
स्टोरले सेवा पुनः प्रारम्भ गर्नुअघि भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले भने, ‘भदौ २४ गतेको घटनामा महाराजगञ्जको भाटभटेनी पूर्णरुपमा क्षति भयो । त्यो क्षतिलाई हामीले फेरि पहिलेको भन्दा राम्रो अवस्थामा लैजान सकिन्छ भनेर घटनाको केही दिनपछि छलफल गर्यौं । आम उपभोक्तालाई सेवा दिने उद्देश्यले आजदेखि स्टोर सञ्चालनमा आएको छ ।’
यसअघि माघ २७ गतेदेखि कोटेश्वरको स्टोर पुनः सञ्चालनमा आइसकेको छ । गत वर्ष चैत १५ गते आयोजित राजावादी आन्दोलनताका पनि कोटेश्वरको भाटभटेनीमा लुटपाट र तोडफोड भएको थियो । त्यसको केही दिनमै पुनःनिर्माण गरी सञ्चालनमा ल्याइयो ।
गत भदौको जेनजी विध्वंशमा काठमाडौंसहित देशभरका २८ भाटभटेनी स्टोरमध्ये २१ वटामा क्षति पुगेको थियो । त्यसमा पनि एक दर्जन स्टोर पूर्णरुपमा खरानी बनाइयो ।

विध्वंशकारीद्वारा गरिएको आगजनी, तोडफोड र लुटपाटबाट भाटभटेनीमा १५ अर्ब हाराहारीको क्षति पुगेको बुझिएको छ । बालुवाटारको केन्द्रीय गोदाम सञ्चालनमा आइसकेको छ भने नक्सालको पहिलो स्टोरको पुरै भवन जगैदेखि नयाँ बनाइँदै छ

