स्थानमध्ये दुई स्थानमा ग्लोहब प्रालिले अनुमति लिएको छ भने एक-एक स्थानमा भोल्टोरो मिनरल प्रालि र रिवायर नेपाल प्रालिले अन्वेषण अनुमतिपत्र पाएका छन्। ग्लोहब र रिवायरले २०८१ देखि २०८५ सम्मको अनुमति पाएका छन् भने भोल्टोरोले २०८२ पुसदेखि २०८६ सम्मको अनुमति पाएको छ।

